१ जनवरी, सिड्नी । अष्ट्रेलियामा हालै मृत्यु भएका विद्यार्थीहरु सुजन शर्मा र सुजन अधिकारीको शव नेपाल पठाउने अन्तिम तयारी भइरहेको एनआरएन अष्ट्रेलियाले जनाएको छ ।
एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले मृतकका आफन्तलाई भेटेर शव छिट्टै नेपाल पठाउने जानकारी समेत दिइसकेका छन् ।
क्रिसमसको बिदाका बेला सिड्नीका दुई बेग्लाबेग्लै नदीमा पौडी खेल्नेक्रममा अधिकारी र शर्माको ज्यान गएको थियो । गत डिसेम्बर २५ तारिखमा वाटामाला बिचमा पौडी खेल्नेक्रममा सुजन अधिकारीको र २६ तारिखमा कंगारु भ्यालीमा सुजन शर्माको निधन भएको थियो ।
शर्माको शव बुधबार र अधिकारीको शव बिहीबार नेपाल पठाइने एनआरएन अध्यक्ष सिग्देलले अनलाइनखबरलाई जानकारी दिए ।
सिड्नीका नेपाली समुदाय शव नेपाल पठाउने अभियानमा जुटिरहेका छन् । शव पठाउने प्रक्रियाका लागि आवश्यक पर्ने रकमका लागि आर्थिक संकलनसमेत भइरहेको छ ।
चितवन समाज अष्ट्रेलियाले अधिकारी र शर्माका लागि पाँच-पाँच सय अष्ट्रेलियन डलर उपलब्ध गराएको जनाएको छ ।
शव नेपाल पठाउन साढे १७ हजार अष्ट्रेलियन डलर खर्च हुने अनुमान गरिएको छ ।