३ बैशाख, काठमाडौं । हिमाल आरोहणमा जाने पर्यटकहरु बढेसँगै त्रिभुवन विमानस्थलमा अन्तरिक उडानको चाप बढेको छ । नियमित रुपमा दैनिक ३ सय ५० वटा उडान हुने गरेकोमा अहिले यो बढेर दैनिक ४ सय ५० पुगेको छ ।
हिमाल आरोहणमा जाने पर्यटकहरु ह्वात्तै बढेकाले त्यसतर्फ उडान बढाउनु परेको हो । यसबाट तराई क्षेत्रका उडान प्रभावित बनेका छन् । वीरगञ्ज, भैरहवा र सिमराजस्ता तराई क्षेत्रका उडानहरु लगातार बिलम्ब भइरहेका छन् ।
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले विमानस्थलको क्षमताभन्दा बढी उडान भइरहेको बताए । उनले भने, ‘हिमालतर्फको उडान अत्याधिक बढेर गएको छ । अब के कसरी म्यानेज गर्ने भनेर एक अध्ययन समिति बनाउने तयारी गर्दैछौं ।’
सबैभन्दा बढी उडान लुक्लामा
विमानस्थलको व्यवस्थापनले विदेशी पर्यटकलाई महत्व दिँदै तराईभन्दा हिमालका उडानलाई प्राथमिकतामा राखेका छन् । बिमानस्थलमा उडानको चाप २० दिनअघिको तुलनामा झण्डै १ सयले बढेको छ । तर, पनि माग धानेको छैन ।
अहिले सबैभन्दा बढी लुक्लाका लागि विमानले उडान भर्ने गरेको ठाकुर बताउँछन् ।
गत वर्षको तुलनामा यसपाली सगरमाथा आरोहण गर्ने आरोहीको संख्या हृवात्तै बढेको छ । सगरमाथा चढ्न जाने आरोही लुक्ला विमानस्थल भएर नै जाने गरेका छन् । जसका कारण लुक्लातर्फको उडान पनि अत्यधिक बढेको हो ।
पर्यटन विभागका अनुसार यो वर्ष ३४ टिमका ३ सय २८ जनाले सगरमाथा आरोहणको अनुमति पाएका छन् । अन्य हिमाल आरोहण गर्ने पर्यटकको संख्या पनि बढेको छ । यो वर्ष हिमाल चढ्नका लागि अहिलेसम्म ६७ वटा टोलीले अनुमति लिइसकेका छन्, जसमा ५ सय ९६ जना आरोही रहेका छन् ।
पर्यटन बिभागका प्रवक्ता दुर्गादत्त ढकालले हिमाल आरोहण गर्ने मात्रै नभएर समग्र पर्यटकको संख्या पनि बढेको बताए । हिमालको दृश्यावलोकन गर्न चाहने पर्यटक पनि अत्यधिक छन् ।
राति उडान भर्ने तयारी
हिमालतर्फको उडान बढेपछि तराई क्षेत्रका उडान २ देखि ३ घन्टासम्म डिले हुने गरेका छन् ।
त्रिभुवन बिमानस्थलले उडान प्रभावित भएका विराटनगर, सिमरा, भैरहवा जस्ता क्षेत्रका लागि रातिमा उडान भर्ने बताएको छ ।
सबै उडान रातमा सम्भव नभएपनि दिउँसोका आधाजसो उडान रातमा सार्ने विमानस्थलको तयारी छ । ठाकुर भन्छन्, ‘हामीले उडान प्रभावित गरिदिएजस्तो भएको छ तर, त्यो सत्य होइन । हामीले क्षमताभन्दा बढी उडान गराइरहेका छौ ।’
प्रतिक्रिया 4