२१ बैशाख, हेटौंडा । स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ ।
मंगलबार नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी चुनावी तालमेल भएको आधिकारीक घोषणा गरेको छ । दुवै पार्टीले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा चुनावी तालमेल गरेका हुन् ।
हेटौंडा उपमहानगरमा कांग्रेसले मेयर र माओवादीले उपमेयर लिने सहमति भएको छ । सहमति अनुसार माओवादी केन्द्रकी मेयर उम्मेदवार कुमारी मोक्तानले उम्मेदवारी फिर्ता लिएको जिल्ला संयोजक प्रेमबहादुर पुलामीले बताए । कांग्रेसबाट उपमेयरका उम्मेदवार लक्ष्मी श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् ।
हेटौंडामा अब मेयरमा कांग्रेसका उम्मेदवार आनन्दराम पराजुली र माओवादी केन्द्रका उपमेयरका उम्मेदवार बलराम मैदानमा छन् ।
यस्तै थाहामा माओवादीले मेयर र कांग्रेसले उपमेयर लिएको छ । यो सहमति अनुसार कांग्रेसकी मेयर उम्मेदवार पवित्रा महतले उम्मेदवारी फिर्ता लिएकी छिन् । थाहाबाटै माओवादी केन्द्रकी उपमेयरकी उम्मेदवार शकुन्तला गोपालीले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् ।
थाहा नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा लवशेर विष्ट र कांग्रेसबाट उपमेयरमा खड्ग गोपाली चुनावी मैदानमा छन् ।
यस्तै भीमफेदी गाउँपालिकाको प्रमुख माओवादी र उपप्रमुख कांग्रेसले लिने सहमति भएको छ । सहमति अनुसार काँग्रेसकी गाउँपालिका प्रमुखकी उम्मेदवार शान्त विकले उम्मेदवारी फिर्ता लिएकी छिन् भने माओवादी केन्द्रबाट उपप्रमुखकी उम्मेदवार अप्सरा लोप्चनले पनि उम्मेदवारी फिर्ता लिएकी छन् ।
भीमफेदीको प्रमुखमा माओवादी केन्द्रका रञ्जित राना र उपप्रमुखमा कांग्रेसका मोमलाल दोङ चुनावी मैदानमा छन् ।
मनहरीमा कांग्रेस र माओवादी केन्द्रबीच अन्तिम समयमा आएर तालमेलको रणनीति पुरा भएन । तर, आन्तरिक तालमेल भने भइसकेको बुझिएको छ ।
नेपाली काँग्रेसका सभापति तथा गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले परिणाममुखी नतिजाका लागि चुनावी तालमेल गरिएको बताए ।
पत्रकार सम्मेलनमा उनले कांग्रेस र माओवादी केन्द्रबीचको तालमेललाई प्राकृतिक गठबन्धनको संज्ञा दिए । ‘दुवै पार्टीबीच लामो समयदेखि सहयकार्य र यात्रा भइरहेको छ । स्थानीय निकायको निर्वाचन र यसक्षेत्रको समृद्धिका लागि दुवै पार्टी एक भएर अगाडि बढ्ने योजना अनुसार एकता भएको हो,’ उनले भने ।