
१० जेठ, सिन्धुपाल्चोक । उनी भर्खर २३ वर्षकी भइन्, विकट गुम्बा गाउँको पाङगार्पुमा जन्मिएकी र त्यसमा पनि तामाङ समुदायमा जन्मिएकी चेलीे ।
स्थानीय तहको निर्वाचनले कलिलै उमेरमा बोझिलो जिम्मेवारी पाएकी किशोरी हुन् उनी । साविकको गुम्बा गाउँ विकास समितिकी सिर्जना तामाङ । सोमबार उनले जुगल गाउँपालिकाको उपप्रमुखको पदभार ग्रहण गरिन् ।
गलामा खादा र मालाको बोझ जस्तै सिर्जनाको काँधमा अब ठूलो जिम्मेवारी थपिएको छ । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट जुगल गाउँपालिकामा उपप्रमुखको उम्मेदवारी दिएकी उनी आमा उमेरका ‘पाका’ हरुलाई हराउँदै निर्वाचित भएकी छन् ।
२३ वर्षकै उमेरमा स्थानीय तहको उपप्रमुखको जिम्मेवारी पाउने उनी सम्भवतः मुलुककै कान्छी जनप्रतिनिधि हुन् ।
गुम्बाबाट एसएलसी उत्तीर्ण गर्ने पहिलो किशोरी
साविकको जलवीरेदेखि माथिका गाविस सिन्धुपाल्चोकको दुर्गम भेग नै हो । जलवीरेमाथिका पाँच गाविसमा अहिले पनि एसएलसी उत्तीर्ण गर्नेको संख्या औंलामा गन्न सकिने अवस्थामा छ । त्यसमा पनि छोरीचेलीहरुको संख्या असाध्यै न्यून छ ।
तर, यो उमेरसम्म आइपुग्दा सिर्जनाले चुनौतीसँगै अवसर समेत राम्रो पाइन् । विकट गुम्बा गाउँबाट एसएलसी उत्तीर्ण गर्ने उनी पहिलो चेली हुन् ।
छोरीलाई पढाउन हुँदैन भन्ने मानसिकता बोकेको समाज । विकट र दुर्गम गाउँमा जन्मिएका धेरै छोरीहरुलाई स्कूल जाने कुरा अझै पनि सपना बराबर छ । त्यसमाथि पनि गुम्बा जस्तो विकट र चेतनाका हिसाबले पिछडिएको गाउँमा जन्मिएर उच्च शिक्षासम्मको अध्ययन गर्नु एउटी चेलीका लागि चानचुने कुरा थिएन ।
सिर्जनाको घरको आर्थिक अवस्था यस्तो रुग्ण थियो, वर्षभरि खान पुग्दैनथ्यो । आम्दानीको कुनै स्रोत थिएन । तर, पढ्ने रहरलाई आर्थिक अभाव र समाजको डरले छेकेन ।
परिवारसँग पढाउने सामथ्र्य नभएपछि उनी आफैंले खर्च जुटाएर पढिन् । गुम्बास्थित सेतीदेवी प्राथमिक विद्यालयबाट कखरा सिक्न सुरु गरेकी उनले पाङताङको कालीदेवी माविबाट एसएलसी पास गरिन् ।
०६८ मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी उनलाई गाविसले सम्मान समेत गरेको थियो । ‘गुम्बाबाट एसएलसी पास गर्ने पहिलो छोरी हुँ, मलाई गाविसले सम्मान गरेपछि छोरीलाई पनि पढाउनुपर्छ भन्ने भावना समाजमा बढ्न थाल्यो’, उनी भन्छिन् ।
पढ्ने रहरले नै सिर्जनालाई गुम्बाबाट सदरमुकाम चौतारासम्म ल्याइपुर्यायो । गाउँमै बसेकी भए उनको जीवन साँघुरो भूगोलमा खुम्चिनेथ्यो सायद । तर, उच्च शिक्षाको हुटहुटीले चौतारामा आएपछि त्यहाँको सरसंगतबाट उनले समाज र राजनीति बुझ्न थालिन् ।
गाविस सचिवको सहयोगले उच्च शिक्षा
हरेक व्यक्तिको सफलताको पछाडि कसै न कसैको भरथेग र साथ हुन्छ । सिर्जनालाई पनि एसएलसीपछि उच्च शिक्षा र राजनीति बुझ्ने अवसर तत्कालीन गुम्बा गाविसका सचिव धु्रव थापाले दिलाए ।
सचिव थापाले त्यतिबेला उनलाई दिएको पाँच हजार सहयोग उनले भुलेकी छैनन् । त्यो पाँच हजार ऋण लिएर क्याम्पसमा भर्ना भएकी उनले खाली समयमा स्कूलमा पढाउन समेत थालिन् । चौताराको गोल्डेन फ्युचर बोर्डिङ स्कूलमा मासिक २५ सय तलबमा पढाउने काम पाइन् ।
त्यसपछि सिर्जनाले खोजे जस्तै ‘स्पेस’ मिल्यो । सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चमा कम्प्युटर अपरेटर हुँदै सहजकर्ताको जागिर पाइन् । चौताराले उनलाई घुलमिल हुन सिकायो, मान्छे चिनायो र राजनीतिक चासो पनि जगाइदियोे ।
राजनीतिप्रति चासो बढ्दै गएपछि नेकपा एमालेको भ्रातृ संगठन युवा संघको जिल्ला समिति सदस्यमा चुनिएकी थिइन् । ‘बाह्र वर्षकै उमेरमा अखिलमा संगठित भएकी थिएँ, पछि युवा संघको जिल्ला कमिटीमा रहेँ’, उनी भन्छिन्, ‘समाजमा केही गरौं भन्ने भावना थियो, राजनीतिलाई माध्यम बनाएँ ।’
एनजीओको सहजकर्तादेखि उपप्रमुखसम्म
डेढ वर्षअघिदेखि सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको सहजकर्ता बनेर हगाममा काम गरिरहेकी सिर्जनाले निर्वाचनको मिति घोषणा भएदेखि नै गाउँपालिका उपप्रमुखमा दाबी गर्दै आइन् ।
पार्टी स्थानीय कमिटीले उनीसहित ३ जनाको नाम सिफारिस गरेर प्रदेशमा पठायो । अन्तिममा उनकै नाममा टिकट आयो । टिकट पाएपछि उनी एनजीओको सहजकर्ताबाट राजीनामा दिएर लागिन् जुगलको एउटा कठिन यात्रामा ।
फेरि पनि आर्थिक अभावकै पिरलो
पार्टीले उनलाई उपप्रमुखको टिकट त दिए पनि चुनावमा होमिनका लागि उनीसँग पैसा थिएन । ‘हाम्रो परिवारमा पैसा थिएन । पैसा नहुने मान्छे चुनावमा लड्न सक्दैन भनेर परिवारबाट दबाब पनि आयो, तर मैले हार मानिनँ’, उनले भनिन् ।
आर्थिक अभावकै बीच उम्मेदवारको टिकट लिइन् र विजयी पनि भइन् । सँगैका साथीसँगीहरुले विदेशमा पैसा कमाइरहँदा आफूले आफ्नै गाउँमा जनताको माया र विश्वास कमाएको उनी सुनाउँछिन् ।
बालविवाह र बहुविवाहमा कमी ल्याउने पहिलो प्राथमिकता
एउटा विकट गाउँपालिकाको उपप्रमुख भएपछि उनले पाँच वर्षसम्मका लागि परिवर्तनका धेरै योजना बनाएकी छन् ।
उमेरले कान्छी भए पनि उनीसँग जुगलको विकास र समृद्धिका लागि सुन्दर सपना छ । एउटी महिला, त्यसमाथि पनि ऊर्जाशील उमेर । जुगलको विकाससँगै यस भेगको परिवर्तनको उच्च आकांक्षा उनले सजाएकी छन् ।
यस भेगमा महिलाहरुलाई दोस्रो दर्जाको नागरिकका रुपमा हेरिन्छ । बहुविवाहका कारण महिलाहरु दुःख पाइरहेका छन् । जारी प्रथा कायमै छ । बालविवाहको अवस्था पनि उस्तै छ ।
शिक्षाको पहुँच नभएपछि महिलाहरु वैदेशिक रोजगारीमा जाने क्रम पनि बढिरहेकै छ । हाँसेको जुगल हिमाल मुनि अरु धेरै सिर्जनाहरु आँसु पिएरै बाँचिरहेका छन् । विकास र चेतनामा पछाडि परेको जुगलको मुहार फेर्ने सपना उनीसँग छ ।
‘विकास र समृद्धि एउटा पाटो हो, मूलतः म यहाँको संस्कार बदल्न लाग्नेछु’, सोमबार पदभार ग्रहणपछि उनले भनिन् । आगामी ५ वर्षभित्र जुगलको चेतनास्तर उठाउने उनको अठोट छ ।
‘यस भेगका जनताको चेतनास्तर उकास्दै बालविवाह र बहुविवाहलाई निर्मूल पार्नेछु, जारी प्रथाको अन्त्य गर्नेछु’, उनी भन्छिन्, ‘संस्कार परिर्वतन नगरी महिलाको उत्थान हुँदैन र उनीहरुले न्याय पनि पाउने छैनन् ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4