२७ जेठ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने विषयलाई लिएर सत्तासीन दलहरुभित्र भाँडभैलो मच्चिएको छ । यस्तै अवस्था प्रधानमन्त्री निर्वाचनमा उनलाई मत दिएका अन्य दलमा पनि छ ।
सबै दलमा मन्त्री हुने आकांक्षी बढी भएपछि विवाद टुंगो लाग्न नसक्दा प्रधानमन्त्री देउवाले सुरुमा ८ सदस्यीय मन्त्रिमण्डल मात्र बनाएका छन् ।
स्रोतका अनुसार, देउवाले दोस्रो चरणको चुनावअघि केही मन्त्री थप्ने सोच बनाएका छन् । तर, सरकारमा क–कसलाई थप्ने भन्नेबारे सत्तासीन दलभित्रै भाँडभैलो उत्पन्न भएको आजको नागरिक दैनिकले लेखेको छ ।
कांग्रेसमा रामचन्द्र पौडेल पक्षले ५ मन्त्री मागेको छ । चारभन्दा कम मन्त्रालय पाए नाम नै सिफारिस नगर्ने अडान पौडेल पक्षको छ ।
देउवाले सुरुमै पौडेलसँग सल्लाह नगरी उनी पक्षका महेश आचार्यलाई सरकारमा ल्याउने तयारी गरेका थिए । तर, पौडेलले मानेनन् । स्रोतका अनुसार, पौडेल पक्षले सुरुमै एक उपप्रधानमन्त्रीसहित चार मन्त्रालय दाबी गरेको थियो । तर, अब उपप्रधानमन्त्री पाउन नसक्ने भएपछि ५ मन्त्रालय मागेको छ । आफ्नो भागमा पर्ने मन्त्रालय प्रभावशाली हुनुपर्ने माग पनि पौडेल पक्षको छ ।
कांग्रेसबाट दुई दर्जनभन्दा बढी नेता मन्त्रीका आकांक्षी छन् ।
प्रतिक्रिया 4