
७ अगस्ट, मलेसिया । विदेशमा अवैधानिक भएर काम गरिरहेका कामदारलाई सदैव पक्राउकै सन्त्रास हुन्छ । मलेसियाको एउटा सेक्युरिटी कम्पनीमा काम गरिरहेका विष्णु गिरीलाई पनि यस्तै सन्त्रास थियो ।
नभन्दै एक दिन उनी काम गर्ने कम्पनीमा प्रहरीले छापा मार्यो । तर, भाग्यबस उनी उम्किन सफल भए । त्यस लगत्तै उनी नेपाल फर्किएका छन् ।
कसरी उम्किए गिरी ?
त्यो रात उनलाई एक्कासी पेट दुख्न थाल्यो । दुखाई बढ्दै गएपछि साथीभाइले कम्पनी मालिकलाई फोन गरे । मालिक हतार-हतार कार लिएर आइपुगे । अस्पताल पुर्याए । उपचार गराएर राती नै होस्टेलमा फर्काएर ल्याए ।
र्फकेर आउँदा होस्टेलको अवस्था भिन्नै थियो । प्रहरीले होस्टेललाई घेरेका थिए । मालिकले कार होस्टेलमा नरोकी केही पर रोके । हेर्दाहेर्दै उनीसँगैका साथीहरुलाई प्रहरीले भ्यानमा हाल्यो । उनी छाँगाबाट खसे जस्तै भए ।
नेपालबाट कतार हुँदै मलेसियासम्मको यात्रा
गाउँमा छँदा विष्णुको घर व्यवहार राम्रै चलिरहेको थियो । उनी कार्पेन्टरको काम गर्थे । त्यसबाट मासिक १२/१५ हजार रुपैयाँ सजिलै कमाउँथे । विहान-बेलुकाको समयमा हलो बनाएर बेच्नेसमेत काम गर्थे । यसरी काम गर्दा खुसि नै थिए ।
तर, उनको परिवारले यसमा चित्त बुझाएनन् । परिवारको दबावपछि उनी विदेश जान तयार भए । सन् २०१२ मा उनी कतारमा पुगे ।
कतार जानको लागि उनले म्यानपावरलाई ७० हजार रुपैयाँ बुझाएका थिए । केही पैसा आफै जम्मा गरेका थिए भने केही पैसा उनलाई आप\mनी दिदीले दिएकी थिइन् । कतारमा राम्रो पनि भयो । दुई वर्षमा ७/८ लाख रुपैयाँ कमाएर नेपाल पठाए । त्यो पैसाले थोरै भएपनि जग्गाजमिन जोडे ।
कतारबाट घर नर्फकदै उनले काठमाडौंमै पासपोर्ट म्यानपावरलाई बुझाए । जुन म्यानपावरबाट उनी कतार पुगेका थिए । कतारमा फेरि कार्पेन्टरमा जाने उनको इच्छा थियो । तर, म्यानपावरले उनलाई कतारमा सोही भिषामा पठाउन सकेन । उनले पासपोर्ट दुई महिना पछाडि फिर्ता लिए र अर्काे म्यानपावरलाई बुझाए ।
म्यानपावरले उनलाई मलेसिया पठाउन तयार भयो । सुरुमा उनले म्यानपावरमा ४० हजार बुझाए । मेडिकल भनेर फेरि २५ हजार बुझाए । त्यसपछि एक लाख पनि बुझाए । त्यही बेलामा नेपालमा भुकम्प गयो । म्यानपावरले ‘तिम्रो भिसा आइसक्यो, अब तुरुन्तै जानुपर्ने भयो’ भनेर फेरि २५ हजार टिकटको लागि भनेर माग्यो । काठमाडौं आउँदाजाँदा र होटलमा बस्दाको बाहेक उनले म्यानपावरलाई मात्र नगद एक लाख ९० हजार रुपैयाँ वुझाए ।
२० महिनापछि मलेसियामा अवैध
विष्णुले मलेसियाको एक सेक्युरिटी कम्पनीमा काम थाले । काम पहिले भनेकै जस्तो भए पनि दाम त्यस्तो भएन । उनलाई दैनिक १२ घण्टा र महिनामा २६ दिन मात्रै काम गर्ने भनिएको थियो । तर, मलेसियामा ३० दिन काम गर्न लगाइयो । तलवबाट केही काटिदैन भनिएको भए पनि बत्तिपानी र होस्टलको समेत पैसा काट्दा उनले १४ सय रिंगेट भन्दा पाउन सकेनन् । उनले बल्लतल्ल मासिक १ हजार रिंगेट बचाउन सफल भए ।
आएको कम्पनीमा जिम्मेवारी पनि थपिदै गयो, तर तलव भने थपिएन । त्यसपछि उनले कम्पनी नै छाडिदिए । मलेसिया आएको २० महिनामै उनी अवैधानिक बन्न पुगे । अन्यत्र काम खोजेर गर्दा अनेक सास्ति भोग्नु पर्यो । जतिबेला पनि डरैडरमा काम गर्नुपर्ने अवस्था आइपर्यो ।
पछिल्लो समयमा उनी एक सेक्युरिटी कम्पनीमा काम गर्दै थिए । त्यही क्रममा प्रहरीले छापा हानेको थियो । उनी पेट दुखेर अस्पताल गएकाले उम्किएका हुन् ।
कम्पनी मालिकले अब अवैधानिक कामदार नराख्ने भनेपछि विष्णुले त्यो ठाउँ तुरुन्तै छाड्नुपर्ने भयो । कोठामा जम्मा गरेका सामानसमेत निकाल्न पाएनन् । हतारमा आत्तिएर लगाउने कपडाहरु प्लाष्टिकमा पोका पारेर उनी साथीहरुलाई फोन घुमाउन थाले । सबैले नेपाली दुतावास जान सबैले सुझाव दिए । सबैको सहयोगले करीव १५ दिनको प्रयासमा उनी नेपाल र्फकन सफल भए ।
आँखै अगाडि आफ्ना साथीहरुलाई प्रहरीले समातेको देखेका विष्णु आफूलाई भगवानले बचाएको ठान्छन् । गिरीले भने, ‘कोही पनि अवैधानिक नहुनुस, प्रहरीको छापा मैले आफ्नै आँखाले देखेको छु ।’
प्रतिक्रिया 4