+
+

फेस्टिभ फेसनमा, बोल्ड एन्ड ब्युटिफुल

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १२ गते ९:४५


‘राम्रो लाउने’ चाड, अर्थात् दशैं । दशैंले फेसन बजारलाई चलायमान बनाउँछ । जसै दशैं लाग्छ, नयाँ लुगाफाटो जोहो गर्नेले बजार भरिभराउ हुन्छ । दशैंमा एकसरो नयाँ लुगा लगाउनैपर्ने मान्यताजस्तै छ ।

यही मान्यता, रहर, बाध्यता र ‘ट्रेन्ड’का कारण बजार उत्कर्षमा पुग्छ, यसबेला । दशैं ‘फेसनेबल’ पर्व पनि त हो । यतिबेला थरिथरिका फेसन गरिन्छ । कोही लेहेंगामा सजिन्छन्, कोही साडीमा चिरिच्याँट्ट पर्छन् । कसैलाई सेरवानीमा ठाँटिन मन लाग्छ, कसैलाई दौरा सुरुवालमा ढल्किन जाँगर चल्छ ।

साडी भर्सेस कुर्ता सुरुवाल

दशैं-तिहारमा कस्तो पहिरन लगाउने ? यसका लागि मस्तिष्कको खास कसरत गरिरहनु पर्दैन । किनभने, चाडपर्वमा ‘र्फमल वेयर’ नै बढी रुचाइन्छ । कोट, पाइन्ट, सेरवानी, साडी आदि ।

पछिल्लो समयचाहिँ दौरा सुरुवालमा चिरिच्याँट्ट सजिने ट्रेन्ड चलेको छ । पुरुषहरु बेला मौकामा यस्तै पहिरनमा ठाँटिन रुचाउँछन् । औपचारिक पहिरनमा दौरा-सुरुवाल गज्जब विकल्प हो । महिलाका लागि भने साडी निर्विकल्प रोजाइ हो । साडीमा गर-गहना पनि खुल्छ । साडीसँग स्यान्डल, ह्यान्ड ब्यागदेखि नेल पोलिससम्मको कलर कम्बिनेसन मिलाउने गरिन्छ ।

साडीका पनि अनेक डिजाइन छन् । लगाउने शैलीमा पनि विविधता पस्किन सकिन्छ । साडीसँग हल्का गहनाको कम्बिनेसन राम्रो देखिन्छ । र्फमल वेयरमा साडी सर्वाधिक रुचाइने पहिरन हो । यो परम्परागत पहिरनलाई फेबि्रक र डिजाइनअनुसार नयाँपन दिन सकिन्छ । साडी यस्तो पहिरन हो, जो हरेक महिलाको शरीरमा सुहाउँछ ।

युवतीहरुको रोजाइमा पर्छ, कुर्ता सुरुवाल । त्यसो त, यो सदाबहार पहिरन हो । न यसलाई मौसमले असर गर्छ, न त अवसरले नै । जस्तोसुकै बेला पनि कुर्ता सुरुवाल सही हुन्छ । चाहे जाडोमा होस् वा गर्मीमा । चाहे कार्यालयमा होस् वा भोज भतेरमा । दशैं-तिहारजस्तो पर्वमा त कुर्ता सुरुवाल पहिलो रोजाइमा पर्छ । यसमा पनि अनेकौं भेराइटी छन् ।

त्यसो त, दशैंमा महिलाहरु घरधन्दाको काममा पनि व्यस्त हुनुपर्ने हुन्छ । कामकाजका बेला भने साडी सजिलो पहिरन होइन । यस्तो बेला कुर्ता सुरुवाल नै सही हुन्छ ।

टिनएजर्सलाई लेहेंगा

युवती र वयस्कको लागि साडी सुहाउँछ । उमेर, उचाइ, वर्ण र बान्कीअनुसार साडीको डिजाइन मिलाउन सकिन्छ ।

युवतीका लागि कुर्ता-सुरुवाल उपयुक्त हुन्छ । टिनएजर्स वा त्यसभन्दा कम उमेरका लागि लेहेंगाको विकल्प छैन । टिनएजर्सका लागि लेहेंगा सही छनोट हो । उनीहरुको छरितो ज्यानमा लेहेंगा फिट देखिन्छ ।

के भन्छन् डिजाइनरहरु ?

चाडवाडमा परम्परागत पहिरन नै लगाउने हो तर थोरै मोडर्नाइज गरेर । चाहे साडीको कुरा गरौं वा दौरा सुरुवालको, थोरै मोडनाईज्ड हुनैपर्छ । नभए, त्यो फिका देखिन्छ । यसरी परम्परागत पहिरनलाई मोडर्नाइज्ड गर्नमा युवतीहरु अगाडि छन् । फेसन डिजाइनर तेन्जिङ छेतेन भुटियाको बुझाइ यस्तै छ ।

भन्छन्, ‘परम्परागत पहिरनलाई नयाँ ढाँचामा प्रयोग गर्न उनीहरु माहिर हुन्छन् । त्यसैले गेटअपमा केही न केही नयाँपन देखिन्छ ।’

लेहेंगा, कुर्ता सुरुवाल र साडी जे भए पनि परम्परागत शैली अन्धाधुन्द अनुसरण गर्ने जमाना छैन । त्यसलाई कसरी नयाँपन दिने ? अहिलेको पुस्तालाई थाहा छ । त्यसैले उनीहरु परम्परागत पहिरनलाई पनि नयाँ ढाँचामा ढाल्न माहिर छन् ।

लेहेंगा र कुर्ता सुरुवाल अहिले परिमार्जित स्वरुपमा आएका छन् । विगतजस्तो हेभी वा इम्ब्राइडी गरिएको लेहेंगा, कुर्तालाई हल्का पि्रन्टेट र सिल्क डिजाइनले विस्थापित गरेका छन् । डिजाइनर विश्व गौतम यसै भन्छन्, ‘हेभी वा भद्दाखाले डिजाइन खासै चलेको छैन ।’

पुरुषमा अहिले चलेको ट्रेन्ड हो, चाडवाडका बेला दौरा सुरुवालमा ठाँटिने । यस्ता तन्नेरी बग्रेल्ती भेटिन्छन् । उनीहरु थोरै मोडर्नाइज्ड गरेको फिटिङ्स दौरा सुरुवाल रुचाउने डिजाइनर समा बानु बताउँछिन् । र्फमल वेयरमा कोट र जिन्स कम्बिनेसन पनि निकै चल्तीमा छ ।

डिजाइनर राजेश धाख्वाको बुझाइमा अहिले मौलिक पहिरन लगाउने ट्रेन्डको पुनरावृत्ति भएको छ । दौरा सुरुवाल, साडी, लेहेंगा रुचाउन थालिएको छ । धाख्वा भन्छन्, ‘टीका थाप्दा होस् वा देउसी खेल्दा, मौलिक पहिरन नै सुहाउँदो देखिन्छ ।’

दशैं तिहारमा फुल लेन्थ अनारकली, टु पिस लेहेंगा, सेरवानी कुर्ताजस्ता परम्परागत पहिरनमा ट्रेन्डी लुक्स पस्किन सकिने डिजाइनर परी श्रेष्ठ बताउँछिन् । लेहेंगामा क्रप टप्स र किमोनो स्लिभको कम्बिनेसन पनि निकै खुल्छ । यस्तै, सेरवानी कुर्ती र सरारा पाइन्ट पनि र्फमल वेयरकै रुपमा प्रयोग गर्न सकिने डिजाइनर श्रेष्ठको भनाइ छ । यो सिजनमा अनारकलीलाई लङ आउटरसँग लगाउँदा राम्रो देखिन्छ ।

केही टिप्स

– सिम्पल र सोबर लुकका लागि लाइट सेडको पारदर्शी साडी लगाउन सकिन्छ । यसका साथै फुल स्लिभ ब्लाउज एकदमै खुल्छ ।

– यदि घरमा कुनै पार्टी एवं गेट टुगेदर छ भने मोर्डन लुक्सका लागि लाइट कफी सेडको साडी पनि लगाउन सकिन्छ ।

– रातो रंग सदाबहार नै हो । दशैंमा पनि यो रंगको साडी लगाउने सोच छ भने सिफनको साडी र त्यससँग फुल स्लिभ रेड कलर ब्लाउज लगाउन सकिन्छ । यसमा एकदमै आकर्षक देखिन्छ ।

– बोर्डर भएको प्लेन साडी पनि अहिले फेसनमा छ । यस्तो साडीमा डिफरेन्ट लुक्स दिनका लागि ब्लाउजलाई अलि नयाँ डिजाइनमा तयार गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?