+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मैले चिनेका दाजु प्रकाश दाहाल

 मनहरि तिमिल्सिना मनहरि तिमिल्सिना
२०७४ मंसिर ४ गते १०:०७

‘गुड मर्निङ दाजु’ कात्तिक ३० गते बिहान प्रकाश दाजुसँग गरेको अन्तिम सम्वाद यही थियो । त्यसपछि भैरहवा, स्याङ्जा, बाग्लुङ र कुस्मा पुगेर भरतपुरमा बास बस्यौं । त्योबेला दाजु लाजिम्पाट नै हुनुहुन्थ्यो । मंसीर १ गते दिउँसो चितवनबाट सिधैं पेरिसडाँडा पुगियो । ठूलो पार्टी प्रवेश कार्यक्रम थियो, सकेर लाजिम्पाट फर्किंदा अबेर भइसकेको थियो । त्यो साँझ पनि दाजुसँग भेट भएन । भोलिपल्ट बिहानै हामी चन्द्रगढीका लागि उड्यौं ।

‘अध्यक्ष मर्निङवाक निस्कन लाग्नुभयो, तपाई नि जानु है सँगै’ झापामा रहेका बेला जोखबहादुर महरा सरले भन्नुभयो । मैले रुघा लागेकाले आज नजाउँ होला भनेँ । महरा दाजु तल झर्नुभयो । ५ मिनेटमै माथि आएर भन्नुभयो, ‘छिटो रेडी हुने है मनहरिजी, हामी इमर्जेन्सी काठमाडौं जानुपर्ने भयो ।’

मैले किन कसो सोध्नतिर लागिनँ, सिधै अध्यक्ष बसेको फ्ल्याटतिर लागें । जहाँ एकखालको गहिरो सन्नाटा छाइसकेको थियो । मल्ल सरले भन्नुभयो, ‘प्रकाश सर हर्टएट्याक भएर नर्भिकको आइसियुमा हुनुहुन्छ रे ।’ म छाँगाबाट खसेजस्तो भएँ । प्रत्यार लागेन ।

फेरि महरा दाजुलाई गएर सोधेँ, उही उत्तर दोहोरियो । ६.१५ सम्म दाजुको अवसान भएको निष्कर्षमा पुगिसकेका थियौं ।

अध्यक्ष प्रचण्ड बिहानै हेलिकोप्टरबाट काठमाडौं आउनुभयो । टिकटको झमेलाले हामी पेरिसडाँडा आउँदा दिउँसो २ बजिसकेको थियो । सरासर पेरिसडाँडा गयौं, भावविहृवल दृश्य थियो । घटना हाम्रा लागि अकल्पनीय थियो । ५ बजेसम्म आइपुग्दा भरोसाका केन्द्र, लाखौं युवाहरुको ढुकढुकी भनेका प्रकाश दाजु पशुपतिको चितामा उड्दै हुनुहुन्थ्यो । फुङ्ङ उडेको खरानीतिर हेरेर हामी लाजिम्पाट फर्कियौं ।

डेढ वर्षको सहकार्यमा बुवाप्रति यति धेरै समर्पित छोरो मैले अरु देखिनँ । दाजु हमेशा बुवाको सफलताकै चिन्ता गर्नुहुन्थ्यो

लाजिम्पाट प्रवेश

म लाजिम्पाट आउनुपूर्व प्रकाश दाजुसँग एकपटक मात्रै भेट भएको थियो । म पोखरामै बसेर पार्टी र मिडियामा काम गर्थें । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने निश्चित भएपछि प्रकाश दाजुको फोन आयो । ‘मनहरि, बुवा प्रधानमन्त्री बन्दै हुनुहुन्छ, तपाई आउनुहुन्छ सचिवालयमा काम गर्न ?’ दाजुको प्रस्ताव मेरा लागि आकस्मिक र चूनौतिपूर्ण पनि थियो । एकछिन पछि मैले भनें, ‘हुन्छ म आउँछु ।’ ‘आजै हिँड्नु’ दाजुले भन्नुभयो । मैले भनें, ‘आज त भ्याउँदिनँ, भोलि हिँड्छु ।’

भोलिपल्ट लाजिम्पाट आउँदा मेरो नाम सचिवालयमा चढिसकेको रहेछ ।

प्रकाश दाजुबारे बजारमा अनेक हल्ला थिए । अनेकौं टिप्पणी र अभियोगका चाङ थिए । डेढ वर्षको सङ्गतमा ती अभियोगहरु मिथ्या सावित भए ।

‘म प्रधानमन्त्रीको प्रेस संयोजक भएर काम गर्थे, त्यसको सम्पूर्ण व्यवस्थापकीय प्रवन्ध र निर्देशन प्रकाश दाजुको थियो । मिडियामा आउने साना-ठूला समाचारमा दाजुका आँखा परिहाल्थे । दाजु भन्नुहुन्थ्यो, ‘आज अनलाइनमा यस्तो समाचार आएछ नि, पढ्नुभो ?’

मैले भन्थें, ‘अहँ, छैन ।’ दाजु थप्नुहुन्थ्यो, ‘प्रेस संयोजक भएपछि त अपडेट हुनु नि, साँचो कुरा मिडियासम्म लानू ।’ मैले सहमतिमा टाउको हल्लाउथें ।

‘धुर्मुस-सुन्तलीले राम्रो काम गरेका छन्, म बोलाएर बुवासँग भेटाउँछु, तपाई पनि मिडियालाई खबर गर्नु है’, अनि मैले त्यसै गथेर्ं । कुन कुरा ठीक र कुन कुरा बेठीक ? उहाँमा निकै राम्रो हेक्का थियो ।

दाजुको अध्यक्ष प्रचण्डलाई सफल प्रधानमन्त्री बनाउने दृढ संकल्प थियो । प्रधानमन्त्री हुँदा वा नहुँदा अध्यक्षको भेटघाट र कार्यक्रमको तालिका दाजु नै अन्तिम गर्नुहुन्थ्यो । सबैसँग राम्रोसँग डिल गर्न सक्ने, समयको माग बुझ्न सक्ने, युवाहरुको मनोभावना बुझ्न सक्ने गुण थियो उहाँमा । बालुवाटारको १० महिना अवधिमा उहाँको व्यवस्थापनले अध्यक्षलाई सफल राजनेता बनाएको थियो ।

एक दिन ज्ञापनपत्र लिएर मोहन वैद्य बालुवाटार आउनुभयो । प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै वैद्यले भन्नुभयो, ‘प्रचण्ड कमरेड, तपाई आगोको भुङ्ग्रोमा हुनुहुन्छ, कसरी निस्कनु हुन्छ खै ?’ भेटघाट सकिएपछि दाजुले मलाई आएर भन्नुभयो, ‘यो हाम्रा लागि ठूलै चूनौति हो, यसपालि सफल हुन सकिएन भने हामी सबै डुबिन्छ, के-के चाहिन्छ भन्नुस् । तर, जमेर लाग्नुपर्छ है ।’

खुकुरीको धारमा प्रधानमन्त्री हुनुभएका अध्यक्ष असफल हुनुहोला कि भन्ने दाजुमा गहिरो चिन्ता थियो । दाजु सधैं भन्नुहुन्थ्यो, ‘बुवा असफल भए देश नै असफल हुन सक्छ, यहाँ बसिञ्जेल तपाई पनि आफ्नो व्यक्तिगत जीवन नहेर्नुस् ।’

डेढ वर्षको सहकार्यमा बुवाप्रति यति धेरै समर्पित छोरो मैले अरु देखिनँ । दाजु हमेशा बुवाको सफलताकै चिन्ता गर्नुहुन्थ्यो । अध्यक्षको औषधि आफैं बोकेर हिँड्नुहुन्थ्यो । भेटघाटमा कहिलेकाँही अबेर हुन्थ्यो । दाजु भन्नुहुन्थ्यो, ‘एकछिन तपाईहरु रोकिनुस् त, बुवाले खाना खानुभएको छैन । अलिकति बुझ्नु न तपाईहरु पनि ।’

दाजुका कुरा कतिलाई खस्रा पनि लाग्थे होला । तर, व्यस्त दैनिकी देखेर दाजुलाई अध्यक्षप्रति असीम माया जाग्थ्यो । दाजु भन्नुहुन्थ्यो, ‘नेताहरुले पनि अलिकति त बुझ्नु नि । बुढा मेसिन त हैनन् होला । पानी खानेसम्म समय पाउन्नन् बुढाले ।’

यसले दर्साउँथ्यो, ‘अध्यक्षको व्यक्तिगत जीवन, स्वास्थ्य र राजनीतिक सफलताका लागि प्रकाश दाजु सबैभन्दा बढ्दा चिन्तित हुनुहुन्थ्यो ।

दाजुको अङ्ग्रेजी र हिन्दी भाषामा राम्रै दख्खल थियो । कुटनीतिक भेटघाट र कुराकानीमा उहाँले सहज डिल गर्नुहुन्थ्यो । कुनै पनि कुरा गर्नुअघि दाजु सोध्नुहुन्थ्यो, ‘यसले बुवालाई अप्ठ्यारो त पर्दैन नि ?’

उहाँको प्राथमिकतामा पार्टी र देश नै थियो । कतिपय नेताहरु भेटघाटका लागि आउनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘आज कुलेखानी जानुछ, तपाईको कामभन्दा देशको काम ठूलो हो । तपाईको काम पछि गर्दा नि बिग्रन्नँ ।’

प्रचण्डको प्रधानमन्त्री कालमा जे-जति राजनीतिक, आर्थिक, कूटनीतिक प्रगतिहरु भए, विदेशमा रहेका युवाहरुका पक्षमा जे-जति काम गरिए, ती सबै प्रकाश दाजुको व्यवस्थापकीय कौशलका परिणाम थिए ।

‘हृयाप्पी बर्थडे मनहरि’ दाजुले भन्नुभो ।

आँखा मिच्दै एकाबिहानै म बाहिर निस्कँदै थिएँ । मैले भनें, ‘कसरी थाहा पाउनुभो ?’ ‘फेसबुक हेरेको नि’ दाजुको जवाफ आयो । म जन्मदिनको खासै मतलव गर्दिनथें । तर, बिहान ६ बजे नै दाजुले केक ल्याएर राख्नुभएको रहेछ । ‘तिमी पो मतलव गर्दैनौ, हामीलाई त भाइको माया हुन्छ नि’ यति भनेपछि दाजुले केक काट्न थाल्नुभयो । अनि, जीवनमै पहिलोचोटि जन्मदिन मनाइयो ।

मंसिर ४ गते भरतपुरमा भेटिने हाम्रो आशा अब कहिल्यै पूरा हुने छैन । अब यी सबै परिघटना र योगदान स्मृतिमा गएका छन्

साथीका लागि मरिहत्ते

प्रकाश दाजुको साथीका लागि ज्यान दिने स्वाभाव थियो । युवाहरुमा दाजुप्रति निकै ठूलो आशा र भरोसा थियो । कसैले कुनै काम लगाए उहाँ भन्नुहुन्थ्यो, ‘राम्रो काम रहेछ भने म जसरी पनि गर्छु ।’ हामी जिल्ला दौडाहामा हुन्थ्यौं, दाजुसँग सेल्फी खिच्नेहरुको भीड लाग्थ्यो । दाजु भन्नुहुन्थ्यो, ‘ल मनहरि उहाँको फोटो लिइदिनु त ।’

अध्यक्षको छोरो भएर पनि उहाँको दैनिक जीवन सामान्य थियो । डेढ वर्षको सहकार्यमा उहाँ सधैं ठेलाको खाजा रोज्नुहुन्थ्यो । ‘पानी पुरी खाने कि डल्ले मःम ?’ दाजु भन्नुहुन्थ्यो ।’ हामी दाजुसँगै पछि लागेर जान्थ्यौं र ठेलाको खाजा खान्थ्यौं ।

समूहमा खाने, समूहमै बस्ने, सबैलाई समान देख्ने, साथीभाइसँग एकदमै छिटो घुलमिल हुने उहाँको स्वाभाव थियो ।

‘मान्छेले जीवनमा एकचोटि प्राविधिक गल्ती गर्दैमा सच्चिन पनि नपाउने ?’ दाजु भन्ने गर्नुहुन्थ्यो । उहाँको गल्ती प्राविधिक थियो । तर, विरोधीहरुले त्यसलाई सधैं हतियार बनाइरहे । राजनीतिक पूर्वाग्रहकै कारण सानो गल्तीसामु उहाँका हजारौं सवल गुण ढाक्ने कोशिसहरु भए ।

सानो गल्तीलाई पनि सहजै आत्मसात गर्ने उहाँको स्वभाव थियो । उहाँका पछिल्ला फेसबुक स्टाटस, लेख र अन्तर्वार्ता निकै ओजनदार थिए । त्यसले उहाँको राजनीतिक छवि क्रमशः शिखरतिर लम्किरहेको प्रष्टै देखिन्थ्यो । अत्यन्तै ‘मिडिया फ्रेण्ड्ली’ स्वाभावका कारण लाखौं युवा र सञ्चारकर्मीमा उहाँको जबर्जस्त प्रभाव थियो ।

मंसिर ४ गते भरतपुरमा भेटिने हाम्रो आशा अब कहिल्यै पूरा हुने छैन । अब यी सबै परिघटना र योगदान स्मृतिमा गएका छन् । अध्यक्षले आफ्नो सुपुत्र मात्रै गुमाउनुभएको छैन, सफलता र असफलताका हरेक यात्रामा साथ दिने बलियो सारथी गुमाउनुभएको छ । लाखौं युवा साथीहरुले आफ्नो ढुकढुकी गुमाउनुभएको छ । अनि, हामीले एउटा असल अभिभावक गुमाएका छौं ।

पीडाको यो घडीमा हामी सबैले संकल्प गरौं, ‘प्रकाश दाजुका संकल्पमा हामी प्रतिवद्ध रहनेछौं, उहाँले लिएका जिम्मेवारीलाई आफ्नो कर्म सम्झनेछौं ।’

अन्तिममा भन्छु, ‘दाजु, तपाईको प्रेरणा र सपना जीवित राख्ने संकल्प गरिरहनेछु । हार्दिक श्रद्धासुमन दाजु, अल बिदा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?