Comments Add Comment

गगन थापाको चुनौतीः श्रीमान्, हामीलाई पनि मानहानी मुद्दा लगाइयोस् (भिडियोसहित)


२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसीको पक्षमा प्रदर्शन गर्नेहरुलाई पनि मानहानीको मुद्दा लगाउन चुनौती दिएका छन् ।

डा. केसीलाई पक्राउ गरेको विरोधमा माइतीघर मण्डलामा मंगलबार बिहान भएको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेता थापा, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र पनि सहभागी भएका थिए ।

प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै कांग्रेस नेता थापाले आफूहरुको प्रदर्शन अदालतको सम्मान बढाउन भएको बताए ।

विगतमा राजाविरुद्ध बोलेको अभियोगमा आफूविरुद्ध राजद्रोहको मुद्दा लागेको स्मरण गर्दै उनले भने, ‘मेरो पक्षमा बहस गरिरहनु भएकाले सुवास नेम्वाङले श्रीमान्, एकछिन कुर्नुस्, बाहिर के नारा लागिरहेको छ सुनौं भन्नुभयो । नारा लाग्यो ‘ज्ञाने चोर देश छोड’ । त्यसपछि सुवास नेम्वाङले भन्नुभयो, श्रीमान यदि मेरो पक्षमाथि जे बोल्यो भनेर मानहानी लागेको छ, त्यो राजद्रोह हो भने तल आएका सबै राजद्रोही हुन् । सबैलाई एकैपटक सजायँ दिनुपर्छ ।’

त्यसपछि आफूहरु तारेखमा रिहा भएको स्मरण गर्दै गगनले भने, ‘आज म त्यही दिन सम्झिएर सम्मानित अदालतप्रति इज्जत गर्दै आग्रह गर्न चाहन्छु । श्रीमान्, डा. गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैैलाई त्यो मानहानी लागोस् ।’

उनले डा. केसीको अभिव्यक्ति व्यक्तिसँग सम्वन्धित नभई अदालतप्रति सम्मान रहनुपर्छ भन्ने मूल्यमाथि धावा बोलिएको प्रतिरोध भएको उनले बताए । उनले अघि भने, ‘यो सम्मानित अदालत कुनै कानुनको धारामा होइन, जनताको विश्वासमा अडिएको हुन्छ र जनताको विश्वास गुमाएको दिन लडखराउँछ ।’

उनले डा. केसी पक्राउ परेको घटनाले अदालतको प्रतिष्ठा नबढाएको बरु प्रतिशोध साँधेको जस्तो देखिएको बताए । उनले भने, ‘चिकित्सा शिक्षा र स्वास्थ्यलाई लिएर उहाँ (डा. केसी)ले लामो समयदेखि आन्दोलन गर्दै आउनु भएको छ । त्यसकारण थुप्रै सुधार भएको छ, थुप्रै सुधारहरुको अपेक्षा राख्न सकिन्छ । यसमा जसरी अदालत मुछिएको छ, यसले कतै पनि अदालतको प्रतिष्ठा बढाएको छैन ।’

चिकित्सा शिक्षा क्षेत्रमा आमुल सुधार ल्याउने कामलाई रोक्न खोजिएको आशंका गर्दै थापाले परिस्थिति बिग्रनबाट रोक्न प्रधानमन्त्रीले अग्रसरता लिनुपर्नेमा जोड दिए । ‘म अपेक्षा गर्छु, परिस्थितिले अझै उहाँ (शेरबहादुर देउवा) नै प्रधानमन्त्री नै हुनुहुन्छ, यो क्षेत्रमा आमुल सुधारमा अहिले रोकावट आउनेजस्ता कामहरु भएको छ, उहाँ कुलपति हुनुहुन्छ, यसलाई अझै बिगार्ने प्रयास भइरहेको भन्ने मलाई लागेको छ, यसलाई उहाँले रोक्नुपर्छ ।’

यो पनि पढ्नुहोस्

गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन, पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीसमेत सडकमा

‘माफियातन्त्र सल्बलायो, नैतिकता हरायो’ (फोटो फिचर)

डा. गोविन्द केसीलाई अदालत उपस्थित गराइयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment