१४ माघ, पोखरा । धरान फुटबल क्लब त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आइतबार भएको खेलमा आर्मीका जर्ज प्रिन्स कार्कीले हानेको पेनाल्टी क्रस बारमा लागेर फर्किएपछि धरान दोस्रोपटक आहा ! राराको सेमिफाइनलमा प्रवेश गरेको हो ।
धरानका क्याप्टेन विष्णु सुनार, निशान लिम्बु, बुद्धिमान राई, रोमन लिम्बु र सुरज विकले गोल गरे । आर्मीका नवयुग श्रेष्ठ, दीपक गुरुङ, दीप लामा र विवेक बस्नेतले गोल गरे ।
निर्धारित ९० मिनेट र थपिएको २० मिनेटमा दुवैतर्फबाट १/१ गोल भएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । खेलमा आर्मीले १८ औं मिनेटमा भरत खवासको गोलमा अग्रता लियो । एरिक विष्टको कर्नर किकमा विकास तामाङले डि-बक्स एरियामा मिलाइदिएको पासमा भरतले गोल गरे ।
धरानले ६३ औं मिनेटमा मात्र खेल बराबरीमा ल्याउन सक्यो । निशान लिम्बुले पेनाल्टी एरियामा हुलमुलमा भेटेको बललाई सेकेण्ड बार च्याप्दै जाली चुमाए ।
गोल खानुअघि सम्हालिएर खेलेको धरान एक गोलले पछि परेपछि भने आक्रामक रुपमा प्रस्तुत भयो । तर बराबरी पछि भने रक्षात्मक बन्न बाध्य भयो ।
खेलमा आर्मीले आधा दर्जन बढी गोल गर्ने अवसर गुमायो । १९ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले पेनाल्टी एरियामा पाएको हेडर बल क्रसबार भन्दा थोरैमात्र माथिबाट बाहिरियो ।
२८ औं मिनेटमा कार्कीले नै प्रहार गरेको अर्को बल फर्स्ट बार नजिकैबाट बाहिरियो । ७७ औं मिनेटमा एरिक विष्टको प्रहार विपक्षी गोलकिपर विवश चौधरीले विफल पारे । विष्टको कडा प्रहार रोक्न खोज्दा फुत्केको वल गोलकिपर चौधरीले पुनः जम्प गरेर मुश्किलले बचाए ।
८२ औं मिनेटमा दीपक गुरुङले प्रहार गरेको बलमा पनि गोलकिपर चौधरी बाधक बने । ८५ औं मिनेटमा नवयुग र भरत खवासले प्रहार गरेको बल विफल भएर फर्किएपछि डि-बक्स एरियामा रहेका दीपक गुरुङले प्रहार गर्दा किपर चौधरीले गोल हुनबाट जोगाए । ८८ औं मिनेटमा नवयुग श्रेष्ठले हेडर गोल गरेपनि रेफ्री सुदीश पाण्डेले अफसाइड रहेको भन्दै मान्यता दिएनन् ।
थपिएको अतिरिक्त २० मिनेटको पहिलो मिनेटमै दीपक गुरुङ गोल गर्न चुके । उनले करीब २५ यार्ड टाढाबाट गरेको कडा प्रहार क्रसबारमा लागेर फर्कियो । अतिरिक्त समयकै १६ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको पासमा दीप लामाले पाएको अवसर फितलो प्रहार गर्दा खेर गयो ।
युवा खेलाडीले भरिएको धरानले पनि केही राम्रा गोल गर्ने अवसर गुमाउँदा निर्धारित समयभित्रै जित निकाल्न सकेन । पहिलो हाफको ईञ्जुरी समयको पहिलो मिनेटमा बुद्धिमान राईको प्रहार विपक्षी गोलकिपर महेश्वर श्रेष्ठले विफल पारे । ४९ औं मिनेटमा निशान लिम्बुको प्रहार क्रस बार माथिबाट बाहिरियो । ६८ औं मिनेटमा बुद्धिमान राईको पासमा सुवोध साहीले फष्र्ट बार च्यापेर गरेको प्रहार पनि गोलकिपर श्रेष्ठले असफल पारे ।
धरानका म्यानेजर अशोक राईले अघिल्लो खेल भन्दा सुधारिएर खेल्दा जित निस्केको प्रतिक्रिया दिए । उनले आइतबारको खेलमा बलियो आर्मीसँग रक्षात्मक खेल्ने रणनीति सफल भएको बताए ।
त्रिभूवन आर्मी क्लबका प्रशिक्षक नविन न्यौपानेले १ गोलको अग्रता लिएपछि खेलाडीले सहजै जितिन्छ भनेर लापरबाही गर्दा हार्नुपरेको प्रतिक्रिया दिए । पहिलो रोजाइको गोलकिपर विकेश कुथु, दिनेश हेमजनलगायतका खेलाडी घाइते भएकाले पनि सोंचेजस्तो प्रदर्शन गर्न नसकेको उनले बताए ।
आइतबारको खेलमा धरानका लागि बराबरी गोल गर्ने निशान लिम्वु म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरियो ।
प्रतियोगिता अन्तर्गत सोमबार सशस्त्र प्रहरी वलको एपीएफ क्लब र थ्रीस्टारबीच प्रतिस्पर्धा हुनेछ ।
तस्विर : युनिश गुरुङ/ अनलाइनखबर