२४ माघ, सिन्धुपाल्चोक । राष्ट्रियसभाको बुधबार सम्पन्न निर्वाचनमा सिन्धुपाल्चोकका सिंहबहादुर विश्वकर्मा विजयी भएका छन् ।
वाम गठबन्धनका उम्मेदवार विक ६ हजार ८ सय ५८ मत ल्याएर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशरण नेपालीले २ हजार ५ सय ३८ मात्रै मत ल्याएका थिए ।
नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीका पूर्वसदस्य र हालको सल्लाहकार समितिका सदस्य विकलाई एमालेले राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनाएको थियो ।
लिसंखुपाखर गाउँपालिका-७ का वासिन्दा विक स्थानीय तह निर्वाचनमा वडा नम्बर ७ बाट वडा सदस्यमा उम्मेदवार भए पनि माओवादी केन्द्रका उम्मेदवारसँग पराजित भएका थिए ।
जिल्ला समन्वय समितिमा लैजाने तयारीका साथ विकलाई वडा सदस्यमा उम्मेदवार बनाएको थियो । वडा सदस्यमा पराजित भए पनि विक अन्तत राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेर नेकपा माओवादी केन्द्रको समेत सहयोगमा निर्वाचित भए ।
बाह्रबिसेस्थित शारदा माविबाट कक्षा १० सम्म अध्ययन गरेका विकले १६ वर्ष हाल बन्द रहेको नेपाल ओरिएण्ट म्याग्नेसाइट लामोसाँघुमा काम गरेका थिए । विभिन्न सामजिक कार्यमा सक्रिय विक स्थानीय शान्ति समिति सिन्धुपाल्चोकको उपाध्यक्ष समेत भएका थिए ।
‘पार्टीमा लामो समय सक्रिय रहेँ, आज पार्टीले यो भूमिका दिएको छ, खुसी छु’ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि विकले भने ‘पार्टीको लागि गरेको योगदान खेर गएन, अब जिम्मेवारी पुरा गर्नेछु ।’