आयकर भनेको आयमा लाग्ने कर हो । आयकरमध्ये प्राकृतिक व्यक्ति तथा एकलौटी र्फमको आयमा लाग्ने करलाई व्यक्तिगत आयकर भनिन्छ । व्यक्तिगत आयकर राजस्व परिचालन गर्न तथा सामाजमा आयको असमान वितरण कम गर्न लागु गरिन्छ । यो कुरा नेपालमा आयकर लगाउने अवधारणा विकास भएदेखि नै स्पष्ट गरिएको थियो ।
उदाहरणका लागि वि. सं. २००८ सालको नेपालको पहिलो बजेटमा अर्थमन्त्रीले “कृषि लगायतको आयमा आयकर लगाउने विचार भैरहेको छ । आगामी दुई तीन वर्ष यसकरवाट राजस्व परिचालन गर्ने भन्दा पनि जनतालाई यस प्रति अभ्यस्त गराउने किसिमले लगाइने छ भने कर विकसित भएपछि यो राजस्वको ठूलो मुहान हुनेछ” भनेर उल्लेख गर्नु भएको थियो ।
यसैगरी वि. सं. २०१६ मा यो कर नेपालमा पहिलोपटक लागु गर्दा “समाजका सक्षमवर्गको आयको केही अंश देशोत्थानमा लगाउने र आयको असमान वितरण कम गर्ने” मूल उद्देश्य राखिएको थियो ।
व्यक्तिगत आयकर अन्तरगत दिइने आधारभूत छुट तथा यस करका प्रगतिशिल दरको कारणले कम आय हुनेको तुलनामा वढी आय हुनेले बढी कर तिर्नुपर्ने हुन्छ जसले गर्दा कर लाग्नु भन्दा अगाडी कम र वढी आय हुनेहरु वीचको आयको भिन्नताभन्दा कर लागेपछिको भिन्नता कम हुन्छ ।
उदाहरणका लागि मानौं-रामको मासिक तलव ८५ हजार रुपैयाँ छ भने उसको वाषिर्क तलव १० लाख २० हजार हुन्छ । यसैगरी यदि श्यामको मासिक तलव ४ लाख २३ हजार भएमा निजको वाषिर्क तलव ५० लाख ७६ हजार हुन्छ । यसको अर्थ, श्यामको वाषिर्क आय रामको भन्दा ४० लाख ४६ हजारले वढी हुन्छ ।
नेपालको वर्तमान व्यक्तिगत आयकर लगाउने व्यवस्था अनुसार रामले आफ्नो आयमा वाषिर्क १ लाख ६० हजार ६५६ कर तिर्नुपर्ने हुन्छ । यसको अर्थ उसको करपछिको आय (डिसपोजेवल इनकम) ८ लाख ५९ हजार ३४४ हुन्छ ।
श्यामले आफ्नो आयमा वाषिर्क १४ लाख ३२ हजार ९५६ कर तिर्नुपर्ने हुन्छ र उसको करपछिको आय (डिसपोजेवल इनकम) ३६ लाख ४३ हजार ४४ रुपैयाँ हुन्छ । करपछिको आयको हिसावले श्यामको वाषिर्क आय रामको भन्दा २७ लाख ८३ हजार ७ सयले वढी छ । जबकि कर नलागेको भए रामको आयभन्दा श्यामको आय ४० लाख ४६ हजारले बढी हुन्थ्यो । यसरी व्यक्तिगत आयकरले समाजमा आयको असमान वितरण कम गर्छ ।
नेपालमा व्यक्तिगत आयकरवाट राजस्वमा पुग्ने योगदानको चर्चा गर्दा आर्थिक वर्ष ०७३/७४ मा रु. ४६ अरव राजस्व संकलन भएको थियो जुन त्यस वर्षको कुल गार्हस्थ उत्पादनको १.८ प्रतिशत र कुल कर राजस्वको ८.७ प्रतिशत थियो ।
व्यक्तिगत आयकरमा आधारभूत छुट
परम्परागत रुपमा व्यक्तिगत आयकरको प्रयोजनका लागि आयलाई विभिन्न स्ल्यावमा विभाजन गरिन्छ र पहिलो स्ल्यावमा कर लगाइँदैन । यसरी कर नलाग्ने आयको पहिलो स्ल्यावलाई आधाभूत छुट भनिन्छ । यस्तो आधारभूत छुट सार्क क्षेत्रमा अफगानिस्तान तथा माल्दिभ्स वाहेक अन्य देशमा तीनदेखि चार लाखको वीचमा छ -भारतमा . ३ लाख ९६ हजार ६६२, पाकिस्तानमा ३ लाख ६८ हजार ८१५, श्रीलंकमा ३ लाख ३० हजार ७०४ भुटानमा ३ लाख १७ हजार २८९ र बंगलादेशमा ३ लाख ७ हजार ४३१) छ । यो रकम अफगानिस्तानमा निकै कम (केवल ८८ हजार) र माल्दिभ्समा निकै वढी (३३ लाख) छ ।
नेपालमा आधारभूत छुट ३ लाख ५० हजार भए पनि १ प्रतिशतको सामाजिक सुरक्षा कर पारिश्रमिक आयको पहिलो स्ल्यावमा लाग्ने र यो कर आयकर नै भएकाले नेपालमा रोजगारी आयमा कुनै किसिमको छुट नभई पूरै आयमा कर लाग्न गएको छ, जुन व्यक्तिगत आयकरको सामान्य सिद्धान्त विपरीत छ ।
प्रगतिशील दर र समदर
कम आयमा कम दरले र बढी आयमा वढी दरले कर लाग्ने करका दरको संरचलनालाई प्रगतिशील दर भनिन्छ । सार्क क्षेत्रमा कर छुट माथिको आयमा माल्दिभ्स वाहेक अन्य मुलुकमा प्रगतिशील दरले कर लगाइएको छ । अफगानिस्तानमा करका ३ दर (२, १० र २० प्रतिशत) र भारतमा पनि ३ दर (५, २० र ३० प्रतिशत) छन् भने भुटानमा ४ दर -१०, १५, २० र २५ प्रतिशत), बंगलादेशमा ५ दर (१०, १५, २०, २५ र ३० प्रतिशत), श्रीलंंकामा ६ दर (४, ८, १२, १६, २० र २४ प्रतिशत) र पाकिस्तानमा ७ दर (७, १०, १५, २०, २५, ३० र ३५ प्रतिशत) छन् ।
नेपलमा यस करका दर १५ र २५ प्रतिशत छन् । तर २५ लाख रुपैयाँ भन्दा बढीको आयमा ४० प्रतिशतको चार्ज लाग्ने भएकाले त्यस्तो आयमा लाग्ने करको दर ३५ प्रतिशत र पारिश्रमिक आयको पहिलो स्ल्यावमा १ प्रतिशतको सामाजिक सुरक्षा कर लाग्दछ । यसर्थ नेपालमा करका चार दर -१, १५, २५ र ३५ प्रतिशत) छन् ।
माल्दिभ्समा भने यस करको १५ प्रतिशतको समदर छ ।
परम्परागत रुपमा व्यक्तिगत आयकर प्रगतिशिल दरले लगाइने भएता पनि हाल समदरको प्रचलन पनि बढ्दो छ । समदरले कर प्रशासन सरल बनाउने र निश्चित आयसम्म कर छुट हुने व्यवस्थाले करलाई प्रगतिशील बनाउने मान्यता छ ।
व्यक्तिगत आयकरमाथि पुनरावलोकनको खाँचो
नेपालको व्यक्तिगत आयकर न त गरिबको दृष्टिकोणले उचित छ, न त धनीको दृष्टिकोणले । न त सामाजिक हिसावले, न आर्थिक हिसावले नै उपयुक्त छ ।
सामाजिक सुरक्षा करले गर्दा नेपालमा ज्यादै न्यून आय हुनेले पनि आयकर तिर्नुपर्छ । यस्तो करले न्यून आय वर्गमा आय असर (इनकम इफेक्ट) सिर्जना गर्छ । यसको अर्थ तिनीहरुले सीमित आयको केही अंश कर स्वरुप तिर्नुपर्ने हुँदा न्यूनतम जीवनयापन गर्न आवश्यक आय आर्जन गर्न थप समय काम गर्नुपर्छ ।
अर्कोतर्फ नेपालको करले धनीको सन्दर्भमा प्रतिस्थापन प्रभाव (सब्सिट्यूसन इफेक्ट) सिर्जना गर्ने स्थिति छ । कारण तिनीहरुको आयको ठूलो अंश कर तिर्नुपर्ने भएमा त्यसले बढी काम गरेर आय आर्जन गर्नुको सट्टा छुट्टी लिने र परिवारसँग बढी समय बिताउने प्रवृत्ति बढाउन सक्छ ।
त्यसैले, व्यक्तिगत आयकरको दरको संरचनामा पुनरावलोकन गर्नु जरुरी छ । करको दर समय सापेक्षित, मुलुक सापेक्षित तथा मुलुकभित्र पनि विभिन्न क्षेत्र वा व्यक्ति सापेक्षित हुन्छ ।
उदाहरणका लागि सन् १९७० को दशकसम्म विश्वमा यो कर अनेक उच्च दरले लगाइएको थियो । जस्तै सन् १९७० मा भारतमा १० देखि ८५ प्रतिशतसम्मका ११ दर थिए । नेपालको अधिकतम दर आव ०३२/३३ मा ६० प्रतिशत थियो । त्यसैगरी अन्य देशहरुमा पनि व्यक्तिगत आयकरका दरको तह उच्च थियो भने सख्या धेरै थियो ।
तर, यस मिसिमको करको दरले संरचनाले करदातालाई कर छल्न अभिप्रेरित गर्ने, कर झञ्झटिलो हुने, र कर परिपालन तथा कर संकलन खर्च बढी भई आयकर प्रशासनिक दृष्टिकोणले असक्षम हुने अनुभवले देखायो । अर्काेतर्फ, बढी दरले काम गर्ने, वचत गर्ने, तथा लगानी गर्ने प्रवृत्तिलाई हतोत्साहित गरेकोले कर प्रणाली आर्थिक दृष्टिकोणले पनि असक्षम भएको अनुभव भयो ।
यसैले सन् १९८० को दशक देखि व्यक्तिगत आयकरका दरको संख्या तथा तहमा कटौति गर्ने प्रचलन शुरु भयो र यस प्रवृत्तिले संयुक्त राज्य अमेरिकाले सन् १९८६ मा करको उच्चतम दर ५० प्रतिशतवाट घटाएर २८ प्रतिशत कायम गरेपछि तीव्रता पायो । त्यस क्रममा विश्वका विभिन्न मुलुकले यस करका दरको संख्या तथा तहमा व्यपाक कटौति गरे । यसवाट दक्षिण एसिया पनि अछुत रहेन । र, सार्क क्षेत्रमा पनि व्यक्तिगत आय करका दरको संख्या तथा तह निकै कम गरियो ।
तर नेपालको व्यक्तिगत आयकरको १५ प्रतिशतको पहिलो सीमान्त दरले गर्दा न्यून आयमा एकैपटक करको बढी भार पर्ने गरेको छ । यसले स-सानो आय हुनेलाई करको दायरामा आउनु भन्दा भूमिगत रहन प्रेरित गरेको छ ।
अर्कोतर्फ आयकरका स्ल्यावको संरचना तथा ४० प्रतिशतको सरचार्जले गर्दा नेपालको आयकरको उच्च सीमान्त दर पनि अन्य सार्क मुलुकहरुको दरको तुलनामा बढी छ । यस किसिमको दरले वढी आय आर्जन गर्न दुरुत्साहित तथा कर छल्न उत्साहित गर्ने स्थिति छ ।
नेपालको व्यक्तिगत आयकरको औषत दर सार्कका अन्य सवै मुलुकको तुलनामा हरेक तहको आयमा निकै उच्च छ । यो आर्थिक विकासको दृष्टिकोणले उचित होइन । करको भारलाई तुलनात्मक रुपमा हेरिनुपर्छ । भूपरिवेष्टित नेपालको तुलनात्मक रुपमा सानो अर्थतन्त्रमा भारत, पाकिस्तान, बंगलादेशमा भन्दा नेपालमा करको भार वढी हुनु आर्थिक विकासको दृष्टिकोणले उचित हुँदैन ।
किनभने, यस्तो स्थितिमा नेपालको आर्थिक विकासका लागि चाहिने वाह्य लगानी भित्रिने होइनकि नेपालको सीमित पुँजी पनि पलायन हुने सम्भावना रहन्छ । यसैले करको दरको संरचनालाई पुनरावलोकन गरेर नेपालमा करको भार खासगरी छिमेकी तथा प्रतिस्पर्धीको तुलनामा बढी नहुने गरेर कायम गरिनुपर्छ । र, यो दर प्रतिस्पर्धी हुनु पर्छ ।
करको भारलाई मुलुकभित्र पनि सापेक्षित रुपमा हेरिनु पर्छ । यो सवै व्यक्ति, समुदाय तथा क्षेत्रको लागि समान हुनु पर्छ । न्यून तलव भएको कुचिकारले हरेक रुपैयाँमा आयकर तिर्नुपर्ने तर कालोधन्दा, भ्रष्टाचार तथा यस्तै अनेक किसिमले करोडौंको आय आर्जन गर्नेहरु सदा करको दायरा बाहिर रहने स्थिति हुनु न्यायसंगत हुँदैन । करको दृष्टिमा हरेक श्रोतको आय समान हुनु पर्छ र कानून अनुसार लाग्ने कर दायित्व सवैले वहन गर्नै पर्छ ।
नेपालमा व्यक्तिगत आयकरको भार अन्य सार्क मुलुकको व्यक्तिगत आयकरको भारभन्दा बढी नहुने किसिमले कायम गरिनुपर्दछ र करलाई सबै क्षेत्रमा समान किसिमले प्रभावकारी रुपमा लागु गरी राजस्व परिचालन बढाउने नीति अपनाइनुपर्छ ।
नेपालमा व्यक्तिगत आयकर सार्क मलुककै उच्च
व्यक्तिगत आयकरको वास्तविक भार कति छ भन्ने कुरा यस करका सीमान्त दरले मात्र नभै करको ब्राकेट कति र कसरी कायम गरिएका छन र करको प्रयोगनको लागि व्यक्तिगत तथा व्यापारिक खर्च कटाउन पाउने के कस्तो व्यवस्था छ भन्ने कुरामा पनि निर्भर रहन्छ ।
तर यहाँ अन्य प्रावधानको विचार नगरेर व्यक्तिगत आयकरको आधारभूत छुट तथा करका ब्राकेट तथा दरको आधारमा करको औषत दरको गणना गरिएको छ । यस आधारमा सार्क क्षेत्रमा नेपालको व्यक्तिगत आयकरको औषत दर सबैभन्दा उच्च रहेको तथ्य निम्न तालिकाबाट स्पष्ट हुन्छः
देश | वार्षिक आयमा लाग्ने व्यक्तिगत आयकरको औषत दर (प्रतिशत) | ||||
रु.९०,५०० | रु. १,०२०,००० | रु.५,०७६,००० | रु. १०,१५२,००० | रु २०,३२६,००० | |
नेपाल | १.०० | १५.७५ | २८.२३ | ३१.६२ | ३३.३१ |
पाकिस्तान | ०.०० | ८.१३ | २०.४१ | २७.३२ | ३१.४६ |
भारत | ०.०० | ६.३४ | २४.१५ | २७.०७ | २८.५४ |
वंगलादेश | ०.०० | ८.०४ | २२.६२ | २६.३१ | २८.१५ |
भुटान | ०.०० | ११.०२ | २१.६४ | २४.२४ | २्४ं.१७ |
श्रीलंका | ०.०० | ४.१९ | १८.२७ | २१.१४ | २२.५७ |
अफगानिस्तान | ०.०० | ७.९८ | १६.०९ | १८.०४ | १९.०३ |
माल्दिभ्स | ०.०० | ५.२५ | १०.१३ | १२.५६ | १२.५६ |
औषत | १.०० | ८.३४ | २०.१९ | २३.५४ | २४.९७ |
न्यून, मध्यम तथा उच्च तहको आय हुने सबैले अन्य सार्क मुलुकको तुलनामा नेपालमा वढी कर तिर्नुपर्छ । न्यून आय हुनेले अन्य सार्क मुलुकमा कर तिर्नु पर्दैन भने नेपालमा न्यून आय भएका कर्मचारीले पनि हरेक रुपैयाँमा कर तिर्नु पर्छ ।
उदाहरणका लागि, नगरपालिकामा आंशिक-समय काम गर्ने कुचिकारको मासिक तलव ७,५०० भएमा उसले मासिक ७५ रुपैयाँ कर तिर्नुपर्छ । सार्कका अन्य ७ देशमा भने यति आम्दानी हुनेले एक रुपैयाँ पनि कर तिर्नुपर्दैन ।
यसैगरी मासिक तलव ८५ हजार हुने कर्मचारीले माल्दिभ्समा कर तिर्नु पर्दैन भने नेपालमा सबैभन्दा बढी मासिक १३ हजार ३८८ कर तिर्नु पर्छ । मासिक तलव ४ लाख २३ हजार हुने डाक्टरले माल्दिभ्समा सबैभन्दा कम २२ हजार २०८ मासिक कर तिर्नुपर्छ भने नेपालमा सबैभन्दा वढी मासिक १ लाख १९ हजार ४१३ कर तिर्नु पर्छ ।
त्यसैगरी मासिक तलव ८ लाख ४६ हजार भएको वाणिज्य बैंकको कार्यकारी प्रमुखले नेपालमा मासिक २ लाख ६७ हजार ५०५ कर तिर्नुपर्छ भने माल्दिभ्समा ८५ हजार ७०० र भारतमा २ लाख २९ हजार ०१२ रुपैयाँ कर तिर्नुपर्छ ।
देश
|
मासिक कर दायित्व (रुपैयाँ) | वार्षिक कर दायित्व | |||
नगरपालिकाको कुचिकार (मासिक तलव रु.७,५००) | सरकारी कर्मचारी (मासिक तलव रु. ८५,०००) | अस्पतालको डाक्टर (मासिक तलव रु.४२३,०००) | वैंकको कार्यकारी प्रमुख (मासिक तलव रु. ८४६,०००) | एकलौटी फर्म (वाषिर्क खूद आय रु २०,३२६,०००) | |
नेपाल | ७५ | १३,३८८ | ११९,४१३ | २६७,५०५ | ६,७७०,५९१ |
पाकिस्तान | ० | ६,९११ | ८६,३३४ | २३१,१२७ | ६,३३३,५८२ |
भारत | ० | ५,३८९ | १०२,१५५ | २२९,०१२ | ५,८०१,०४० |
वंगदलादेश | ० | ६,८३४ | ९५,६८३ | २२२,५८२ | ५,७२१,७६९ |
भुटान | ० | ९,३६७ | ९१,५३७ | २०५,०७० | ५,००४,२६१ |
श्रीलंका | ० | ३,५६२ | ७७,२८२ | १७८,८४४ | ४,५८७,५७८ |
अफगानिस्तान | ० | ६,७८३ | ६८,०६१ | १५२,६१८ | ३,८६६,००५ |
माल्दिभ्स | ० | ० | २२,२०८ | ८५,७०० | २,५५२,९४६ |
औषत | ७५ | ६,५२९ | ८२,८३४ | १९६,५५८ | ५,०७९,७२१ |
यसैगरी एकलौटी र्फमले पनि सार्कका अरु सवै देशमा भन्दा नेपालमा धेरै कर तिर्नुपर्छ । उदाहरणका लागि यदि एकलौटी र्फमको वाषिर्क खुद आय २ करोड ३ लाख २६ हजार भएमा नेपालमा ६७ लाख ७० हजार ५९१ रुपैयाँ कर तिर्नुपर्छ भने भारतमा ५८ लाख १ हजार ४० रुपैयाँ कर तिर्नुपर्छ ।