२२ चैत, सुर्खेत । यही चैत २७ देखि रानीवासमा सुरु हुने १० औं राष्ट्रपति रनिङ्ग शिल्डका लागि अझै रकम अभाव भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
समितिले बिहीबार पत्रकार सम्मेलन गरी रकम अभाव रहेको जानकारी दिएको हो ।
समितिका कोषाध्यक्ष वीरबहादुर रावतले प्रतियोगिता सम्पन्न गर्न १ लाख अपुग भएको जानकारी दिए । ‘सुर्खेतका ९ वटै स्थानीय तहसंग पैसा मागियो’, कोषाध्यक्ष रावतले भने, ‘सवैसँग माग्दा पनि १ लाख पुगेन । आयोजक जनता माध्यामिक विद्यालय रानीवासले २ लाख दियो, तर पनि आवश्यक रकम जुटाउन सकिएको छैन ।’
प्रतियोगिताका लागि १२ लाख ५० हजार रकम आवश्यक रहेको समितिले जनाएको छ ।
चिङ्गाड गाउँपालिकाको रानीवासमा यही चैत २७ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन हुदैछ ।
प्रतियोगिताका लागि अन्य सबै तयारी पूरा भएको र केही प्राविधिक तयारी मात्र बाँकी रहेको समितिका अध्यक्ष चन्द्रकुमार गिरीले बताए । ‘राष्ट्रपति जस्तो गरिमामय र प्रतिष्ठित पदसँग जोडिएर खेलकुद प्रतियागिता हुदैछ’ अध्यक्ष गिरीले भने, ‘रकम नै अभाव भयो ।’
खेलकुदलाई प्राथमिकता नदिनुले यस्तो परिस्थिती आएको अध्यक्ष गिरीको बुझाइ छ । प्रतियोगितामा सक्रिय रुपमा सहभागिता जनाउन उनले खेलाडीहरुलाई आग्रह समेत गरेका छन् ।
प्रतियोगिता सम्पन्न गर्नका लागि चौकुने, बराहताल र सिम्ता गाउँपालिकाले ४०, लेकवेसी नगरपालिकाले ४० र गुर्भाकोट र भेरीगंगा नगरपालिकाले ६०/६० हजार रकम सहयोग गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले ४ लाख ७७ हजार बजेट दिएको छ भने वीरेन्द्रनगर नगरपालिकाले १ लाख ५१ हजार ७ सय २० रुपैयाँ उपलव्ध गराएको छ ।
प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका १ हजार २ सय खेलाडीले प्रतिस्प्रधा गर्नेछन् ।
समितिले दिएको जानकारी अनुसार उसु, कराँते, तेक्वान्दो, एथ्लेटिक्स, कबड्डी र भलिवल गरी ६ खेलमा प्रतिस्प्रधा हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि १२० जना प्राविधिक टिम परिचालन गरिनेछ ।
प्रतियोगिताको उद्घाटन कणर्ाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले गर्ने बताइएको छ ।
त्यस्तै, भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री खड्ग खत्रीको समेत विशेष उपस्थिति रहने आयोजकले जनाएको छ ।
खेल अवधीभर सुरक्षा र मेडिकल एवं प्राथमिक उपचारको व्यवस्था गरिनेछ । सो अवधिभर च्ाौबिसै घण्टा एम्बुलेन्स सेवा पनि दिइने आयोजकले जनाएको छ ।
प्रत्येक विधाका खेलमा प्राप्त गर्ने स्वर्ण पदकका आधारमा फाइनल नतिजा सार्वजनिक गरी कप दिइने पत्रकार सम्मेलनममा जानकारी दिइएको छ ।
उसु र तेक्वान्दोमा ६ स्वर्ण, ६ रजत र १२ काँस्य, कराँतेमा ८ स्वर्ण, ८ रजत र १६ काँस्य, एथलेटिक्समा ३८ स्वर्ण, ३८ रजत र ३८ काँस्य पदक दिइनेछ ।
त्यस्तै, कवड्डी र भलिवलमा १८ स्वर्ण, १८ रजत र १८ वटा काँस्य पदक दिइने बताइएको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र सबै खेलाडी एवं खेलप्रेमीहरुलाई स्वागत गर्न आँफूहरु आतुर रहेको आयोजक जनता मावी रानीवासका प्राधानाध्यापक विनोद यादवले बताए ।
रानीवास एक हजार ८०८ फिटको उचाइमा छ ।
प्रतिक्रिया 4