७ भदौ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले एउटा स्टलको भाडा २० हजार तोकेको छ ।
कम भाडा लिनुको उद्देश्य स्टलको मूल्य तरकारी तथा फलफूलमा धेरै नथोपरियोस् । तर, विचौलियाहरुले २० हजारको स्टल ५ लाखसम्ममा बेच्ने गरेको पाइएको छ ।
हालै मात्र बजार अनुगमनमा गएको सरकारी टोलीलाई व्यापारीहरुले नै थुनेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालीमाटी बजारमा चासो देखाएको छ ।
अध्ययनका क्रममा सरकारसँग सस्तोमा स्टल लिएर लाखौंमा बेचेको भेटिएको छ । ‘सरकारसँग सस्तोमा लिएर बिचौलियालाई पाँच गुणा बढी भाडामा दिनेहरुसँगको सम्झाँता खारेजि प्रक्रिया अगाडि बढेको छ,’ मन्त्री मातृका यादवले भनेका छन्, ‘सो स्टलमा उत्पादनकर्तालाई नै ठाउँ दिने तयारी छ ।’
यसले तरकारीको मूल्य बढेको भन्दै उनले भने, ‘यो अन्त्य गर्न कृषि मन्त्रालयलाई अनुरोध गरेका थियौं ।’
आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालका अनुसार सरकारसँग २० हजारमा लिएको स्टल ठाउँअनुसार १ देखि ५ लाखसम्म लिएर भाडामा लागइएको पाइएको छ । यस्ता ९८ वटा स्टल सञ्चालकसँग भएको सम्झौता खारेज गर्ने तयारी छ ।
कालिमाटी बजारमा अनुगमनमा व्यापारीले अवरोध गरेपछि सरकारले बजार व्यवस्थापनको योजना बनाउन ढकालकै संयोजकत्वमा समिति बनाएको छ, जसले बिचौलियाहरुलाई तरकारी बजारबाट हटाउन के गर्ने भन्नेबारे अध्ययन सुरु गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा ६ सय वटा स्टल छन् ।
प्रतिक्रिया 4