+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौं उपत्यकाका बहाः किन जोगाउनुपर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १६ गते १८:५३

धार्मिक पृष्ठभूमिको ब्राहृमण परिवारमा जन्मिएको मलाई सानैदेखि घरवरिपरिका मन्दिर घुमाइन्थ्यो । त्यतिबेला हरेक शनिबार बिहानको काम नै आमाबाका पछि लागेर मन्दिर जाने मात्र हुन्थ्यो । ती मन्दिर के हुन्, किन जानुपर्ने हो भन्ने विषयमा मलाई विरलै थाहा थियो ।

म नियमित गइरहने मन्दिरमध्ये एउटा थियो सङ्कटा । सङ्कटा मन्दिर आफैँमा मेरा लागि नौलो थियो । सँगैको अर्को संरचनामा पनि मेरा आँखा गइरहन्थेँ । आमाबालाई सोध्थेँ, मन्दिरछेउको अर्को घर चाँहि के हो ? तर उहाँहरूसँग पनि सायद् स्पष्ट उत्तर थिएन, र त जवाफ दिनुहुन्थ्यो, ‘जेसुकै होस् छाडिदेऊ । बरु तिमीलाई म कुनै खेलौना किनिदिन्छु ।’

मैले सङ्कटा मन्दिरसँगैको टेबहाः (टेबहाल)बारे थाहा पाएको केही महिना मात्र भयो । यो बहाःको महत्व जानेसँगै मलाई काठमाडौँका अन्य बहाः तथा तिनको इतिहासबारे पनि जान्न मन लाग्यो । तर यो कुरा मन लाग्ने बित्तिकै सजिलै थाहा हुने विषय थिएन । यी ठाउँबारेका अभिलेख सहजै उपलब्ध हुने खालका थिएनन् ।

हुन त सबै बहाःमा शताब्दीयौँ पुराना शिलालेख, ताम्रपत्र वा अन्य प्रकारका अभिलेख पाइन्छन् । तर ती अभिलेख कि संस्कृतमा हुन्छन् कि त नेपाल भाषामा । आफूलाई न संस्कृत आउँछ न नेपाल भाषा । त्यसैले मैले यस विषयमा जान्नका लागि काठमाडौँका पुरातात्विक सम्पदा संरक्षणको अभियानमा लागेका आलोक तुलाधरलाई भेटेँ । उनका अनुसार मैले थाहा पाउन खोजेका सबै सूचना तिनै अभिलेखमा लुकेर रहेका छन् ।

‘यहाँ सबै सूचना पाइन्छन् । कुन जाति वा परिवारले यो बहाः बनायो, यहाँ कुन देवता राखिएका छन् सबै कुरा यहीँ लेखिएको छ,’ तुलाधर सुरुमै दुखेसो पोख्छन्, ‘तर यी सम्पदाबारे यहाँ कसैलाई मतलब नै छैन । कोही पनि यहाँ घुम्न आउँदैनन् ।’

तुलाधर सही छन् किनभने मजस्ता युवाका लागि बहाःको कुनै अर्थ नै छैन ।

“मान्छेहरू बहाः र चोक एउटै हो भनेर झुक्किन्छन् । तर यी दुईबीच निकै फरक छ,” संस्कृतिविद् बताउँछन् ।

के हो त बहाः ?

महत्व बहाःको मात्र हराएको होइन, हिन्दू र बौद्ध धर्मकै पनि प्रभाव पनि बिस्तारै कम हुँदै छ । अझ समग्रमा संसारभरका सम्पूर्ण धर्मकै प्रभाव घट्दो छ

नेपाल भाषाको ‘बहाः’ संस्कृत भाषाको ‘विहार’ शब्दबाट आएको हो । ‘विहार’ शब्द ‘बहाः’ बनुन्जेल धेरै चरणमा परिवर्तन र अपभ्रंश भएको छ । यो परिवर्तन पनि तिनै अभिलेखमा स्पष्ट देखिन्छन् ।

यी बहाःहरू तिन दिशातिर घेरिएका हुन्छन् । हरेक बहाःमा केही न केही मूर्ति हुन्छन् ।

विहार बौद्ध धर्मावलम्बीको साधना स्थल हो । विशेषतः लिच्छवी र मल्ल कालका शाक्य र बज्राचार्य परिवारका भिक्षुहरूले बसोबास, प्रार्थना तथा ध्यानका लागि विहारको प्रयोग गर्दथे ।

समय बित्दै जाँदा ती भिक्षुहरू पनि विवाह गर्न र गृहस्थ जीवन बाँच्न थाले । यससँगै बहाःको स्वरूप पनि परिवर्तन हुन थाल्यो । त्यहाँ बसेका भिक्षुहरू तिनै बहाःमा बस्न थाले, तर आफू र आफ्ना परिवारका लागि बहाःकै ठाउँलाई छुटटाछुट्टै ठाउँमा पनि थाले ।

मल्ल काल सकिनै लाग्दा ती छुट्टाछुट्टै आवासलाई ती परिवारकै स्वामित्वमा रहेको मानियो । त्यसै अनुसार वरिपरिका जग्गामा पनि ती परिवारको स्वामित्व स्थापित भयो ।

समय बित्दै जाँदा धार्मिक महत्वको वास्तै नगरी ती आवास र जग्गाको किनबेच हुन थाल्यो ।

बहाःको महत्व कसरी हरायो ?

तुलाधरका अनुसार महत्व बहाःको मात्र हराएको होइन, हिन्दू र बौद्ध धर्मकै पनि प्रभाव पनि बिस्तारै कम हुँदै छ । अझ समग्रमा संसारभरका सम्पूर्ण धर्मकै प्रभाव घट्दो छ ।

बहाःमा बसेका कतिपय परिवारहरू अन्यत्र बसाइ सरे र ती सुनसान बहाःसँग उनीहरूको सम्बन्ध पूर्णतः टुट्यो । आज ती बहाःहरू केटाकेटी खेल्ने र ठुला मान्छेले गाडी पार्क गर्ने ठाउँ भएका छन् । ‘विकास तथा आधुनिकीकरण नै हामीले यी ठाउँलाई बिर्सिनुका कारण हुन्,’ तुलाधर भन्छन्, ‘धेरै मानिसले आफ्नो स्वामित्वका बहाः बेचिसकेका छन् र तीसँग उनीहरूको कुनै साइनो छैन । पुराना मान्छे पनि हराउँदै जाँदा यी ठाउँको महत्व र यससँग जोडिएका कथाहरू पनि हराउँछन् ।’

यद्यपि बहाःका बारे आम जनतालाई बुझाउन र तिनको संरक्षणका लागि सक्रिय बनाउन केही मानिसहरू भने लागिरहेकै छन् । तीमध्ये एक हुन् बेलायती नागरिक डेबिड वेज । आफ्नो वेब्साइट ‘द लङ्गेस्ट वे होम’ मार्फत् उनले यी स्थानबारे अभिलेखीकरण गरिरहेका छन् ।

वेजका अनुसार यी पुरातात्विक सम्पदाको संरक्षणमा लाग्ने खर्चका कारण पनि मानिसले यिनको बेवास्ता गर्दै आएका छन् । वरिपरिको समुदायका सदस्यले मात्र संरक्षण तथा संवर्द्धनको सम्पूर्ण खर्च ब्यहोर्दा एकै पक्षमा धेरै भार पर्न आउँछ । बहाःबारे अनुसन्धान गर्दा वेजले भोगेको एउटा अनुभव रमाइलो छ ।

ओमबहाः नजिकै मैले एउटा सानो चोक भेटेँ । यो चोकको बारे कसैलाई पनि खासै केही थाहा थिएन । त्यहाँ वरिपरिका मानिसलाई पनि खासै कुनै जानकारी थिएन । आफू यता सर्नु अगाडि नै त्यो मूर्ति अनि त्यो ठाउँ त्यस्तै रहेको उनीहरू बताउँथेँ । न ती मूर्ति र ठाउँबारे कुनै अभिलेख भेटियो । त्यसैले उनीहरू चुपचाप बसे । बरु आफूले पूजा गरिआएका देवताका मूर्ति पनि त्यहीँ थपिदिए ।’

पर्यटकलाई किन चासो भएन ?

हरेक वर्ष काठमाडौँमा हजारौँ पर्यटक आउँछन् । यहाँका सांस्कृतिक सम्पदाको बखान गरेर जान्छन् । तर तीमध्ये अत्यन्त कमलाई मात्र बहाःबारे थाहा हुन्छ । थाहा हुनेलाई पनि पाटनका गाबहाः र क्वाबहाःजस्ता चर्चित बहाःबारे मात्र जानकारी हुन्छ । हुन त गाइडले जहाँ लग्यो उनीहरूले थाहा पाउने त्यति मात्र हो ।

‘आफूले आफ्ना पाहुना लैजाने सबै ठाउँबारे पनि ती गाइडहरूलाई कहाँ थाहा हुन्छ र ? उनीहरूलाई आफूले दिनुपर्ने सूचना सही हो कि होइन भन्ने पनि खासै मतलब हुँदैन । सबैलाई थाहा भएको सूचना मात्र प्रसार गर्छन् । उनीहरूको एक मात्र ध्येय भनेको पैसा कमाउनु हो जस्तो लाग्छ,’ तुलाधरको आरोप छ ।

अर्कातर्फ गाइडको पृष्ठभूमि, उसको ज्ञान मात्र नभई उसको जातिगत एवं धार्मिक पहिचानका आधारमा पनि बहाःबारे उसले दिने जानकारी फरक हुन्छ । उदाहरणका लागि नेवार र गैरनेवार गाइडले बहाःलाई फरकरूपमा चिनेका हुन्छन् ।

अनि बहाःबारे कुनै आधिकारिक निकायसँग पनि खासै धेरै सूचना नै छैन ।

‘गाइड बन्नका लागि उनीहरूले सरकारले दिने अनुमति पत्र पनि लिनुपर्छ भन्ने सुनेको छु । तर बुझिने अङ्ग्रेजी बोल्यो भने त्यो अनुमति पत्र पाइने रहेछ । यस्तो अनुमतिको त केही काम छैन,’ यसो भन्दा संस्कृतिविद्को मुहारमा आक्रोश पनि देखिन्छ । उनी थप्छन् कि यस्ता गाइडलाई तालिम दिने कुनै व्यवस्था पनि छैन । फलतः उनीहरूलाई कुनै नयाँ कुरा थाहा हुँदैन । यसको प्रभाव सिधै पर्यटकमा पर्छ: आफूलाई दिएको सूचना स्पष्ट नभए पनि उनीहरू चुप लागेर हिँड्न बाध्य हुन्छन् ।

‘उनीहरूमा काठमाडौँको सांस्कृतिक इतिहासबारे तालिमको अभाव छ । काठमाडौँका गाइडहरू पट्यारलाग्दा हुन्छन् । उनीहरूले विभिन्न तिथिमिति र देवताका नाम घोकेका छन् । उनीहरू खालि टुँडालका उत्तेजक आकृतिबारे ख्यालठट्टा गर्न चाहान्छन् । यो कुनै पनि हिसाबले व्यावसायिक छैन । त्यसैले काठमाडौँका पर्यटकलाई बहाःबारे थाहा नहुनु कुनै नौलो कुरा भएन,’ वेज भन्छन् ।

तर यसभन्दा ठ्याक्कै उल्टो समस्या पनि सतहमा देखिएको छ । वेज सुनाउँछन्, ‘काठमाडौँको एउटा लोकपि्रय ठाउँमा त्यहाँकै स्थानीय समुदायले चलाएको एउटा बहाः छ । एक जना ब्लगरले त्यहाँको चोकको फोटो खिच्न खोज्दा त्यहाँका स्थानीयले त्यो ठाउँ आफ्नो निजी भएको बताउँदै उनलाई भगाएछन् ।’

‘केही दिनपछि त्यहाँ अर्को घुमन्ते समूह आइपुगेछ । तर फेरि स्थानीयले गोपनीयताको कारण देखाउँदै तिनलाई पनि रोके । आज हेर्न जानुहोस् त त्यहाँ विभिन्न भाषामा यो गोपनीय ठाउँ हो, फोटो नखिच्नूस् भन्ने सूचना राखिएको छ ।’

‘हामीले के बुझ्नुपर्छ भने यस्तो आक्रामक मानसिकताले इमान्दार तथा सम्मानजनक रूपमा आफ्ना जिज्ञासा राख्ने कैयौँ पर्यटकलाई पनि बहाःबारे बुझ्नबाट रोक्छ,’ उनी थप्छन् । नेपालीले प्रायजसो तत्कालीन लाभ मात्र हेर्ने भएकाले यस्तो समस्या छिट्टै अन्त्य नहुने वेजको बुझाइ छ ।

‘अर्कातर्फ यहाँका ट्राभल एजेन्सीको ध्यान नाफामा मात्र छ । आफूलाई पनि केही लाभ हुने आशामा तिनले पर्यटकलाई के बताउने गरेका छन् भने बहाः घुम्न पैसा लाग्छ ।’ जबकि तथ्य के हो भने बहाःको संरक्षणका लागि प्रवेश शुल्क नउठाईकन स्रोत जुटाउने अन्य उपाय पनि छन् । आखिर जे भए पनि पर्यटकहरूलाई बहाःको विगत र वर्तमानबारे सही सूचना दिइनुपर्छ ।

‘सुरुमा यो पनि एक प्रकारको मोनास्ट्री हो र यसलाई बहाः भनिन्छ भनेर मात्र सुरु गरे पनि हुन्छ । बिस्तारै उनीहरूले यसका विभिन्न आकार र पृष्ठभूमिबारे थाहा पाउँछन् ।’ तर हालसम्मको अवस्थामा भने बहाःबारे गुणस्तरीय सूचनाको चर्को अभाव छ ।

नेपालमा बौद्ध धर्मको प्रभाव फैलिँदै गरेको अवस्थामा यी बहाःहरूको निर्माण भएको थियो । मल्ल र लिच्छवी राजाहरूआफ्ना धर्म, संस्कृति र कलाप्रति गौरवान्वित थिए । आधुनिकताका नाममा आज हामी सम्पदाबाट टाढिँदै छौँ । प्रायः युवाहरूलाई यस्ता ठाउँबारे केही वास्ता नै छैन ।
फलतः यी ठाउँहरूलाई आफैँलाई जीवित राख्न समस्या परिरहेको छ । यदि अझै पनि हामीले यिनबारे केही थाहा नपाउने भए भोलिका सन्ततिले चाँहि के सिक्लान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?