+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

नेकपाका सांसदले भने : मुख देखाएर हिँड्न लाज भइसक्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १० गते १६:४९

१० असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले सरकारका कारण मुख देखाएर हिँड्न लाज भइसकेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा सरकारको गतिविधिले मुख देखाएर हिँड्नै लाज भइसकेको बताएका हुन् ।

राज्यको स्थायी संयन्त्रले अनुसन्धान अघि बढाउनुभन्दा आयोग बनाएर प्रतिवेदन कुरेर बस्नु लाजमर्दो भएको उनको भनाइ छ ।

‘हत्या बलात्कार ज्यानमारा सबैमा आयोग बनाउने अनि प्रतिवेदन आएपछि कहाँ को लुकेको छ भनेर खोज्दै हिँड्ने ? के तरिका हो यो’ उनले प्रश्न गरे ‘आउँदा दिनमा कुनै पनि केसमा आयोग बनाउने टोली खटाउने प्रतिवेदन आउँछ पख्नुस माननीयज्यू भन्ने अनि प्रतिवेदन आएपछि बल्ल छानबिन गर्ने हो ? हरेक घटनामा आयोग बनाउने हो भने स्थायी राज्यको संयन्त्रलाई तलब खुवाएर किन राखेको ? मुख देखाएर हिँड्न लाज भइसक्यो ।’

सांसद खतिवडाले निजगढ विमानस्थलमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नहुँदै, कतिवटा रन वे बनाउने टुंगो नहुँदै र लगानीको सुनिश्चितता नहुँदै रुख काट्न हतार गरेकोमा पनि आपत्ति जनाएका छन् ।

‘केही कुरा टुंगो भएको छैन । रुख काटेर बेचेर बेचिहाल्ने’ उनले भने ‘दौरा न सौराको खल्ती भनेको यही हो ।’ मेलम्ची आयोजनाको लागि लगानी जुटाउन ८/१० वटा दाता गुहार्नुपरेको भन्दै सांसद खतिवडाले तत्कालै रुख काट्न खोज्नु दिन दहाडै डाँकागिरी भएको टिप्पणी गरे ।

‘लाज भन्ने कुरा हुँदैन अलिकति, सरम भन्ने कुरा हुँदैन’ आक्रोशित हुँदै खतिवडाले भने ‘दिन दहाडै डाँकागिरी ?’

डीपीआर तयार र लगानीकर्ता टुंगो नलागेसम्म रुख काट्नेहरु हत्यारा ठहरिने सांसद खतिवडाले चेतावनी दिए ।

चिनी उद्योगीहरुले सरकारसँगै साँठगाँठ गरेर मूल्यवृद्धि गराएको पनि खतिवडाले बताए । सुरुमा भन्सार वृद्धि गर्न लगाएका उद्योगीहरुले पछि चिनीको आयात नै रोक्न लगाएको र अहिले दशैंको बेलामा मूल्यवृद्धि उनको आरोप छ ।

‘उखु किसानको पैसा भुक्तानी गर्ने नाममा चिनीको भन्सार १५ प्रतिशतबाट ३० प्रतिशत बनाइयो, ३० प्रतिशत भन्सारले पुगेन पुरै रोक्नपर्छ भनेपछि आयात नै रोकियो’ उनले भने ‘केही दिनअघि प्रधानमन्त्री कार्यालयमा तामा तुलसी छोएर किलाको ६४ रुपैयाँ भन्दा बढीमा बेच्दैनौं प्रतिज्ञा गरेर निस्कनुभयो । अहिले दशैं तिहारमा सय रुपैयाँ नघाउछौं भनेर गर्वका साथ घोषणा गर्दै हिँडेका छन् ।’ उनले भने ।

चिनी माफियाका अगाडि सरकार निरिह भएको सांसद खतिवडाको आरोप छ । ‘यो निरिहता कसको ? यो निरिहतामात्र होइन चिनीको चास्नीमा कुन कुन झिँगा लटपटिएका छन् । खुल्दै जाला’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?