+
+

प्रहरीको इमान्दारिता र कर्तव्यनिष्ठा प्रशंसनीयः प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २५ गते १०:१४

२५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको देशप्रेम, इमान्दारिता र कर्तव्यनिष्ठा प्रशंसनीय भएको बताएका छन् ।

बलात्कार, हिंसा, हत्याको नियन्त्रण तथा अनुसन्धानमा प्रहरीको भूमिकालाई लिएर आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले कर्मठ प्रहरीले अपराध नियन्त्रण र अमनचयन कायम राख्न योगदान पुर्याएको भन्दै प्रशंसा गरे ।

‘गौरवशाली इतिहास निर्माण गरेको प्रहरीको देशप्रेम, इमान्दारिता र कर्तव्यनिष्ठा प्रशंसनीय छ,’ ६३ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयले बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘कर्मठ प्रहरीले अपराध नियन्त्रण र अमनचयन कायम राख्न पुर्याएको योगदानको म प्रशंसा गर्छु ।’

संयुक्त राष्ट्र संघको अनुरोधमा विदेशस्थित विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनाका लागि सञ्चालित मिसनमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाललाई स्थापित गराउन भूमिका खेलेको प्रधानमन्त्रीले बताए ।

नेपाल प्रहरी सदैब जनताको सुरक्षाको पहरेदार र सेवकका रुपमा स्थापित भएको बताउँदै प्रधानमन्त्री ओलीले मुलुक विभिन्न सशस्त्र द्वन्द्वमा गुज्रँदा सीमित स्रोत र साधनका बीच आन्तरिक सुरक्षा कायम गरेको स्मरण गरे ।

नेपला प्रहरीले अपराध अनुसन्धानमा ९० प्रतिशत सफलता पाएको भएता पनि कुनै एउटा विषयमा अपराध अनुसन्धान राम्रो गर्न नसक्दा नकारात्मक असर पर्न जाने भन्दै प्रधानमन्त्री ओलीले घुमाउरो पारामा निर्मला हत्या प्रकरणमा प्रहरीले दोषी पत्ता लगाउनुपर्ने संकेत गरे ।

‘प्रहरीले ९० प्रतिशत अभियुक्त पत्ता लगाए पनि यो पर्याप्त होइन’, प्रधानमन्त्रीले भने, ‘साख जोगाउन थप व्यवसायिक हुन जरुरी छ ।’

नेपाल प्रहरी आमनागरिकमुखी हुनसक्यो र जति बढी नागरिकको घरदैलोमा पुग्न सक्यो त्यति नै सरकारको प्रभावकारिता देखिने भएकाले प्रहरीलाई व्यावसायिक र थप साधन स्रोत सम्पन्न बनाउन जरूरी रहेकाे प्रधानमन्त्रीकाे भनाइ छ । त्यसका लागि सरकार लागिपरेको उनले बताए ।

शान्ति सुरक्षा र अमन चयन कायमका लागि प्रहरीको मनोबल बृद्धिमा जोड दिएका प्रधानमन्त्रीले यसका निम्ति सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।

ठूलो राजनीतिक उथल पुथल र परिवर्तनपछि देश समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त गर्ने अभियानमा रहेको स्मरण गराउँदै प्रधानमन्त्रीले भने– यसका लागि शान्ति सुरक्षा पहिलो आवश्यकता हो । यसअर्थमा प्रहरी आगामी दिनमा थप जिम्मेवार सक्रिय हुनुपर्छ ।

प्रविधिको दुरुपयोग गरेर अन्तरदेशीय रुपमा हुने अपराध, आतंकवाद, अतिवाद दिनप्रतिदिन नयाँ स्वरुपमा देखापरेको भन्दै त्यसलाई रोक्न छिमेकी देशहरुसँग सम्बन्ध विस्तारमा उनले  जोड दिए ।

वैदेशिक रोजगार, विभिन्न यात्रा र बसोवासको सुरक्षा गर्न विदेशस्थित नेपाली दूतावासहरु, संयुक्त राष्ट्रसंघको स्थायी नियोग र प्रहरी संगठनको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको केन्द्रीय र क्षेत्रीय कार्यालयहरुमा नेपाल प्रहरीको परिचालनलाई सरकारले गम्भीरतापूर्वक लिएको प्रधानमन्त्रीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?