Comments Add Comment

तातोपानी नाका बैशाखमा खुल्ने

५ फागुन, सिन्धुपाल्चोक । महाभुकम्पपछि बन्द रहेको नेपाल र चिन बिचको प्रमुख व्यापारीक नाका तातोपानी आगामी वैशाखबाट सञ्चालन हुने सम्भावना प्रवल बनेको छ ।

यो नाका सञ्चालनका लागि चिनियाँ पक्ष अग्रसर भएर नेपालतर्फ सडक लगायतका संरचना निर्माणलाई तीव्र बनाएको छ । नेपालले भने सरकारी भवनहरु बनेका छैनन् । नेपालले सबै काम सुख्खा बन्दरगाहाबाटै सञ्चालन गर्ने तयारी गरेको छ ।

चिनियाँ पक्षले मितेरी पुल, सुख्खा बन्दरगाहा र सडक १५ बैशाखभित्र नेपाललाई हस्तान्तरण गर्नेगरी रातदिन काम गरिरहेको छ । निर्माणाधीन सबै संरचना हस्तान्तरण हुन साथ औपचारिक रुपमा नाका सञ्चालन हुने नेपाली अधिकारीहरुको भनाइ छ ।

जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले चिनियाँहरुको काम गराई हेर्दा तोकिएको मिति नकटाउने देखेको बताए । चिनियाँ कम्पनी रेल्वे कन्स्ट्रक्सन ग्रुप कम्पनी (सीआरसीसी)ले सीमा क्षेत्रबाट नेपालतर्फ बाह्रविसे माथिसम्म सडक बनाइरहेको छ ।

भूकम्पले सडक लगायतका भौतिक संरचना ध्वस्त बनाएलगत्तै चिनियाँ पक्षले तातोपानी नाका बन्द गरेको थियो । भूकम्पपछि नेपाल–चीन सीमा क्षेत्रका लिपीङ र खासाका घरहरुमा चिनियाँ सुरक्षाकर्मीले दलाई लामाको तस्विर फेला पारेका थिए । तत्कालै नाका बन्द गर्नुको मुल कारण त्यसैलाई मानिएको छ ।

चीनको चिन्ता तिब्बती गतिविधि

तातोपानी नाका सञ्चालनको लागि नेपालले पटकपटक कू्टनीतिक पहल गरेको थियो । चिनियाँ पक्षले भने सुरक्षाको सवाल देखाउँदै नाका सञ्चालनमा अनिच्छा देखाउँदै आएको थियो । हरेक नेपाल–चिन सीमा सुरक्षा बैठकमा चिनियाँ पक्षले यही कुरा उठाउँथ्यो भने नेपाली पक्षले कुनै पनि अवस्थामा तिब्बती गतिविधि नियन्त्रण गरिनेमा आश्वस्त पार्दै आएको थियो ।

सांसद अग्नि सापकोटा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत छुट्टाछुट्टै भ्रमणमा चिनियाँ राष्ट्रपतिसम्मलाई यसमा आश्वस्त पारेको बताउँछन् । हुन पनि, यो क्षेत्रमा सुरक्षा मजबुती देखाउने क्रममा नेपाल प्रहरीले बोक्चेन भन्ने स्थानमा समेत प्रहरी चौकी खडा गरेको छ ।

दलाई लामाको सम्बन्धमा चीन सरकार कति संवेदनशील छ भने नाका ब्यापारमा एकाधिकार जमाएर लिपिङ र खासा क्षेत्रमा बसेका एक–एक तिब्बतीलाई नेलमभन्दा उत्तरतिर सारिएको छ ।

अब खासा क्षेत्रमा सरकारी कार्यालय मात्र राख्न लागेको त्यहाँ भइरहेको निर्माणले देखाउँछ । भूकम्पले ध्वस्त बनाएको तिब्बततिरका सडक लगायत सबै भौतिक संरचना निर्माण भइसकेको छ ।

मन्त्रीको निरीक्षण र आश्वासन

गत असोज अन्तिम साता तातोपानी नाका निरीक्षण गरेका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ दोस्रो पटक आइतबार मितेरी पुलसम्म पुगेर फर्किए ।

बाह्रविसे–मितेरी पुल सडक खण्डको विभिन्न ठाउँमा गाडी रोकिरोकी अवलोकन गरेका उनले उल्लेख्य प्रगति भएको बताए । तीन महिनामा यतिधेरै काम भइसकेको भन्दै उनले खुशी व्यक्त गरे । ‘ढुक्क हुनुस्, बैशाखमा नाका खुल्छ’, उनले भने, ‘अब आफ्ना घर सिँगारपटार गरे हुन्छ ।’

सांसद अग्निप्रसाद सापकोटा र प्रदेश सरकारका मन्त्री अरुण नेपालका साथै आफ्नै मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकलाई समेत साथ लिएर उत्तरी सिमा क्षेत्र पुगेका मन्त्री महासेठले नेपालतर्फको सडक तिन महिनाभित्रमा स्तरोन्नती भइसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment