
रंगहरुको पर्वमा रमाउने रहर त सबैलाई हुन्छ । तर, कतिपय शारीरिक अवस्थामा उन्मुक्त होली खेल्न सकिदैन वा गाह्रो हुनसक्छ । जस्तो कि गर्भावस्था ।
अहिले होलीको रंगमा अनेक किसिमको रसायन हुन्छ । त्यसको असर गर्भको बच्चालाई पर्न सक्र्छ । के त्यसो भए गर्भवतीले होली खेल्न हुन्न ? उनीहरुले रंगहरुसँग खेल्दा के हानी हुन्छ ? होलीको रंगले गर्भको बच्चालाई कसरी असर गर्छ ?
गर्भवतीको होली
गर्भवतीले पनि होली खेल्न सक्छन् । तर, सावधानीपूर्वक । अर्थात जथाभावी र जुनसुकै रंग प्रयोग गर्नै हुन्न ।
स्तरिय रंग एवं अबिरको प्रयोग गरेर सावधानीसाथ होली खेल्दा हुन्छ । भागदौड, लुकिछुपी अनि खेलखेलमा लडिने वा चोट लाग्ने हुनसक्छ । यस्तो चोट घातक हुनसक्ने भएकोले होसियार हुनैपर्छ । संयमित भएर होली खेल्ने र रमाउने गर्नुपर्छ ।
कस्तो रंग घातक ?
खासमा होलीमा अबिरको प्रयोग गर्नुपर्ने हो । अझ प्राकृतिक रंगको प्रयोग गर्नुपर्ने हो । तर, अहिले होली भन्नसाथ अनेकन रसायनयुक्त रंग प्रयोग गरिन्छ ।
सस्तो तथा गुणस्तरहिन रंगले सामान्य व्यक्तिलाई त असर गर्छ भने गर्भवतीलाई असर नगर्ने कुरै भएन । त्यसमा पनि कम गुणस्तरको रातो रंगमा मर्करी सल्फेट नामक रसायन प्रयोग गरिएको हुन्छ ।
कसरी हानी गर्छ ?
सस्तो र गुणस्तरहित रंग छालाबाट अवशोषित भएर रगतमा जान्छ र त्यसले छालाको क्यान्सरसम्म गराउनसक्छ । आँखाको दृष्टि कमजोर बनाउँछ र पक्षघातसमेत गराउनसक्छ ।
मर्करी सल्फेटले गर्भको बच्चाको बृद्धिमा असर गर्ने भएकोले गर्भवतीले यस्ता रंगहरुको प्रयोग गरेर होली खेल्नु हुदैन ।
हरियो रंगमा कपर सल्फेट भन्ने रसायन प्रयोग गरिएको हुन्छ । कपर सल्फेटका कारण बिशेषगरी आँखा चिलाउने, सुन्निने, रातो हुने तथा केहिबेर अन्धो बनाउन सक्छ । त्यसैले यो रंग पनि गर्भवति महिलाले प्रयोग गर्नु हुदैन । यसले गर्भको बच्चाको बृद्धिमा असर गर्छ । हड्ड िकमजोर बनाउँछ । गर्भपतनसमेत गराउनसक्छ ।
निलो रगंमा प्रयोग हुने प्रसियन ब्लु भन्ने रसायन रगतमा नसोसिने हुने भएकोले यसले छालामा मात्र असर गर्छ । यसबाट छाला चिलाउने तथा फोका आउने हुनसक्छ । यसले भने गर्भमा खासै असर गर्दैन । अबिरमा पनि सिसाका धुलो हुने भएकोले गर्भवतीले नदल्नु नै राम्रो ।
कस्तो रंग प्रयोग गर्ने त ?
होली खेल्नका लागि स्तरिय रंग प्रयोग गर्न सकिन्छ । अबिर प्रयोग गर्न सकिन्छ । संभव भएसम्म प्राकृतिक रंग प्रयोग गर्न सकिन्छ ।
अहिले बजारमा अनुहारमा पनि लगाउन मिल्ने र छालामा कुनै असर नगर्ने, सजिलै पखालिने किसिमका रंगहरु पाईन्छन् । मेहन्दी तथा अन्य हर्बलबाट तयार गरिएका रङ तथा अबिरहरु बजारमा उपलब्ध हुने भएकाले गर्भवती महिलाले यस्ता रङ तथा अविरले रमाईलो गर्न सक्छन् । (डा. बालकृष्ण शाहसँग कुराकानीमा आधारित)
प्रतिक्रिया 4