
१४ चैत, विराटनगर । प्रदेश १ को मोरङ र सुनसरीमा कुखुरामा बर्ड फ्लु भेटिएको छ । सुनसरीको इटहरी उपमहानगरपलिका १८ र मोरङको सुन्दरहरैचा नगरपालिका ११ रहेको कुखुरा फर्ममा बर्ड फ्लु भेटिएको हो ।
सुन्दरहरैचामा सञ्चालित सीता अर्जुन बहुउद्देश्यीय सहकारी संस्थाको कुखुरा फार्ममा गत शनिबार र इटहरी १८ मा सञ्चालित बीएण्डजी अर्गानिक कृषि फर्ममा बुधबार बर्ड फ्लू देखिएको हो ।
बर्ड फ्लू देखिएपछि दुईवटा फर्मका हाँस कुखुरा नष्ट गरी उच्च सतर्कता अपनाइएको प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले बताए ।
इटहरी उपमहानगरपालिका १८ लविपुरमा सञ्चालित बीएण्डजी अर्गानिक कृषि फर्मका करिब साढे ८ सय हाँस कुखुरा र सुन्दरहरैचा नगरपालिका– ११ मा सीता अर्जुन बहुद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको फर्मका १ हजार ८ सय २३ कुखुरा नष्ट गरिएको मन्त्रालयले बताएको छ ।
इटहरीमा सञ्चालित फर्मको कुखुरा बुधवार नष्ट गरी बिहीबार फर्मलाई सिल गरिएको छ । आइतबार सुन्दरहरैचाको खोर सिल गरिएको थियो ।
सिल गरेको खोर ४५ दिन सम्म बन्द रहनेछ । स्थानीय प्रशासनले बर्ड फ्लू भेटिएको स्थानदेखि तीन किलोमिटर आसपास उच्च सर्तकता अपनाइएको छ ।
बर्ड फ्लू भेटिएको स्थानदेखि पाँच सय मिटर आसपासका कुखुराबाहिर लैजान प्रतिबन्ध लगाइएको जिल्ला भेटनरी अस्पताल मोरङका प्रमुख डा. सुशील अधिकारीले जानकारी दिए ।
दुई स्थानमा बर्ड फ्लू देखिएपछि स्थानीय प्रशासनले कुखुरा निर्यात र पालनमा उच्च सर्तकता अपनाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकरी मन्त्रालयसँगको समन्वयमा सतर्कता बढाइएको छ ।
उनका अनुसार फर्महरुको अनुगमन गर्ने काम पनि सुरु भएको छ । हाँस कुखुरा निकासी गर्न पनि स्थानीय प्रशासन निगरानी कडा बनाएको छ ।
बर्ड फ्लूका कारण कुखुरा नष्ट गरिएका कृषकलाई सरकारले क्षतिपूर्ति दिने भएको छ । इटहरीको कृषि फर्मलाई प्रदेश सरकारले र सुन्दरहरैंचाको कृषि फर्मलाई केन्द्र सरकारलाई क्षतिपूर्ति दिने मन्त्रालयका सचिव विष्टले बताए ।
प्रतिक्रिया 4