+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

काठमाडौं महानगरमा सवारी चलाउन १० पास अनिवार्य !

संघीय ऐन नआउँदै महानगरले बनायो विधेयक

विशाल सापकोटा विशाल सापकोटा
२०७५ चैत २५ गते १९:५०

२५ चैत, काठमाडौं । ०७१ सालमा सरकारले सवारी चालकको योग्यतामा एसएलसी पास हुनुपर्ने राखेपछि धेरैले प्रश्न उठाए, नेता बन्न चाहिँ कति योग्यता चाहिन्छ ?’

यस्ता प्रश्नसहित चौतर्फी आलोचना भएपछि तत्कालीन सरकार आफ्नो निर्णयबाट पछि हट्यो । अहिले सवारी चालक अनुमतिपत्र दिँदा शैक्षिक योग्यता खोजिँदैन ।

तर, काठमाडौं महानगरपालिकाले चालकको शैक्षिक योग्यता तोकेर ‘सवारी तथा यातायात विधेयक–२०७५ ’ ल्याएको छ । आइतबार नगरसभाले पारित गरेको बिधेयकमा सवारी चालक र परिचालक न्यूनतम दश कक्षा पास हुनुपर्ने उल्लेख गरिएको छ ।

विधेयकको परिच्छेद ४ मा सवारी चालक र परिचालकसम्बन्धी व्यवस्था छ । जसमा चालक हुन तोकिएका ५ योग्यता मध्ये ‘ख’ मा भनिएको छ, ‘न्यूनतम् दश कक्षासम्म उत्तिर्ण गरेको ।’

यस्तै प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिमको सवारी चालक इजाजत प्राप्त गरेको, फौजदारी अभियोगमा सजाय नपाएको, शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहेको तथा प्रचलित कानुनले अयोग्य नरहेको हुनुपर्ने उल्लेछ ।

सहचालकको हकमा पनि त्यही योग्यता तोकिएको छ ।

क्षेत्राधिकार मिचेर विधेयक

केन्द्र सरकारले अझै ‘संघीय सवारी ऐन’ ल्याउन सकेको छैन । यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालका अनुसार यसबारे छलफल जारी छ ।

नयाँ संविधान बनेपछि गरिएको अधिकार बाँडफाँटमा सवारी चालक अनुमतिपत्र वितरण संघीय सरकार र प्रदेश सरकारको अधिकारका रुपमा राखिएको छ । यो कार्यान्वयन हुन पनि संघीय ‘संघीय सवारी ऐन’ चाहिन्छ । संघीय ऐन नबन्दासम्म केन्द्र सरकारले मात्र सवारी चालकलाई लाइसेन्स दिन पाउँछ ।

तर, काठमाडौं महानगरले क्षेत्राधिकारमै नभएको विषयमा गएर कानुन बनाएको पाइएको छ ।

लाइसेन्स नै जारी गर्ने अधिकार नपाएको महानगरले चालकको योग्यता तोक्न मिल्छ भन्ने प्रश्नमा यातायात व्यवस्था विभागका महानिर्देशक दाहाल भन्छन्, ‘मैले पनि त्यो विधेयक हेरेँ । तपाईलाई जस्तै म पनि पनि प्रश्न उठेको थियो ।’

विभागका अधिकारीहरुका अनुसार संघीय यातायात ऐन नबनेको अवस्थामा महानगरले कानुनी रित्ततालाई केटेर यो ऐन बनाएको हो, जसमाथि अदालतमा प्रश्न उठ्न सक्छ ।

काठमाडौं महानगरका सूचना अधिकारी वसन्त आचार्यले भने विधेयक लागू गर्ने दाबी गरेका छन् । ‘यहाँ आउने वाह्य पर्यटकसँग कुरा गर्न सक्ने, विस्तारै ई–टिकेटिङको व्यवस्था हुँदैछ, त्यो चलाउन पनि शैक्षिक ज्ञान हुनुपर्छ । त्यसैले हामीले काठमाडौं महानगरभित्र गुड्ने सार्वजनिक यातायातका साधनका चालक र सहचालकको योग्यता तोकेका हौं’, उनले भनेका छन् ।

सार्वजनिक यातायातका साधन चलाउने चालकले लाईसेन्समा आवेदन दिन पहिले न्युनतम् कक्षा ८ पास गरेको हुनुपर्ने व्यवस्था थियो । तर, न्युनतम् शैक्षिक ज्ञान नभएका व्यक्तिलाई लाईसेन्स दिँदा दुर्घटना बढेको भन्दै सरकारले २०७१ मा एसएलसी (हालको एसईई) पास हुनैपर्ने व्यवस्थासहित नियमावली बनाइयो ।

तर, चौतफी विरोध भएपछि पछि हटेको सरकारले अहिले सामान्य लेखपढ गर्न सक्नेलाई सार्वजनिक यातायातका साधनको चालक अनुमति पत्र दिँदै आएको छ ।

लेखक
विशाल सापकोटा

अनलाइनखबरका सह सम्पादक सापकोटा राजनीति, अन्तर्राष्ट्रिय मामिला र समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?