
२८ चैत, विराटनगर । अल्मुनियमको काम गर्दै आएका २२ वर्षीय प्रकाश र हेम चौधरी कामका सिलसिलमा जहाँ पुगेपनि साँझ बास बस्न घर आइपुग्थे । छिमेकी रहेका उनीहरु बुधबार सुन्दरहरैचामा दिनभरी काम गरेर मोरटरसाइकलमा घर फर्कदै थिए ।
चाकल थिए प्रकाश । साँझ करिब साढे ७ बजेको समयमा सुन्दरहरैचा नगरपालिका-४ बुधवारे चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा३च ७९६२ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दियो । गम्भीर घाइते बनेका प्रकाश र हेमलाई विराटनगरको नोबेल मेडिकल कलेज ल्याइयो । अस्पतालले हेमलाई मृत घोषणा गर्यो ।
प्रकाशको टाउकोमा रगत जमेकाले तत्काल अप्रेशन गर्न डेढ लाख रुपैयाँ जम्मा गर्न भनियो । अस्पतालले शल्यक्रिया गर्न १ लाख ३० हजार र औषधिका लागि ५० हजार अग्रिम जम्मा गर्न भनेको प्रकाशकी बहिनी पबित्राले जानकारी दिइन् ।

राति साढे ८ बजे दुर्घटना भएको जानकारी पाएर अस्पताल आएका आफन्तले तत्काल पैसा निकाल्न नसक्दा अस्पताल प्रशासनले ‘बाँच्ने सम्भावना कम भएको’ भन्दै शल्यक्रिया गरेन । नोबेलले उपचार नगरेपछि राति करिब ११ बजेतिर आफन्तले विराटनगर अस्पताल (विराट नर्सिङहोम) मा भर्ना गरे ।
अस्पतालले शल्यक्रिया गरेर टाउकोमा जमेको रगत निकालेको छ । तर, अझै प्रकाश खतरा मुक्त छैनन् ।
आफन्तले बिहीबार मात्र थाहा पाए ‘प्रकाशलाई ठक्कर दिने गाडी पूर्वराजा ज्ञानेन्द्र शाहको रहेछ ।’
विराटनगर अस्पतालमा भेटिएका प्रकाशका आफन्तहरु दुर्घटनामा संलग्नलाई कारवाही नहुने हो कि भन्ने चिन्तामा छन् । ‘प्रहरी कार्यालय पुग्दा मात्र पूर्वराजाको गाडी भन्ने थाहा पाएँ’ ‘ प्रकाशका हजुरबुबा सबुरलाल राजबंशीले अनलाइनखबरसँग भने, ‘ गाडी जो कसैको होस्, कानूनअनुसार कारबाही होस् ।’
दुर्घटना भइसकेका कारण घाइतेको उपचार र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताउँछन् ।
प्रकाशकी आमा कालिनदेवी चौधरी पनि कानून अनुसार कारबाही हुनुपर्ने बताउँछिन् ।
एयरपोर्ट छाडेर फर्किँदा दुर्घटना
केही दिनअघि पत्नी कोमलसहित पूर्व आएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार साँझ काठमाडौं फर्किए । उनलाई एयरपोर्टसम्म पुर्याउन आएको कारमा निजी सुरक्षाकर्मी थिए ।
पूर्वराजाको सवारी हुँदा प्रयोग हुने गाडी सशस्त्र प्रहरीका जवान दिपेन्द्र लम्सालले चलाएका थिए । गाडीमा सुटकेस र पूर्वराजाको सचिवालयको सामग्री थियो । स्रोतका अनुसार पूर्वराजा देशका विभिन्न स्थानमा जाँदा काठमाडौंबाट गाडी लैजाने गरिएको छ ।
दुर्घटनामा परेको कार पनि बिहीबार काठमाडौं लैजाने तयारी थियो । अहिले चालक र गाडी दुबै इलाका प्रहरी कार्यालय बेलवारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।
प्रतिक्रिया 4