
७ वैशाख, बुटवल । प्रदेश ५ को राजधानीलाई लिएर जीतगढीमा प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँडबीच जुहारी नै चलेको छ ।
विजयोत्सव समारोहमा सहभागी हुन प्रधानमन्त्री ओलीसँगै खाँड जीतगढी पुगेका थिए । प्रधानमन्त्री भन्दा अगाडि सम्बोधन गरेका खाँडले प्रदेश ५ को स्थायी राजधानी बुटवल उपयुक्त भएको भन्दै छिटो टुंगो लगाउनुपर्नेमा जोड दिए ।
शेरबहादुर देउवा सरकारले बुटवललाई अस्थायी राजधानी तोकेपनि अहिलेसम्म स्थायी राजधानीको टुंगो नलाग्दा असहज भएको उनको तर्क थियो । उनले स्थायी राजधानी र नामाकरण छिटो टुंगो लगाउन प्रदेशसभालाई आग्रह गरे ।
बुद्ध जन्मस्थल लुम्बिनी, जितगढी किल्ला, अन्तराष्ट्रिय विमानस्थल, बेलहिया नाका, ६ लेन सडक, पर्याप्त पुर्वाधार आदि आधारहरु पेश गर्दै उनले प्रदेशको स्थायी राजधानी बुटवल बनाउन प्रधानमन्त्रीको पनि सहयोग खोजेका थिए ।
तर, प्रधानमन्त्री ओलीले खाँडलाई कडा जवाफ दिए ।
प्रधानमन्त्री ओलीले भने, ‘मेरो अरु जस्तो जहाँ गयो त्यहीका लागि कुरा गर्ने आदत छैन । प्रदेश ५ भनेको बुटवल नगरपालिका मात्र होइन बर्दिया, रोल्पा रुकुमसम्म छ ।’ प्रदेशको स्थायी राजधानीको टुंगो प्रदेशसभाले लगाउने उनले प्रष्ट पारे ।
अरु बेला प्रदेश ५ को राजधानी बुटवलबाट दायाँबायाँ गर्न नपाइने बताउने गरेका नेकपा महासचिव विष्णु पौडेल जीतगढीमा भने यसबारे केही बोलेनन् ।
प्रतिक्रिया 4