+
+

‘जीवन जिउने काइदा’ का लेखकको तेस्रो पुस्तक आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २६ गते १८:१६

२६ वैशाख, काठमाडौं । पुस्तकमार्फत जीवन जिउने कला सिकाउँदै आएका लेखक जीवन प्रसाईं नयाँ पुस्तक लिएर आउन लागेका छन् । उनको नयाँ पुस्तक वरिपरि नै सर्वोपरि पब्लिकेशन्स नेपालयबाट छिट्टै सार्वजनिक हुन लागेको हो ।

संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा कार्यरत लेखक प्रसाईले यसअघि ‘जीवन जिउने काइदा’ र ‘सधैं तन्नेरी’ पुस्तक लेखेका छन् । उनको नयाँ पुस्तकमा ‘वरिपरि नै सर्वोपरि’, ‘प्राणवायु अक्सिजन’, ‘ताजा हावा’, ‘पानीसँग बग्छ जीवन’, ‘हरियो जगत्’, ‘संस्कृतिमा वनस्पति’, ‘जङ्गलमा मङ्गल’, ‘जोगाऔँ हरियाली’, ‘गुणकारीलाई चिनौँ’, ‘बारीमा औषधि’, ‘आआफ्नो भोजन’, ‘बदलिँदो खाने संस्कृति’, ‘भोजनको भूमण्डलीकरण’, ‘खाद्यपदार्थको बजार’ जस्ता शीर्षक र उपशीर्षकमा बेग्लाबेग्लै अध्ययन अनुसन्धानमा आधारित लेखकका भनाइहरु समेटिएका छन् ।

हाम्रा वरिपरि प्रकृतिमै के कस्ता कुराहरु छन् र त्यसले हामीलाई के लाभ मिलिरहेको छ भन्ने बयान गर्नुका साथै त्यस्ता कुरा लोप हुनबाट जोगाउनु पर्ने तर्कहरु पुस्तकमा गरिएका छन् । यिनको बेलैमा संरक्षण गरिएन भने आउँदो पुस्तालाई हामीले कस्तो संसार छाडेर जानेछौं भन्दै लेखक प्रसाईले सतर्क पनि गराएका छन् ।

गुन्द्रुक जस्ता खानेकुराको बयान गर्दै उनी भन्छन्, ‘फर्मेन्टेसनबाट खानेकुरा लामो समयसम्म खान योग्य हुने अनि स्वाद र पोषक तत्वहरू पनि थपिने भएकाले यस्ता खानेकुरा प्राचीनकाल देखि लोकप्रिय भएका हुन् ।’

प्रसाईले आफ्नो अनुसन्धानबाट फेला पारेका कुराहरु पनि पुस्तकमा उल्लेख गरेको बताएका छन् । ‘मेरा अघिल्ला पुस्तकहरु जीवनशैली र खानपिनमा मात्र केन्द्रित थियो,’ लेखक प्रसाई भन्छन्, ‘यसपटक भने हामी जस्तो वातावरणले घेरिन्छौं त्यस्तै हुन्छौं भन्ने व्यापक अर्थमा मानव जीवनलाई जोड्ने कोशिश गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?