
५, जेठ, चितवन । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको स्मृतिमा पश्चिम चितवनको गाँजीपुरमा निशुल्क स्वास्थ्य शिविरमा १६० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । गाँजीपुरमा मदन भण्डारीको शव आजकै दिन भेटिएको थियो ।
मदन भण्डारी फाउण्डेशन चितवन, मदन भण्डारी स्मृति पार्क समिति गाँजीपुरको आयोजना तथा चितवन भ्याली मोडल अस्पताल प्रालिको सहयोगमा गरिएको स्वास्थ्य शिविरमा मोडल हस्पिटलका वरिष्ठ कन्सल्टेन्ट एवम् हाडजोर्नी तथा स्पाइन रोड विशेष डाक्टर निराजन सुवेदी, फिजिसियन डाक्टर प्रमोदकुमार दासलगायत ६ जना स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
सो शिविरमा हाडजोर्नी, नशा, वाथ रोग, स्पाइन चेकजाँचका साथै जनरल स्वास्थ्य चेकजाँच गरिएको छ । शिविरमा स्त्री रोग सम्बन्धी चेकजाँच समेत गरिएको थियो । निशुल्क सुगर परीक्षण र मानसिक रोगीलाई परामर्श समेत प्रदान गरिएको डा. निराजन सुवेदीले जानकारी दिए ।
सो कार्यक्रममा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी वरिष्ठ नर्स अयोध्या पाठकले महिलाहरुलाई पाठेघर र स्तन क्यान्सरको बारेमा प्रशिक्षणसमेत दिएकी थिइन् ।
शिविरमा प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले अन्य जिल्लालाई भन्दा चितवनलाई विकास निर्माणका लागि धेरै बजेट विनियोजन गर्ने उल्लेख गरे । ढुंगेलले मदन भण्डारीको शव भेटिएको चितवन ऐतिहासिक भूमि भएको बताए ।
प्रतिक्रिया 4