Comments Add Comment

स्टारको स्टारडमः ‘मिडियामा कि हलमा ?’

माथि उल्लेखित शिर्षकको बिषयमा केही लेख्नु अगाडि एकैछिन केही बर्ष अगाडि फर्किन आवश्यक छ । चलचित्र ‘खलनायक’को समयमा निर्माता रोज राणाले नायक राजेश हमालको टाउको मात्र राखेर ठूलो पोष्टर बनाए र हमाललाई क्लाइमेक्समा देखाए । हमालको त्यही टाउकोले कमाल गर्यो, दर्शक हलसम्म उर्लिए ।

राजेश हमालको प्रसंग यहाँ उल्लेख गर्नुको कारण हो, राजेश हमाल हलमा दर्शक तान्ने खुबी राख्थे । चलचित्र जस्तोसुकै होस्, चलचित्रमा राजेश हमाल भएपछि दर्शकको भीड लामो समयसम्म लाग्ने गथ्र्यो । त्यो एउटा यूग थियो ।
तर, अहिले यूग बदलिएको छ । यूग पनि यसरी बदलिदियो कि हलमा भन्दा युटुबमा आउने भ्यूजका आधारमा आफूले आफूलाई स्टार ठान्नेहरु बढेका छन् । २–४ सय क्रेजी कमेन्टको आधारमा आफूलाई स्टार भएको महशुश गर्ने कलाकारको संख्या ह्वात्तै बढेको छ । सामाजिक संजालमा लाइक र फलो गर्नेहरुको आधारमा सुपरस्टार त झनै बढी छन् ।

यसैले, हिजोआज नेपालमा सामाजिक संजाल स्टारहरुको बीगबीगी बढेको छ । जसको फलोअर्स फेसबुक, इन्स्टाग्राममा लाखौ छन्, तर हलमा दश लाख ग्रस गर्न तीनै कलाकारलाई फलामको चिउरा चपाए जस्तो हुँदैछ ।

गएको साता नायक पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘वीर विक्रम २’ रिलिज भयो । यो चलचित्रको व्यापार निर्देशक मिलन चाम्सले नै सोचे जस्तो भएन । उनी, नायक पल शाहलाई भित्राउँदै गर्दा जती खुशी थिए, चलचित्र चलेपछि अनुहारमा त्यो खुशी झल्किएको छैन ।

मिलनले बाहिर जे जस्तो कुरा भने पनि भित्रीरुपमा उनी चलचित्रको व्यापारबाट खुशी छैनन् नै । पल शाह १३ महिनापछि हलमा आउँदा पनि मल्टिप्लेक्सका ढोकामा दर्शकको लाइन कमजोर बन्यो । सिंगल हलमा बाहिर भीड ठूलो भए पनि हल भित्र मान्छे कती थिए भन्ने निर्देशक चाम्सलाई र वितरकलाई नै थाहा होला ।

एकैछिन, बलिउडलाई हेरौ । गतबर्ष ट्विटरमा झन्डै ४ करोड फलोअर्स भएका नायक साहरुख खानको चलचित्र ‘जिरो’ले कमजोर कलेक्शन गर्दा इन्स्टाग्राममा ३५ लाख फलोअर्स भएका विक्की कौशलको चलचित्र ‘उरी’ले साढे २ सय करोड कमाएको विर्सन हुँदैन । यसको अर्थ, सामाजिक संजालमा स्टार भएर मात्र हलमा दर्शक आउँदैनन् भन्ने नै हो । अहिलेका दर्शकले कलाकारको अनुहार भन्दा कथा वाचनलाई हेर्न थालेका छन् । ‘जात्रै जात्रा’ले पहिलो साता भन्दा दोश्रो सातामा झनै राम्रो कमाई गर्नु यसको उदाहरण हो ।

गतबर्ष नै नायक प्रदिप खड्काले अभिनय गरेका २ चलचित्र डुबे । प्रदिप अभिनित ‘रोज र लभ स्टेशन’को असफलताले उनले लिदै आएको ३०–४० लाख पारिश्रमिक, विभिन्न देशको राइट्स लगायतलाई नै गिज्जायो । प्रदिपले शुक्रबार र शनिबार नै दर्शकलाई हलसम्म तान्न सकेनन् । उनी अहिले ‘प्रेमगीत ३’माथि निर्भर छन् ।

नाम लिने हो भने अहिलेका स्टार कलाकारमा अनमोल केसी, प्रदिप खड्का, पल शाह, सलिनमान बनियाँ, साम्राज्ञीराज्यलक्ष्मी शाह, पूजा शर्मा लाई भन्ने गरिन्छ । गतबर्ष नायक अनमोल केसीले अभिनय गरेको चलचित्र ‘क्याप्टेन’को इनिसियल व्यापार कमजोर बन्यो । अनमोललाई ५० लाखसम्म पारिश्रमिक दिन तयार हुने निर्माता झस्किए ।

‘क्याप्टेन’को व्यापार कमजोर हुँदा चलचित्र नै बनाउन निर्माता झस्किएको चर्चा पनि चल्यो । तर, ‘ए मेरो हजुर ३’ सुपरहिट हुँदा अनमोल केसीलाई ठूलो फाइदा मिलेको छ । अनमोलले हलमा स्टारडम देखाउन अझै उनको चलचित्र निरन्तर चल्न आवश्यक छ ।

अनमोलले अनुहार मात्र होइन, कथावाचन र अभिनयमा पनि ध्यान दिएनन् भने उनलाई लामो रेशको घोडा बन्न समस्या पर्न सक्छ । नायक सलिनमान बनियाँलाई पहिलो चलचित्र खेल्ने वित्तिकै स्टारको दर्जा दिइयो । सलिनमानको ‘यात्रा’को इनिसियल व्यापारले उनलाई अझै यो ट्याग पाउन संघर्ष गर्नुपर्ने देखाएको छ ।

चलचित्र क्षेत्र भ्रम नै भ्रममा बाँचेको छ । यो भ्रममा हाम्रा देशका कलाकार पनि बाँच्न थालेका छन् । स्टार हुने वित्तिकै अभिनय नै गर्न नपर्ने, पर्दामा जे गरिदिए पनि दर्शक आउँछन् भन्ने भ्रम त अझै ठूलो छ । यही भ्रमले नै हो कलाकारले दर्शकको विश्वसनियता गुमाउन थालेका छन् । जुन, हलमा चलचित्रले गर्ने व्यापारमा पनि देखिन थालेको छ ।

हो, चलचित्र क्षेत्रका लागि स्टार आवश्यक छ । स्टार विना चलचित्र क्षेत्र नै सकिन्छ भनेर बलिउडका चर्चित कलाकार नवाजुद्दिन सिद्दिकीले भनेको वाक्य यहाँ सापटी लिन सकिन्छ । तर, स्टार मिडिया र सामाजिक संजालका लागि मात्र कि हलका लागि पनि ? यो प्रश्न चलचित्र क्षेत्रका धेरै मानिसले सोच्न थालेका छन् । चर्को पारिश्रमिक माग्दैमा, २–४ सय क्रेजी प्रतिक्रिया युटुबमा आउँदैमा स्टारडम चम्किदैन । यसका लागि, दर्शकले पत्याउनुपर्छ, टिकट काटेर हलसम्म पुग्नपर्छ । यसको नै खडेरी लाग्यो भने स्टारको स्टारडमा मिडियामा मात्र देखिन्छ, हलमा त शुन्य शुन्य ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment