
१७ जेठ, काठमाडौं । नेपाल र चीन सरकारबीच हवाई सेवा सम्झौता पुनरावलोकन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सम्झौता पुनरावलोकन गर्न आगामी साउन ७ र ८ गते चीनको राजधानी बेइजिङमा वार्ता हुँदैछ ।
बेइजिङ वार्ताबाट सन् २०१४ मा भएको पछिल्लो सम्झौतालाई संशोधन गरिने मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । सन् २०१४ मा नेपाल र चीनबीच सातामा ५६/५६ उडान गर्न सकिने गरी सम्झौता भएको थियो । यो सहमतिबाट बढाएर सातामा ७० उडान पुर्याइएको छ ।
अहिले चीनबाट नेपालमा साताको ५६ वटै उडान हुन्छ । तर, नेपाली कम्पनीलाई भने चीनले सहज वातावरण बनाउन सकेको छैन । सम्झौता अनुसार दुबै मुलुकका वायुसेवा कम्पनीले समान संख्यामा उडान गर्न पाउँछन् ।
अब नेपाल र चीनबीच उडानका लागि निश्चित विमानस्थल नतोकी वायुसेवा कम्पनीहरु जुनसुकै विमानस्थलमा जानसक्ने गरी सम्झौताको तयारी गरिएको छ । सहसचिव आचार्यका अनुसार नयाँ सम्झौतापछि चीनका वायुसेवा कम्पनी काठमाडौंपछि निर्माणाधीन गौतमबुद्ध र पोखरा विमानस्थलमा जान सक्नेछन् ।
‘हामीलाई त साताको ७० उडानले पुग्छ, तर चिनियाँहरु अझै फ्रिक्वेन्सी बढाउनु पर्ने माग गरिरहेका छन्,’ सहसचिव आचार्य भन्छन्, ‘यदि थप उडान गर्ने हो भने उनीहरु अब भैरहवा वा पोखरा जानुपर्छ ।’ नेपालले हवाई सेवा पुनरावलोकन गर्दा भैरहवा र पोखरालाई पनि थप गर्न शुरु गरिसकेको छ ।
काठमाडौंमा भने त्रिभुवन विमानस्थलको अधिक चापका कारण नयाँ वायुसेवा कम्पनीलाई स्लट (उडान–अवतरण गर्न समय) उपलब्ध गराउन मुस्किल रहेको मन्त्रालयको भनाई छ । अहिले चीनबाट ५ वटा वायुसेवा कम्पनीले नेपालमा उडान गरिरहेका छन् । चीनबाट एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्स नेपाल आउँछन् । नेपालबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स चीन जान चाहे पनि व्यस्त विमानस्थलहरुले स्लट दिन नसक्दा उडान हुन सकिरहेको छैन ।
नयाँ सम्झौतापछि नयाँ शहरहरुमा उडानको ढोका खोल्ने र त्यसबाट नेपाली वायुसेवा कम्पनीहरुको चीन उडान पनि सहज हुने मन्त्रालयको भनाई छ । सहसचिव आचार्यका अनुसार हिमालय एयरलाइन्सले चीनको हवाई सेवा सम्झौता पुनरावलोकन भए उडान बिस्तार गर्न सकिने बताउँदै आएको छ । चीनका स्थापित वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकिने भएकाले हिमालयले नयाँ गन्तब्यमा जाने बाटो खोलिदिन आग्रह गर्दै आएको छ ।
नेपाल र चीनबीच भएको पछिल्लो सम्झौताअनुसार चीनबाट नेपालमा काठमाडौं विमानस्थलमा मात्र जहाज आउन पाउँछन् । चीनमा भने बेइजिङ, सांघाई, ल्हासा, ग्वाङझाउ, कुनमिङ, छेन्दु र सीयान गरी सात शहरमा नेपाली बिमान उड्न सक्छन् । तर, यी शहरमा रहेका विमानस्थलले स्लट उपलब्ध नगराउँदा नेपालबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स चीन जान सकिरहेका छैनन् । मन्त्रालयका अनुसार बेइजिङमा भने नेवानिले छिट्टै उडान अनुमति पाउने संकेत चीनले दिएको छ ।
प्रतिक्रिया 4