Comments Add Comment

प्रधानमन्त्री कप : पुलिस समूह ‘बी’ को विजेता

१९ जेठ, काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

टियु (कीर्तिपुर) क्रिकेट मैदानमा आइतबार भएको समूहको अन्तिम खेलमा पुलिसले प्रदेश दुईलाई १५६ रनले पराजित गर्दै समूह ‘बी’ को विजेता बनेको हो । २५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको प्रदेश दुईले २९ ओभरमा सबै विकेटको क्षतिमा ९७ रन मात्रै बनाउन सक्यो ।

प्रदेश दुईका लागि हरिशंकर शाहले २९ र कप्तान मेहबुब आलमले २१ रन बनाए । बलिङतर्फ दिपेन्द्रसिंह ऐरीले पाँच विकेट लिए । उनले १० ओभर बलिङ गर्दै एक ओभर मेडन राखेर २८ रन खर्चिदै पाँच विकेट लिएका थिए । त्यस्तै, ललितनारायण राजवंशीले तीन विकेट लिए ।

टस जितेर पहिले ब्याटिङगरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५३ रन बनाएको छ । अमित श्रेष्ठले ५०, सुनिल धमलाले ४३, अनिल कुमार शाहले ३७, कुशल भुर्तेलले ३५ र आरिफ शेखले ३२ रन बनाए ।

बलिङतर्फ सामसद शेखले चार र राशिद खानले दुई विकेट लिए ।

जितसँगै पुलिस समूह ‘बी’ को विजेता बनेको हो । पुलिसले चार खेलमा चारै खेल जित हात पार्दै ८ अंक बनायो । त्यस्तै, यही समूहबाट आर्मी क्लब पनि सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको हो । यो समूहबाट प्रदेश एक, प्रदेश दुई र कर्णाली प्रदेश भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment