Comments Add Comment

‘भावी प्रधानन्यायाधीश’माथि आचारसंहिताको पासो

२३ जेठ, काठमाडौं । आफैं कानुनी सल्लाहकार बनेर अनेकौं बहस गरिसकेको संस्थाको मुद्दामा दिएको अन्तरिम आदेशका कारण सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत विवादमा परेका छन् । राउतले नेपाल रेडक्रस सोसाइटीका निवर्तमान अध्यक्ष सञ्जीव थापाको पुनर्वहालीका लागि अन्तरिम आदेश दिएपछि उनी विवादमा परेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले आफू नेतृत्वको कार्य समितिलाई अवैधानिक र करोडौं भ्रष्टाचारको आरोप लगाउँदै बर्खास्त गरेर तदर्थ समिति बनाएपछि थापा पुनर्वहालीको माग गर्दै अदालत पुगेका थिए ।

उनको रिटमाथि सुनुवाइ राउतको बेञ्चमा पारिएपछि एकजना कानुन व्यवसायीले उनले सो मुद्दा हेर्न नमिल्ने जिकिरसहित लिखित निवेदन दिए ।

मंगलवारको इजलासमै राउत रेडक्रसको कानुनी सल्लाहकार भइसकेको र थापासँग पारिवारिक नातासमेत रहेकाले मुद्दा हेर्न नमिल्ने भनेर लिखित निवेदन परे पनि राउतले सो मुद्दामा अन्तरिम आदेश दिएका हुन् । उनले थापा नेतृत्वको कार्य समितिलाई अर्को निर्णय नआउँदासम्म यथावत काम गर्न दिनू भन्ने आदेश जारी गरेका छन् ।

न्यायाधीश आचारसंहिताविपरीत राउतले आफ्नो स्वार्थ जोडिएको संस्थाको मुद्दामा आदेश दिएपछि सर्वोच्चमा खैलाबैला मच्चिएको छ । आचारसंहिता अनुसार आफू विगतमा कानुनी सल्लाहकार रहेको वा आवद्ध रहेको तथा स्वार्थ जोडिएको संस्थासँग सम्बन्धित मुद्दा हेर्न पाइँदैन । यदि त्यस्तो मुद्दा आफ्नो बेञ्चमा पारिएमा न्यायाधीशले ‘हेर्न सक्दिनँ’ भनेर जानकारी गराउनुपर्ने प्रावधान रहेको एक न्यायाधीशले बताए ।

सर्वोच्च अदालत स्रोत भन्छ– आफ्नो स्वार्थ बाझिएको मुद्दा हेर्नु न्यायाधीशको आचारसंहिताले गम्भीर न्यायिक विचलन मानिन्छ । राउत श्रीमानले यो कुरा किन याद गर्नुभएन अचम्म लागेको छ ।

राउतले भने इजलासमा लिखित आपत्ति आउँदा समेत हतार हतार रेडक्रसको मुद्दामा अन्तरिम आदेश दिएपछि यो विषय प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरासम्मको जानकारीमा पुर्‍याइएको स्रोतले जनाएको छ । पुनर्वहालीको आदेश लिन सफल भएका थापा र न्यायाधीश राउत उदयपुर एकै ठाउँका पारिवारिक नातेदारसमेत रहेको स्रोतले जनाएको छ ।

भावी प्रधानन्यायाधीशको लाइनमा रहेका राउतले आचारसंहिता बिर्सिएपछि सर्वोच्च प्रशासन समेत अप्ठेरोमा परेको छ । राउत अहिलेको रोलक्रम अनुसार ०८१ साल असोज २० देखि ०८२ चैत १७ सम्म प्रधान न्यायाधीश हुनेछन् । उनीमाथि यसअघि पत्नी ललिताले घरेलु हिंसा गरेको भन्दै उजुरी दिएकी थिइन् । तर, राउतको दबावमा उल्टै आफूलाई थुनाइएको गुनासो ललिताको थियो ।

के हो रेडक्रसको विवाद ?

नेपाल रेडक्रस सोसाइटीमा करोडौं भ्रष्टाचार र अनियमितता भएको उजुरीमाथि अख्तियार लगायत विभिन्न निकायमा छानविन भइरहेको छ । २५ वर्षदेखि सञ्जीव थापा र देवरत्न धाख्वाले संस्थामा एकाधिकार जमाउँदै सामाजिक काममा आउने करोडौं रुपैयाँ हिनामिना गरेको आरोप जिल्ला प्रशासन कार्यालयले समेत लगाइसकेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही जेठ ६ गते मौजुदा कार्य समिति अवैधरुपमा क्रियाशील रहेको र भ्रष्टाचार मुद्दा चलिरहेको भन्दै भंग गरेर १७ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । जेठ ८ गतेदेखि प्राध्यापक डा.विश्वकेशर मास्के अध्यक्ष र कमल निरौला महासचिव रहेको कार्य समितिले काम शुरु गरेको थियो ।

सो निर्णयविरुद्ध थापा समूह अदालतमा पुगेको थियो । सो मुद्दा राउतकै इजलासमा परेपछि उनलाई उनको विगतको आवद्धता र सञ्जीव थापासँगको नाता सम्झाउँदो सो मुद्दा नहेर्न केहीले सुझाव दिएका थिए । इजलास सहायकले सोसम्बन्धी लिखित जानकारीसमेत उनलाई देखाएका थिए ।

नेपाल रेडक्रस सचिवालयले बिगतमा राउत कानुनी सल्लाहकार रहेको पुष्टि गरेको छ । उनले रेडक्रसका धेरै मुद्दाहरुमा बहस गरेको रेडक्रस अधिकारीहरुले बताएका छन् । राउतको इजलासमा थापाको मुद्दा परेपछि उनको पुनर्वहाली हुने अनुमान पहिले नै भइसकेको थियो । सरकारी वकिलले समेत सो जानकारी सर्वोच्च प्रशासनलाई गराएको स्रोतले जनाएको छ ।

थापा र धाख्वामाथि एउटै साधारणसभाका दुई माइन्युट बनाएर करोडौं अनियमितता गरेको, भूकम्पका बेला राहतमा भ्रष्टाचार गरेको लगायतका दर्जनौं मुद्दामा अख्तियारले फाइल लगेर छानविन गरिरहेको छ । थापा १२ वर्षदेखि अध्यक्ष छन् भने यसअघि १२ वर्ष लगातार कोषाध्यक्ष थिए । धाख्वा २५ वर्षदेखि लगातार महासचिव छन् ।

नेपाल रेडक्रस सोसाइटीका प्रवक्ता दिव्यराज पौडेलले भने रेडक्रससम्बन्धी ऐन नहुँदा संस्था सधैं विवादमा परेको बताए । ५६ वर्षदेखि रेडक्रस ऐनविना सञ्चालित छ । पछिल्लो तदर्थ समितिले ऐनको मस्यौदा अन्तर्राष्ट्रिय रेडक्रसको मापदण्डअनुरुप बनाइरहेका बेला अदालतको आदेशबाट पुरानै कार्य समिति वहाल भएपछि पुनः अन्यौल भएको छ ।

यसैबीच न्यायाधीश राउत निकट स्रोतले भने इजलासमा कुनै कानून व्यवसायीले लिखित वा मौखिक उजुरी नगरेको तथा राउत रेडक्रसमा कानुनी सल्लाहकार नरहेको दावी गरेको छ ।

कुनै बेला रेडक्रसको मुद्दामा कानून व्यवसायीको हैसियतले वकालत गरे पनि नियुक्ति लिएर काम नगरेको दावी राउत निकट स्रोतको छ । सन्जिव थापा उदयपुरको भए पनि राउतको नाता नपर्ने उनका सहयोगीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment