+
+

संघीयता असफल बनाउन अनर्गल प्रचार भइरहेको छ : मुख्यमन्त्री शाही

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १ गते १२:३५

१ असार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनतामा निराशा पैदा गर्न र संघीयतालाई असफल पार्न अनर्गल प्रचारवाजी भइरहेको बताएका छन् ।

आइतबार वीरेन्द्रगरमा सिभिल वैंकको कर्णाली  प्रदेश कार्यालय र सुर्खेत शाखाको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले संघीय व्यवस्थाले मात्र देशको सन्तुलित विकास हुने दावी गर्दै संघीयता नै ठीक छैन भन्ने जनमत निर्माण गर्ने उद्धेश्यले गरिएका अनर्गल प्रचारवाजीविरुद्ध सचेत हुनुपर्ने बताए ।

मुलुकमा कानुनी शासन रहेको बताउँदै सरकारमा बस्नेहरुले भ्रष्ट्राचार गरेको पाइएमा कानून बमोजिम दण्ड हुने बताउँदै मुख्यमन्त्री शाहीले सरकार सुशासन कायम गर्न प्रतिवद्ध रहेको प्रष्ट पारे ।

संसारका थुप्रै देशका शक्तिशाली प्रधानमन्त्री, राष्ट्रपतिले पनि दण्ड पाएको उदाहरण दिदै मुख्यमन्त्री शाहीले नेपालमा पनि कानुनी राज्य भएको र गैरकानुनी काम गर्ने जो कोहीले पनि गल्ती अनुसारको सजाय भोग्ने बताए । संघीयता बिरोधी समूहहरुले फैलाएजस्तो अहिलेको सरकारले कुनै पनि जनबिरोधी काम नगरेको  उनको दावी छ ।

सम्भावनै सम्भावनाहरुको खानी रहेको कर्णालीमा आर्थिक विकासको लागि वित्तीय संस्थाहरुको महत्वपूर्ण भूमिका हुने बताउँदै मुख्यमन्त्री शाहीले उत्पादनमुलक र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बैंकहरुले लगानी गर्नुपर्ने बताए । उनले साना तथा स्वरोजगारमुलक व्यवसायमा पनि लगानी बढाउन आग्रह गरे ।

मुख्यमन्त्री शाहीले बैंकहरु नाफामुखी मात्रै भएको भन्ने जनगुणासोलाई पनि बैंकहरुले ख्याल गर्नुपर्ने बताए । व्यवसायीको लगानी डुव्न नदिन उपभोगमा स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले लगानी सुरक्षाको वातावरण वनाउन प्रदेश सरकार तयार रहेको  बताए ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश साँसद ठम्मर विष्ट, पदमवहादुर रोकाय र नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले बैंकको सफलताको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?