Comments Add Comment

१९ प्रतिशतले बढ्यो ब्यापार घाटा, १० महिनामै ११ खर्ब

भारतमा निर्यात बढ्यो, चीनमा घट्यो

४ असार, काठमाडौं । पछिल्लो १० महिनामा नेपालको वैदेशिक व्यापार तीव्र रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो अवधिमा व्यापार घाटा १९.७ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७५/७६ को दश महिनामा कुल वस्तु व्यापार घाटा १० खर्ब ९९ अर्ब ६० करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.७ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.८ प्रतिशत रहेको थियो ।

दश महिनामा कुल वस्तु आयात १९.६ प्रतिशतले बढेर ११ खर्ब ७८ अर्ब १४ करोड पुगेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१.८ प्रतिशतले बढेको थियो । यस अवधिमा कुल वस्तु निर्यात पनि १८.१ प्रतिशतले वृद्धि भई रु.७८ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ ३१.९ प्रतिशत र अन्य मुलुकतर्फ २.३ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फ भने २९ प्रतिशतले निर्यातमा कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जुटका सामान, जस्तापाता, ऊनी गलैंचा, जडीबुटी लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, जुत्ता तथा चप्पल, छाला, तयारी पोशाक, पश्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १७.२ प्रतिशत, चीनबाट भएको आयात ३३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.८ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ । सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात घटेको छ ।

निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेक अन्य मुख्य भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने सबै नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ ।

यो पनि पढ्नुहोस् : 

१० महिनामा भित्रियो ७ खर्ब २५ अर्ब रेमिट्यान्स

विदेशी विनिमय सञ्चिती ४२ अर्बले घट्यो, राष्ट्र बैंकको ढुकुटीमा ९ खर्ब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment