+
+
Shares
पारमाणविक विधेयकमाथि प्रश्न :

‘आणविक होडबाजी र इन्डो प्यासिफिकलाई ख्याल गरौं’

सुरुवातमै पारमाणविक पदार्थको प्रयोगमा निजी क्षेत्रको संलग्नता हुनुहुन्न

योगेश भट्टराई, सांसद योगेश भट्टराई, सांसद
२०७६ असार ५ गते १५:२९

पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोगसम्बन्धी विषयमा संसदभित्र हामी पहिलोपटक छलफल गरिरहेका छौं । यो विधेयक सरकारले जुन ढङ्गले ल्याएको छ, यसमा केही सकारात्मक पक्ष पनि छन् । नेपालले आफूलाई सबल र सुदृढ राष्ट्रमा विकास गर्दैछ र टेक्नोलोजीमा नेपालले आफ्नो पहुँच राख्न सक्छ भन्नका लागि यो विधेयक आएको छ ।

यसले नेपालका स्थापित नीतिहरु, जसले नेपाल आजसम्म विश्वको शक्तिको प्रतिस्पर्धामा जोडिएको छैनन् । त्यसमा कुनै नकारात्मक असर पर्छ कि भन्ने सन्दर्भमा ध्यान दिनुपर्छ ।

नेपालले आफ्नो केही अपरिवर्तनीय मान्यताहरुलाई स्थापित गर्दै आएको छ । परराष्ट्र सम्बन्धमा, अन्तर्राष्ट्रिय सम्बन्धमा हामी असंलग्न राष्ट्रका संस्थापक पनि हौं । पञ्चशीलको सिद्धान्त र असंलग्नताको सिद्धान्त, अहस्तक्षेपको सिद्धान्त, हाम्रा स्थापित सिद्धान्तहरु हुन् । यो विधेयकले त्यसलाई कतै, कुनै कुनाबाट छुन्छ कि भन्ने कुरालाई ध्यान दिएर हेर्नुपर्छ ।

आणविक होडबाजीलाई ख्याल गरौं

हामी कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा छैनौं । यो कुरा बारम्बार नेपालले स्पष्ट गरेको छ । विगतमा शीतयुद्धकालीन अवस्थामा अन्तर्राष्ट्रिय सैन्य गठबन्धनहरु, जसले सिंगो यो वा त्यो कित्तामा विश्वलाई विभाजित गरिदियो । त्यस्तो अवस्थामा पनि हामीले कतै नउभिएर अन्तर्राष्ट्रिय नीतिलाई स्थापित गर्दै आएका छौं ।

नेपाल आजसम्म कसैको सैन्य गठबन्धनमा छैन र पछि पनि हुँदैन । यो विधेयकले कतै हामीलाई त्यतातिर लाने खतरा हुन्छ कि ? आज बहुचर्चित इन्डो प्यासिफिक हाम्रो अगाडि चर्चामा छ । यसले थप संशय पैदा गर्छ कि ? इन्डो प्यासिफिक पनि द्रुत गतिमा दौडँदै आइरहेको र हामीले यो विधेयक संसदमा ल्याउनु, यसको काहीँ सम्बन्ध त म देख्दिनँ । तर, कुनै न कुनै बुँदामा यस्ता मनसायहरु छन् भने पनि त्यो प्रष्ट हुनुपर्छ ।

स्मणीय के छ भने विगतमा इराकमाथिको हस्तक्षेप, अफगानिस्तानमा भएको युद्धका बेला पनि नेपालको भूमिमा एउटा फ्युल हाल्न देऊ भन्ने प्रस्ताव गरेको थियो । हामीले त्यसलाई अस्वीकार गर्‍यौं । यस्ता अन्य प्रस्तावहरु नेपालमा आएका थिए । दुनियाँमा आणविक होड चलिराखेको छ । त्यसबाट हामी जोगिनुपर्छ ।

प्राकृतिक स्रोतहरुको सदुपयोग गर्नुपर्छ । तर, सैन्य गठबन्धनहरुबाट हामी अलग रहनुपर्छ । भारत पाकिस्तानका द्वन्द्वहरु हामीले देखिरहेका छौं । ठुल्ठूला अन्तर्राष्ट्रिय सैन्य अखडाहरु चाहे जापानी भुभागमा होस्, चाहे कोरियाको महाद्वीपमा होस्, हामीले देखेका छौं । यस्ता  ऐन कानुन बनाउँदा ख्याल गर्नुपर्छ ।

सुरुवातमै निजी क्षेत्रको संलग्नता हुनुहुन्न

विधेयकको कतिपय ठाउँमा अनुन्धान केन्द्र खेल्न सक्ने, प्रशोधन गर्न सक्ने कुराहरुमा निजी क्षेत्र पनि संलग्न हुन सक्ने कुराहरु आएका छन् । हामी पहिलो पटक यो कानुन निर्माण गर्दै छौं भने अहिले नै निजी क्षेत्रलाई संलग्न गराउने तहमा लानु उपयुक्त हुँदैन ।

ठूला शक्ति राष्ट्रहरुले पनि आणविक भट्टीहरुको प्रयोग मूलतः राज्यको नियन्त्रणमा राखेको हामीलाई थाहा छ । त्यसो भएको हुनाले हामीले पनि राज्यको पूर्ण स्वामित्वमा प्राधिकरणहरु बनाएर यसको अध्ययन अनुसन्धान गर्न सक्छौं । नेपालको आर्थिक समृद्धिसँग यसलाई जोड्न सक्ने कुराहरुमा जान सकिन्छ । विश्वविद्यालयहरुलाई अनुसन्धानको सन्दर्भमा संलग्न गराउन सकिन्छ ।

यसबाट पछि राम्रो फाइदा लिन सक्ने गरी उपयोगी हुँदै गयो र यो आवश्यक छ भन्ने कुरा पुष्टि हुँदै गयो भने औचित्य र आवश्यकताका आधारमा निजी क्षेत्र पनि संलग्न हुने कुरालाई आपत्ति मान्नुपर्ने हुन्न । तर, प्रारम्भिककालमै निजी क्षेत्रलाई समेत संलग्न गर्ने कुराले पछि अनियन्त्रित हुने, नेपाल राष्ट्रमाथि गम्भीर खतरा उत्पन्न हुन सक्ने र हाम्रो सार्वभौमसत्ता, गोपनीयता जस्ता कुराहरुमा गम्भीर असर हुनेप्रति सचेत हुन आह्वान गर्दछु ।

साम्प्रदायिक द्वन्द्वको पक्षलाई ख्याल गरौं

पारमाणिक अध्ययन अनुसन्धान गर्ने विषयमा कुनै आपत्ति होइन । तर, एउटा जातिले अर्को जातिको नरसंहार गर्न रेडियोधर्मी पदार्थको प्रयोग गरिरहेका छन् । जातीय द्वन्द्व, धार्मिक, सांस्कृतिक द्वन्द्वमा अर्को सम्प्रदायको सम्पूर्णतालाई नाश गर्न पनि प्रयोग भइरहेको हामीले देखेका छौं ।

नेपाल विविधता भएको देश हो । यस्ता प्रयोग यस ढङ्गले नेपालमा नहोस् भन्नेमा ख्याल गर्नुपर्छ । समग्रमा देशभित्र रहेको सांस्कृतिक एकता र जातीय सांस्कृतिक द्वन्द्वमा यस्ता पदार्थको प्रयोग नहोस भन्नेमा ख्याल गर्नुपर्छ ।

औषधिको सन्दर्भमा, कृषिको उत्पादकत्व बढाउने सन्दर्भमा यस्ता कुराहरुको प्रयोग हुन सक्छ । र, यसमा सीमित गर्नु ठीकै हुन्छ जस्तो लाग्छ ।

(बिहीबार सिंहदरबारमा शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सत्तारुढ दल नेकपाका सांसद योगेश भट्टराईले पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग सम्बन्धी विधेयक सम्बन्धी छलफलमा व्यक्त गरेको विचार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?