
५ असार, काठमाडौं । मजदुर आन्दोलनलाई देखाएर बन्द गरिएको हायात होटलको विवादले नयाँ रुप लिएको छ । समझदारी बिनै मजदुरले मंगलबार साँझ आन्दोलन फिर्ता लिएपनि अझै होटल खुलेको छैन ।
होटल व्यवस्थापनले ताला नखोलेको हो । बिहीबार मध्यान्नसम्म पनि होटलमा आएका पाहुनालाई याक एण्ड यतीमा सारिएको छ । होटल बन्द रहेकाले काममा फर्किएका मजदुरहरुले काम नपाएको स्रोतले अनलाइनखबरलाई बतायो ।
होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले होटल नखुलेको पुष्टि गरे । ‘सरसफाईको काम बाँकी रहेकाले होटल सञ्चालनमा नआएको हो’, उनले भने ।
तर, कहिलेदेखि होटल पूर्ण सञ्चालनमा आउँछ भन्ने यकित भन्न नसक्ने बताए ।
मजदुर आन्दोलनमा उत्रिएपछि होटल हायात ३० जेठबाट बन्द भएको थियो । ३ असारमा श्रम तथा रोजगार कार्यालय, काठमाडौंले आफ्नो मध्यस्थतामा वार्ता गर्न र काममा फर्कन दुबै पक्षलाई आग्रह गरेको थियो ।
त्यसअनुसार मजदुर काममा फर्किएका थिए । हायात अनियमितता विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन अन्तिम चरणमा पुगेको समय एक्कासी मजदुर आन्दोलन उठ्नु, सहमतिबिनै आन्दोलन फिर्ता लिनु र होटलमा लागेको ताला नखुल्नुलाई अर्थपूर्ण मानिएको छ ।
प्रतिक्रिया 4