+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गाउँपालिकाको नीति : भोटे कुकुर बचाउने, होटलका कोठा थप्ने !

विकास रोका मगर विकास रोका मगर
२०७६ असार ५ गते १९:४६

५ असार, पोखरा । भोटे प्रजातिको कुकुरको ठूलो टाउको र शरीर हुन्छ । अन्य कुकुरभन्दा यसलाई रिसाहा र शक्तिशाली कुकुरका रुपमा लिइन्छ । नेपाल, तिब्बत, भुटानलगायतका हिमाली क्षेत्रमा पाइने भोटे (टिबेटिएन म्यास्टिफ) जातको कुकुरलाई पुरानो प्रजातिको कुकुरका रुपमा पनि लिइन्छ ।

नेपालमा विदेशी कुकुर पाल्ने प्रचलन बढेसँगै भोटे कुकुर लोप हुँदै गएको सरोकारवाला बताउँछन् । लोप हुँदै गएको भोटे प्रजातिका कुकुर संरक्षण गर्न कास्कीको अन्नपूर्ण गाउँपालिकाले नीति तथा कार्यक्रम नै ल्याएको छ ।

गाउँपालिकाले बुधबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भोटे कुकुर संरक्षण गर्ने घोषणा गरेको हो । ‘भोटे कुकुरकोजस्तो शक्तिशाली अन्य कुकुर छैन । अहिले ती कुकुर हराउँदै जान थालेका छन्,’ गाउँपालिका अध्यक्ष युवराज कुँवरले भने, ‘अन्तर्राष्ट्रिय रुपमै लोकप्रिय भोटे कुकुरको लागत संरक्षण गर्ने गाउँपालिकाको नीति नै ल्याएका छौं ।’

अध्यक्ष कुँवरले गाउँपालिकाभित्र कति कुकुर छन् भन्नेबारे हाल गणना कार्य अघि बढाइएको जानकारी दिए । उनले भने, ‘आव ०७६/७७ का लागि भोटे कुकुर संरक्षण गर्ने नीति तथा कार्यक्रम लिएका छौं । ती कुकुरका अद्यावधिक लागतसमेत तयार पार्दैछौं ।’ कुँवरले भोटे कुकुरको संरक्षणले गाउँपालिकाको समेत थप प्रचारप्रचार हुने र आम्दानी हुने बताए ।

गाउँपालिकाले बुधबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अन्नपूर्ण आधार शिविरमा पर्यटकको बसाइ व्यवस्थित बनाउन २ हजार मिटरभन्दा बढी उचाइमा रहेका होटलका कोठा संख्या पनि बढाउने भएको छ । गण्डकी प्रदेश सरकारले सन् ०१९ लाई आन्तरिक पर्यटक वर्ष र सन् ०२० लाई छिमेकी आकर्षण पर्यटन वर्षका रुपमा मनाउने तयारीमा छ । प्रदेश सरकारको अभियानलाई सघाउन नै गाउँपालिकाका होटल कोठा संख्या बढाउन लागिएको अध्यक्ष कुँवरले बताए ।

‘हाम्रो गाउँपालिकाको मुख्य आकर्षण नै हिमालहरु हुन् । हिमशृंखला हेर्नै वर्षेनी लाखौं पर्यटक यहाँ आउँछन्,’ कुँवरले भने, ‘उनीहरुको बसाइँलाई व्यवस्थित गर्न सार्वजनिक जग्गामा रहेका लज तथा रेस्टुरेन्टमा निश्चित कोठा थप्ने भनेका छौं ।’ अन्नपूर्ण गाउँपालिकामा २ हजार मिटर उचाइभन्दा माथि करिब १ सय ५० होटल छन् । ती होटलमा बढीमा ६ वटामात्रै कोठा छन् ।

गत वर्ष अन्नपूर्ण आधार शिविरमा ३२ हजार विदेशी अन्पूर्ण बेस क्याम्प पुगेको पर्यटन व्यवसायी ललित गुरुङले जानकारी दिए । आधारशिविरमा हाल ४ वटा बास बस्न मिल्ने होटल भएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत समस्या पर्दै आएको उनको बुझाइ छ ।

‘एउटा विदेशी पर्यटकसँग एउटा गाइड त हुन्छ नै । नेपालीहरु धेरै समूहमा जान्छन् । जम्मा २४ वटा कोठा छन् । त्यसरी त उनीहरुको बसाइँमा समस्या पर्ने नै भयो,’ गुरुङले भने, ‘अहिले त झन् अस्ति परेको हिउँले ती सबै होटलहरु पूर्ण रुपमा भत्काइदियो ।’ उनले भत्किएका होटलका हाल जिर्णोद्धार भइरहेको र बर्खाभरिमा सक्ने जानकारी दिए ।

गाउँपालिकाले आउँदो आर्थिक वर्षदेखि विदेशी पर्यटकको गणना थाल्ने भएको छ । ‘अन्नपूर्ण ७ र ८ मा विदेशी पर्यटक गन्ने काम सुरु गर्नेछौं,’ कुँवरले भने, ‘उनीहरुबाट प्रति पर्यटक सय रुपैयाँ संकलन पनि गर्ने नीति लिएका छौं ।’ गाउँपालिकाले घान्द्रुक देउरालीबाट आउँदो आर्थिक वर्षदेखि प्याराग्लाइडिङ उडान अनुमतिसमेत दिने भएको छ ।

गाउँपालिकाले स्थानीय उत्पादन कोदोलाई प्रवर्द्धन गर्ने नीति लिएको छ । कोदो उत्पादन बढाउन गाउँपालिकाले नै अनुदान दिने र त्यसलाई गाउँपालिकाका होटल तथा रेस्टुरेन्टमा अनिवार्य मेनुमा राख्न लगाइने गाउँपालिका अध्यक्ष युवराज कुँवरले जनाए । ‘कोदो उत्पादन बढाउने र त्यसबाट गाउँपालिकालाई आत्मनिर्भर बनाउन कोदो महोत्सवको आयोजना पनि गर्नेछौं,’ उनले भने । गाउँपालिकाले परम्परागत खाद्य पदार्थ सिन्की र गुन्द्रुकलाई विदेशमा निर्यात गर्न वातावरण बनाउने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?