२४ असार, काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष बामदेव गौतमले भारतीय दूतावासको दबाबमा तरकारी तथा फलफूलको विषादी परीक्षण रोकिनु त्रुटिपूर्ण भएको बताएका छन् ।
किसान महासंघको मंगलबार बसेको स्थायी कमिटी बैठकपछि गौतमले विज्ञप्ति जारी गरी भारतबाट आयात हुने तरकारी तथा फलफूलहरुको विषादी परीक्षण गरेर मात्रै ल्याउनुपर्ने सरकारको निर्णय स्वागतयोग्य रहे पनि भारतीय दूतावासको पत्रपछि फिर्ता लिनु त्रुटिपूर्ण रहेको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ ‘आवश्यक अनुसन्धान तथा पूर्वतयारीको अभावमा गरिएको भए पनि नेपाल सरकारको सो निर्णय सही र नेपाली किसानहरु तथा आम उपभोक्ताको पक्षमा थियो । परन्तु भारतीय राजदूतावासले पत्राचार गरेलगत्तै नेपाल पछि हट्ने कार्य त्रुटिपूर्ण छ । यसबाट एकातिर आम नेपाली जनतामा नेपाल सरकार भारतसँग आत्मसमपर्ण गरेको भ्रम फैलन पुगेको छ ।’
भारतीय दूतावासले सो निर्णय रोक्नका लागि चुनौतीपूर्ण भाषा प्रयोग गर्दै गैरकुटनीतिक तरिकाले नेपाल सरकारलाई पत्राचार गरेको महासंघले जनाएको छ ।
गौतमले विगतमा किसान विरोधी नीतिहरु लाद्ने प्रतिपक्षी दल सडकमा उत्रने अवस्था सिर्जना भएको भन्दै कांग्रेसमाथि पनि प्रश्न उठाएका छन् । उनले भनेका छन् ‘नेपाली काँग्रेस लगायतका शक्तिहरु सरकारविरुद्ध सडकमा उत्रनु भारतीय राजदुतावासको पत्राचारको विरुद्धमा हो वा नेपाल सरकारले गरेको निर्णयका विरुद्ध हो, त्यो समेत प्रष्ट छैन । यसले जनतालाई थप भ्रम सिर्जना हुन पुगेको छ ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4