
३० असार, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि एक दर्जन आकांक्षी देखिएका छन् । सरकारले खुला प्रतिस्पर्धाबाट अध्यक्ष चयन गर्नका लागि सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो ।
सो समितिले गरेको विज्ञापनबमोजिम १२ जनाले प्राधिकरणको अध्यक्षका लागि आवेदन दिएको र उनीहरुको प्रस्तुति एवं अन्तर्वार्ताको प्रक्रियासमेत सकिएको मन्त्रालय स्रोतले जनाएको छ ।
आइतवारसम्म सबै प्रतिस्पर्धीको प्रस्तुति सकिएपछि अब प्राप्त अंकका आधारमा तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरिनेछ ।
प्राधिकरणको अध्यक्षका लागि हालका निमित्त अध्यक्ष पुरुषोत्तम खनालसहित १२ जनाले प्रतिस्पर्धा गरेका छन् । उदयपुर सिमेन्ट र जनक शिक्षा सामाग्री केन्द्रको महाप्रबन्धक रहिसकेका अनिलकुमार झा र नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य पनि प्रतिस्पर्धामा छन् ।
त्यस्तै नेपाल टेलिकमका पूर्व डीजीएम मधुसुदन कर्माचार्य, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की, कांग्रेस नेता गोविन्दराज जोशीका छोरा दीपकराज जोशी, एनसेलमा नेतृत्वदायी भूमिकामा रहिसकेका रोहित रौनियार र प्रकाश बराल पनि प्राधिकरणको अध्यक्षको प्रतिस्पर्धामा छन् ।
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि डा.नन्दविक्रम अधिकारी, गोविन्दप्रसाद दाहाल, डिल्लीप्रसाद चौधरी र देवनारायण यादव पनि प्रतिस्पर्धामा छन् ।
दिगम्बर झाले राजिनामा दिएपछि खाली रहेको प्राधिकरणको अध्यक्षमा सरकारले ६ महिनाका लागि प्राधिकरणकै खनाललाई निमित्त दिएको थियो ।
खनालको निमित्तको अवधि सकिएपछि सञ्चारमन्त्री गोकुल बास्कोटाको प्रस्तावमा सरकारले छनोट समिति गठन गरेको थियो ।
छनोट समितिले सिफारिस गर्ने ३ जनामध्ये एकलाई मन्त्रिपरिषदले प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ । दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणको अध्यक्षका लागि चलखेल हुने गरेकाले खुला प्रतिस्पर्धाबाट छनोट गर्न खोजिएको मन्त्री बास्कोटाले बताएका थिए ।
प्राधिकरणको अध्यक्ष कसलाई बनाउने भन्नेमा नेकपा अध्यक्ष प्रचण्डलेसमेत चासो दिएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया 4