+
+

नेकपा मसालमा विवाद : ‘वृद्ध’ देखि ‘श्रीमती’ सम्म !

मोहनविक्रमको प्रतिप्रश्न– ८५ वर्षमा महामन्त्री बन्न नपाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३० गते १५:२२

३० असार, काठमाडौं । नेपालका बरिष्ठ वामपन्थी नेता मोहनविक्रम सिंहले नेतृत्व गरेको पार्टीको नाम हो – नेकपा (मसाल) । चर्चित वामपन्थी नेता चित्रबहादुर केसी पनि यही पार्टीका नेता हुन् ।

महामन्त्री सिंहकी पत्नी दुर्गा पौडेल सो पार्टीको बैधानिक मोर्चा (राष्ट्रिय जनमोर्चा) का तर्फबाट एक मात्र प्रतिनिधिसभा सदस्य हुन् । उनी मसालको आधार क्षेत्र प्युठानबाट निर्वाचित बनेकी हुन् ।

प्रचण्डका समेत राजनीतिक गुरु मानिने मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा मसालले हालै भूमिगतरुपमा आफ्नो दलको आठौं महाधिवेशन सम्पन्न गर्‍यो । तर, सानो पार्टीको महाधिवेशन नसकिँदै आन्तरिक विवादहरु मिडियामा आए ।

सिंहले ८५ वर्षको उमेरमा पनि महामन्त्री पद नछाडेको र पार्टीभित्र नातावाद लादेको जस्ता आरोपहरु असन्तुष्ट पक्षले लगाए । साथै, पार्टी दक्षिणपन्थी बाटोमा अघि बढेको र अल्पमतलाई सिध्याउन कारवाहीहरु गरिएको जस्ता आरोपहरु पनि सो पार्टीभित्र लागे । महाधिवशेनकै मुखमा चर्चित जनवादी गायक जीवन शर्मालाई कारवाही गरेको समाचार पनि बाहिर आयो ।

यिनै आरोपहरुको खण्डन गर्ने प्रयास गर्दै महामन्त्री सिंहले सोमबार एउटा लेख लेखेका छन् । अनलाइनखबरलाई प्राप्त लेखमा वामपन्थी नेता सिंहले ८५ वर्षमा पनि आफू सक्रिय हुनु र महामन्त्री बन्नु गलत नभएको तर्क गरेका छन् ।

साथै उनले पार्टीभित्र नेताका पत्नी, छोरा, ज्वाइँ, सम्धी, ससुरा, मामा, भान्जा, बहिनी, छोरी, फुपू, दाजुभाइ आदिलाई प्रवेश गर्न प्रोत्साहित गर्नुपर्ने बताएका छन् ।

नेकपा मसालभित्रको आन्तरिक विवादबारे महामन्त्री सिंहले लेखेको लेखलाई शीर्षक परिवर्तनसहित यहाँ केही काटछाँटसहित सारांशका रुपमा प्रस्तुत गरिएको छ–

म ८५ वर्षमा महामन्त्री बन्न किन नपाउने ?

  • मोहनविक्रम सिंह

नेकपा (मसाल) को आठौं महाधिवेशन भइरहेका बेलामा वा त्यसपछि पनि विभिन्न पत्रपत्रिका वा सामाजिक सञ्जालहरूमा कैयौंं भ्रामक प्रचार गरिएका छन् । त्यसबारे प्रकाश पार्नका लागि यो लेख लेखिएको छ ।

पार्टीका विरूद्ध भ्रम फैलाउने जुन काम भइरहेको छ, पार्टी विरोधी, दुश्मनका एजेण्ट, पार्टीभित्रका घुसपैठिया जुनसुकै तरिकाले भए पनि पार्टीलाई ध्वस्त गर्न चाहने वा पार्टीप्रति द्वेष र शत्रुताको भाव राख्ने तत्वहरूद्वारा नै भइरहेको कुरा बुझ्न गाह्रो पर्दैन । नेकपा (मसाल) को आठौंं महाधिवेशनले यो स्वीकार गरेको छ कि अहिले पार्टीमा अनुशासनको अवस्था धेरै नै कमजोर छ । त्यो महाधिवेशनभन्दा पहिले, महाधिवेशनको बेलामा वा त्यसपछि पनि पार्टीभित्रबाट कैयौं गोप्य सूचनाहरूको चुहावट भएको कुराबाट प्रष्ट हुन्छ ।

गत कालमा जसरी पार्टीभित्रका थुप्रै गोप्य कुराहरू बाहिर जाने गरेका छन्, त्यसबाट पार्टीभित्र नै बाहिरका गलत तत्वहरूको धेरै नै पहुँच भएको वा पार्टीभित्र कुनै न कुनै तहमा घुसपैठ भएको स्थितिलाई नै बताउँछ । तर, पार्टीको कुनै सदस्यले लगातार पार्टीभित्रका गोप्य सूचनाहरू पार्टी बाहिरका गलत तत्वहरूलाई दिने वा छद्म वा अप्रत्यक्ष प्रकारले पार्टीको सार्वजनिक रूपले नै आलोचना गर्ने गर्दछन् भने त्यो गम्भीर प्रकारको गल्ती वा अक्षम्य अपराध पनि हो । त्यसप्रकारका तत्वहरूलाई पत्ता लगाउनका लागि पार्टीका सबै स्तरका समिति वा सदस्यहरूले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । नत्र त्यस प्रकारका तत्वहरूले पार्टीलाई गम्भीर क्षति पुर्‍याउन सक्दछन् ।

आठौं महाधिवेशनका सिलसिलामा पार्टीका विरूद्ध खास गरेर तल लेखिए अनुसारका भ्रमहरू फैलाउने काम गरिएको छ ।

८५ वर्षको बृद्ध व्यक्ति किन पार्टीको महामन्त्री भयो ?

आठौंं महाधिवेशनको सन्दर्भमा सबैभन्दा बढी आक्षेप लगाइएको विषय यही हो । यो विषयलाई सर्वप्रथम व्यक्तिगत आधारमा भन्दा त्यससित जोडिएको प्रक्रियाका आधारमा विचार गर्नुपर्ने आवश्यकता छ । यस सन्दर्भमा पार्टीको कुनै सदस्य कुन उमेरसम्म पार्टीको नेतृत्वमा रहन मिल्छ भन्ने प्रश्नभन्दा महत्वपूर्ण प्रश्न यो हो ः कुनै व्यक्तिले कुन उमेरसम्म पार्टीमा सक्रिय भएर काम गर्न मिल्दछ ? कतिपय व्यक्तिहरू कम उमेरमा नै पार्टीमा सक्रिय हुन छाड्दछन्, निक्रिय हुन्छन् वा पार्टीबाट पलायन हुन्छन् ।

पार्टीप्रतिको आस्था, उत्साह वा कतिपय अवस्थामा रोग वा शारीरिक असक्तताका कारणले पनि कतिपय व्यक्तिहरू कम उमेरमा नै पार्टीको कामबाट पछाडि हट्दछन् । तर कुनै व्यक्तिले लामो समयसम्म वा बृद्ध अवस्थामा पुगेपछि पनि पार्टीमा काम गर्ने उत्साह वा सक्रियतालाई कायम राख्दछ भने के त्यो अपराध हुन्छ ?

प्रक्रियाअनुसार नै म द्वितीय महाधिवेशनमा केन्द्रीय समितिको सदस्य, तृतीय महाधिवेशनमा पीवीमा, चौथौं र छैठौं महाधिवेशनहरूमा महामन्त्रीमां, एकताकेन्द्रसित पार्टी एकता भएपछि महामन्त्रीमा, सातौं र आठौं महाधिवेशनहरूमा पुनः महामन्त्रीमा निर्वाचित भएँ भने ती पार्टीको प्रक्रिया अनुसार नै भएका निर्णयहरू थिए ।

कुनबेला कुनै पार्टी कमिटीले कुनै पदको लागि कसलाई निर्वाचित गर्ने ? त्यो कुरा आफ्नो निर्धारित प्रक्रिया अनुसार निर्णय गर्ने कुरा हो । भोलि नवौं वा दशौं महाधिवेशनहरूको बेलामा पनि म पार्टीको काम गर्न शारिरिक र मानसिक रूपले योग्य भएमा पार्टीले केन्द्रीय कमिटीदेखि सेल वा समर्थक ग्रुपसम्म कुनै तहमा बसेर काम गर्ने जिम्मा दिन सक्दछ ।

अहिले पनि पार्टीले मलाई महामन्त्रीबाट हटाएर कुनै एरिया वा सेलमा काम गर्ने जिम्मा दिन्छ भने पनि त्यो मलाई सहर्ष स्वीकार हुनेछ ।

पहिले महामन्त्री भएको बेलामा पनि मैले त्यहाँबाट निष्कासित भएर, कुनै बेला सामान्य सेलमा बसेर वा महामन्त्रीबाट हटेर केन्द्रीय समितिमा बसेर वा केन्द्रीय समितिको पर्यवेक्षक भएर मात्र पनि काम गर्ने गरेको छु । कुन बेला कुन पद प्राप्त हुन्छ ? त्यो मुख्य कुरा होइन । मुख्य कुरा शारीरिक र मानसिक रूपल समर्थ हुँदासम्म पार्टीमा सक्रिय भइरहने हो । त्यस सन्दर्भमा कसैको उमेर ८५ वा १०० कति पुग्यो ? त्यो गौण महत्वको कुरा हो । मुख्य प्रश्न कुनै बेला कुन पदमा बस्ने भन्ने होइन, प्रश्न पार्टीप्रतिको आस्था, उत्साह वा सक्रियताको कायम रहँदासम्म जहाँ बसेर पनि पार्टीको काममा सकेसम्म योगदान दिने भन्ने नै हो ।

यसरी यो प्रश्न व्यक्तिगत रूपमा मसँग जोडिएको नभएर पार्टीको प्रक्रियासित जोडिएको विषय हा । पूर्व एमालेले ७० वर्ष काटेका व्यक्तिहरूलाई केन्द्रीय समितिमा नराख्ने निर्णय गरेको थियो । तर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा र हाम्रो पार्टीमा पनि त्यसप्रकारको कुनै नियम छैन । त्यसैले कुन उमेरमा को महामन्त्री भयो वा भएन भन्ने प्रश्न सिद्धान्तहीन, अराजनीतिक वा गौण महत्वको प्रश्न हो । जसले त्यसप्रकारको टीकाटिप्पणी गरिरहेका छन्, त्यसले उनीहरूको निम्नस्तरको र असैद्धान्तिक पिछडिएको मानसिकतालाई नै बताउँछ ।

आठौंं महाधिवेशनले दक्षिणपन्थी दिशा समातेको भ्रम

आठौं महाधिवेशनले एकातिर, मार्क्सवादी–लेनिनवादी सिद्धान्त र रणनीति तथा, अर्कातिर, अहिलेको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थितिको ठोस विश्लेषण गरेर नै आफ्नो कार्यक्रम, रणनीति वा तात्कालिक नीतिहरू निर्धारित गरेको छ । निश्चय नै, जसले माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा रणनीतिप्रति सही दृष्टिकोण अपनाउँदैनन् वा तत्कालको वस्तुस्थितिमाथि सही प्रकारले विचार गर्न सक्दैनन्, उनीहरूले अहिले हाम्रो पार्टीको आठौं महाधिवेशनले लिएको सही कार्यदिशालाई दक्षिणपन्थी देख्ने गरेका छन् ।

वास्तवमा देशका बेग्लाबेग्लै राजनीतिक शक्ति वा तत्वहरूले विषयहरूलाई हेर्ने आफ्नो बेग्लाबेग्लै कोण अनुसार नै हाम्रा नीति वा निर्णयहरूलाई व्याख्या गर्ने वा बुझ्ने गर्दछन् । राजावादीहरूले हाम्रो गणतन्त्र वा धर्मनिरपेक्षताको सोचाइलाई गलत बताउँछन् । त्यसै गरेर उग्रवामपन्थीहरूले पनि गणतन्त्रको रक्षामा जोड दिने हाम्रो नीतिलाई गलत बताउँछन् । सङ्घीयताका पक्षपातीहरूले सङ्घीयताको विरोध गर्ने हाम्रो नीतिलाई गलत बताउँछन् ।

नेपाली कांग्रेसले हाम्रो भारतीय साम्राज्यवादप्रतिको नीतिलाई विरोध गर्दछ । त्यही प्रकारले अन्य विभिन्न पक्षहरूले पनि आफ्नोआफ्नो राजनीतिक मान्यता वा दृष्टिकोण अनुसार नै हाम्रा नीति वा कार्यक्रमहरूको मूल्याङ्कन वा आलोचना गरिरहेका हुन्छन् । त्यसप्रकारको पृष्ठभूमिमा नै कसैले हाम्रो पार्टीका नीति वा कार्यक्रमहरूलाई दक्षिणपन्थी आक्षेप लगाएको आलोचनाको मूल्याङ्कन गर्नुपर्दछ ।

कतिपय पक्षहरूले आफ्नो पूर्वाग्रह वा हामीप्रतिको द्वेषपूर्ण दृष्टिकोणका कारणले जुनसुकै प्रकारले वा जुनसुकै रूपमा भए पनि हाम्रो विरोध गर्ने उद्देश्यलाई केन्द्रमा राखेर नै हाम्रो पार्टीको आलोचना गर्ने वा गालीगलौज पनि गर्ने गरिरहका हुन्छन् । त्यस्ता तत्वहरूका लागि कुनै नीतिको प्रश्न प्रधान हुँदैन, तर जुनसुकै रूपमा भए पनि विरोध गर्ने उद्देश्य नै प्रधान हुन्छ । त्यसकारण उनीहरूको हाम्रो पार्टीको आठौं महाधिवेशनका निर्णयहरूलाई दक्षिणपन्थी ठहराउने आक्षेपले कुनै अर्थ र महत्व राख्दैन ।

आठौं महाधिवेशनमा जनवादको हनन गरियो

यो अत्यन्त निम्नस्तरको र निराधार आलोचना हो । आठौंं महाधिवेशनको सिलसिलामा जनवादको जुन उच्च रूपमा प्रयोग वा अभ्यास गरिएको छ, त्यो नेपालको राजनीतिक इतिहास वा कम्युनिस्ट आन्दोलनको इतिहासमा नै कहिल्यै गरिएको थिएन । नेपालको राजनीतिको वा कम्युनिस्ट आन्दोलनको सरसरी वा सामान्य प्रकारको ज्ञान भएको मानिसबाट पनि त्यो लुक्ने कुरा होइन ।

आठौं महाधिवेशनभन्दा पहिले बहुमत र अल्पमतका दस्तावेजहरूमा पार्टीभित्र देशव्यापी रूपमा छलफल चलाइएको थियो । फोरमद्वारा सबै पार्टी सदस्यहरूलाई पार्टीका नीति वा नेतृत्वबारे आफ्ना मतभेद वा आलोचनाहरू प्रस्तुत गर्ने अधिकार दिइएको थियो । महाधिवेशनमा पनि सबै प्रतिनिधि वा पर्यवेक्षकहरूलाई ग्रुपहरूमा वा सामान्य प्रकारले छलफल चलाउने अधिकार दिइएको थियो ।

आलोचना र आत्मालोचनाको कार्यक्रमअन्तर्गत महामन्त्री वा केन्द्रीय समितिका सदस्यहरूको आलोचना गर्ने अधिकार दिइएको थियो वा स्पष्टीकरणबाट चित्त नबुझेको अवस्थामा महामन्त्री वा पार्टी केन्द्रका कुनै सदस्यका विरूद्ध व्यक्तिगत आरोप लगाउने र त्यसबारे छलफल चलाउने पनि अधिकार दिइएको थियो ।

केन्द्रीय समितिको चुनावको सिलसिलामा केन्द्रले प्रस्तुत गरेको प्यानल बाहेक अन्य उम्मेदवारहरू खडा हुने अवसर पनि दिइएको थियो, यद्यपि केन्द्रीय समितिका लागि प्रस्तुत प्यानल बाहेक अरू पनि कोही उम्मेदवार नबनेकाले सर्वसहमतिले नै केन्द्रीय समितिको निर्वाचन भएको थियो । त्यसरी अत्यन्त सौहार्दपूर्ण वातावरणमा महाधिवेशनको समापन भएको थियो । ती तथ्यहरूको तोडमोड गरेर महाधिवेशनमा जनवादको हनन् भएको थियो भन्ने आक्षेप कति निराधार छ ? स्वतः स्पष्ट छ ।

बहुमत बनाउन कारवाही गरियो भन्नेबारे

महाधिवेशनभन्दा पहिले बहुमतको पक्षमा वातावरण तयार पार्नको लागि कैयौं केन्द्रीय सदस्यहरू माथि कारवाही गरियो वा जिल्लाहरूमा पनि फडानीको काम गरियो भन्ने आक्षेप पनि निकै लगाउने गरिएको छ । त्यस सिलसिलामा कतिपय व्यक्तिहरूको नामको सूची समेत प्रस्तुत गर्ने गरिएको छ ।

त्यस सन्दर्भमा सर्वप्रथम हामीले के स्पष्ट गर्न चाहन्छौं भने हाम्रो पार्टी भूमिगत पार्टी भएको हुनाले हामीले महामन्त्री र केन्द्र, प्रदेश वा जिल्लाका प्रवक्ताहरू बाहेक घोषित रूपमा कसैलाई पनि चिन्दैनौंं । त्यसैले विभिन्न अनलाइन वा पत्रपत्रिकाहरूमा दिइएका नामहरू असम्बन्धित भएकाले तिनीहरूबारे कुनै चर्चा गर्नुपर्ने आवश्यकता देखिन्न । तर, विषयमाथि प्रकाश हाल्नको लागि पार्टीभित्रको अनुशासनको प्रक्रियाबारे केही चर्चा गर्नु अप्रासांगिक हुने छैन ।

पार्टीको अनुशासनको आधार जनवादी केन्द्रीयता र छलफलको स्वतन्त्रता तथा कामको एकता हुन् । त्यसअनुसार नै पार्टीका विधान वा नियमहरू बनेका हुन्छन् । त्यसप्रकारका विधान वा नियमहरूको उल्लङ्घन गर्ने पार्टी सदस्य, त्यो जतिसुकै माथिल्लो तहको भए पनि, अनुशासनका कारवाहीहरू हुने गर्छन् ।

त्यस अनुसार पार्टीको अनुशासनको उलङ्घन गर्ने पार्टीका केन्द्रीय समितिदेखि तल्लो तहसम्मका कैयौं सदस्यहरूमाथि पार्टीको विधान र नियम अनुसार कारवाही हुने गरेको छ । यो नियमित रूपले चल्ने प्रक्रिया हो र महाधिवेशनको तयारीको कालमा पनि पार्टी अनुशासनको उलङ्घन गर्ने पार्टी सदस्यहरूमाथि त्यसप्रकारका कतिपय कारवाहीहरू हुने गरेका छन् ।

त्यसरी कारवाही गर्दा विचार वा मतलाई आधार बनाउने गरिएको छैन । त्यो कुरा बहुमत पक्षका पनि उच्चतहका कतिपय नेताहरूमाथि त्यसप्रकारको कारवाही गरिएको कुराबाट प्रष्ट हुन्छ ।

नातावादको आक्षेप

महामन्त्रीले नातावादलाई प्रश्रय दिएको भन्ने आक्षेप पनि निकै लगाउने गरिएको छ । सर्वप्रथमत नातावादको अवधारणाबारे पनि केही स्पष्टताको आवश्यकता छ ।

कुनै व्यक्ति पार्टीमा लागेपछि वा पार्टीको कुनै उच्च कमिटीमा पुगेपछि उसका नाता पर्ने व्यक्तिहरू, पत्नी, छोरा, ज्वाइँ, सम्धी, ससुरा, मामा, भान्जा, बहिनी, छोरी, फुपू, दाजुभाइ आदिलाई पार्टीमा ल्याउन मिल्छ वा मिल्दैन ? त्यसबारे केही विचार गर्नुपर्ने आवश्यकता छ ।

यदि नातावादको विचारलाई अमूर्त प्रकारले लिने हो भने पार्टीको कुनै उच्च कमिटीमा भएको व्यक्तिका नाता पर्ने व्यक्तिहरू पार्टीमा प्रवेश गर्दछन् भने त्यो नातावाद हुनेछ । त्यसप्रकारको नातावादलाई रोक्नको लागि पार्टीमा पहिले प्रवेश गर्ने वा कुनै उच्च पदमा पुग्ने व्यक्तिका नाता पर्ने सबै व्यक्तिहरूलाई पार्टीमा प्रवेश गर्न प्रतिबन्ध लगाउनु पर्नेछ । तर, अहिलेसम्म अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा र नेपालमा पनि पार्टीको विधानमा त्यसप्रकारको कुनै नियम बनेको छैन र त्यसप्रकारको नातावादलाई रोक्न कुनै नियम बनाउनपर्छ भनेर अहिलेसम्म पार्टीको कुनै कमिटी, भेला, सम्मेलन वा महाधिवेशनमा पनि कुनै प्रस्ताव ल्याइएको छैन ।

वास्तवमा भन्ने हो भने महामन्त्रीका नाता पर्ने एकाध व्यक्तिहरू पार्टीमा होलान्, तर अरू कैयौं केन्द्रीय नेताहरूका नाता पर्ने थुप्रै व्यक्तिहरू पार्टीका विभिन्न उच्च कमिटी वा पार्टी र जनवर्गीय सङ्गठनहरूका विभिन्न उच्च पदहरूमा पनि हुन सक्छन् ।

के पार्टीमा एउटा शुद्धीकरण कार्यक्रम सञ्चालन गरेर पार्टीका त्यसरी नाता पर्ने सबै व्यक्तिहरूलाई पार्टीबाट हटाउन सम्भव हुन सक्छ वा के त्यसो गर्नु उचित हुनेछ ? यदि त्यसो नगर्ने हो भने पार्टीका कुनै उच्च नेताको नाता पर्ने व्यक्तिहरूलाई पार्टीमा प्रवेशका लागि द्वार खुला भइरहने छ र त्यसरी पार्टीमा नातावादलाई लगातार प्रश्रय मिलिरहने छ ।

यदि पार्टीमा नाता पर्ने व्यक्तिहरूको प्रवेशमाथि रोक लगाउने कुनै नियम बन्दैन भने महामन्त्रीको नजिकको नाता पर्ने व्यक्तिहरू पनि पार्टीमा आउँछन् भने तिनीहरूलाई रोक्नका लागि कुनै आधार छैन । सबै नाताहरू जन्मकालदेखि नै बनेर आएका हुँदैनन् । कतिपय नाताहरू, जस्तै कि पति र पत्नीको नाता, पछि बन्ने गर्दछ । त्यसरी कुनै पति वा पत्नी दुवैले पहिलेदेखि नै पार्टीमा काम गर्दै आएका छन् भने उनीहरूको विवाह भएर नाता जोडिएपछि के उनीहरू मध्ये कसैले पार्टीबाट अलग हुन आवश्यक हुन्छ ? वा उनीहरू दुबैले साथसाथै पार्टीमा काम गरे भने के त्यसलाई नातावाद भनेर आक्षेप लगाउनु सही हुन्छ ?

कतिपय विभिन्न नाता पर्ने व्यक्तिहरूले पार्टीमा काम गर्दै आएपछि उनीहरू विभिन्न पदमा चुनिन सक्छन् वा उनीहरूलाई बेग्लाबेग्लै जिम्मेवारी पनि दिन सकिन्छ । त्यो अवस्थामा आपसमा नाता पर्ने भएको हुनाले त्यस्तो नाता पर्ने कुनै व्यक्तिलाई पार्टीको कुनै पदमा नराख्ने वा कुनै जिम्मेवारी नदिने भन्ने नियम बनाउन सकिन्छ ?

रूसमा लेनिनका साथै क्रुप्सकाया पनि पार्टीको केन्द्रीय कमिटीमा थिइन् र पछि रूसमा क्रान्ति भएपछि उनले विभिन्न मन्त्रालयको काम पनि सम्हालेकी थिइन् । चीनमा माओका साथै चियाङ चिङ पनि पार्टीको नेतृत्वमा थिइन् र उनलाई पार्टीका कैयौं महत्वपूर्ण जिम्मेवारीहरू दिइएको थियो । के त्यो कारणले लेनिन वा माओमाथि नातावादको आरोप लगाउनु ठीक हुनेछ ?

भारतको कम्युनिस्ट पार्टीमा पनि कतिपय पति र पत्नी साथसाथै पार्टीको पीवीमा भएका र केरलमा पार्टी सरकारमा जाँदा पति र पत्नी दुवै जना साथसाथै मन्त्रीहरू भएका उदाहरणहरू पनि पाइन्छन् । के यी सबैलाई नातावाद भनेर विरोध गर्न मिल्छ ?

वास्तविकता ता यो हो कि पार्टीका कुनै सदस्यले आफ्ना नाता पर्ने व्यक्तिहरूलाई पनि बढीभन्दा बढी सङ्ख्यामा पार्टीमा ल्याउन वा पार्टीकरण गर्न प्रयत्न गर्नुपर्दछ । नातावादको आलोचना वा आक्षेप जुन रूपमा अगाडि आउने गरेको छ, यदि त्यही कसीलाई आधार बनाएर सोच्ने हो भने कुनै पार्टी सदस्यले आफ्ना पत्नी, छोराछोरी वा आफ्नो नजिकका कुनै पनि नाता पर्ने व्यक्तिहरूलाई पार्टीमा आउन नदिन र उनीहरूलाई पूरै नै घरगृहस्थी वा कुनै नोकरी वा पेशामा लगाउन नै बल गर्नुपर्ने छ ।

पार्टीका कतिपय साथीहरूले चाहेर वा नचाहेर उनीहरूका नजिकका नाता पर्ने व्यक्तिहरूले पार्टीमा कुनै सम्बन्ध राख्दैनन् र आफ्नो घरगृहस्थी वा व्यक्तिगत पेशामा लाग्ने गर्दछन् । उनीहरू पार्टीमा आउँदैनन् र, त्यसकारण, उनीहरूका विषयमा कुनै विवाद पनि हुन्न र उनीहरूबारे नातावादको आक्षेप पनि लाग्दैन । के त्यसप्रकारको अभ्यास नै सही हो र हामीले त्यसप्रकारको पद्धतिलाई नै अपनाउनु सही हुने छ ? निश्चय नै त्यो कुरालाई सही भन्न सकिन्न ।

त्यसप्रकारको पृष्ठभूमिमा अहिले पार्टीमा महामन्त्रीले नातावादलाई प्रश्रय दिएको भनेर जुन आलोचना वा आक्षेप लगाउने गरिएको छ, त्यसप्रकारको सोचाइ माक्र्सवादी–लेनिनवादी सिद्धान्त र अन्तर्राष्ट्रिय रूपमा र स्वयं हाम्रो पार्टीभित्रको प्रचलन र अभ्यासका पनि कति विरूद्ध छ ? बुझ्न गाह्रो पर्दैन । वास्तवमा त्यस प्रकारको सोचाई कुनै सिद्धान्तमाथि आधारित नभएर विशुद्ध द्वेषपूर्ण पूर्वाग्रहयुक्त भएको कुरा पनि प्रष्ट छ ।

निश्चय नै, त्यसको अर्थ नातावादको अवधारणा र त्यससम्बन्धी आक्षेप जुनसुकै अवस्थामा पनि गलत हुन्छ भन्ने होइन । पार्टीमा कुनै व्यक्तिको आफ्नो पृष्ठभूमि वा क्षमताबिना खालि नाता परेको कारणले नै कसैलाई उच्च पदमा राखिन्छ वा कुनै उच्च जिम्मेवारी दिइन्छ भने त्यो नातावाद हो र त्यसलाई सही भन्न सकिन्न ।

आठौं महाधिवेशनको सन्दर्भमा अरू पनि कै यौं आक्षेपहरू लगाउने वा भ्रमहरू फैलाउने काम गरिएको छ । तर, त्यसप्रकारका आक्षेपहरू सिद्धान्तहीन, अराजनीतिक वा व्यक्तिगत चरित्रहत्या प्रकारका नै बढी छन् । त्यसकारण हामी तिनीहरूको चर्चा गर्नपट्टि लाग्दैनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?