
३१ असार, न्युयोर्क । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आव्हान गरेका छन् । नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउन लागिरहेको पूर्वसन्ध्यामा मन्त्री पोखरेलले नेपाल बिश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य मध्यको एक भएको बताउँदै विश्व समुदायलाई नेपाल भ्रमणको लागि निमन्त्रणा दिएका हुन् ।
युनेस्कोको आयोजनामा अमेरिकाको न्युयोर्कमा आयोजित दिगो विकास लक्ष्य – ४ सम्बन्धी ‘हाई लेभल पोल्टिकल फोरममा’ भाग लिन न्युयोर्क रहेका पोखरेलले कन्सुलेट जनरल अफ नेपाल र नेपाल अमेरिका फाउण्डेसनको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहआयोजनामा भिजिट नेपाल २०२०२ लाई सफल बनाउन आयोजित ‘नेपालको पर्यटन कला र सँस्कृति’ बिषयक गोष्ठीलाई सम्बोधन गरेका छन् ।
मन्त्री पोखरेलले बुद्धको जन्मभूमि, विश्वको अग्लो समगरमाथा भएको देश नेपालको विश्वमा छुट्टै पहिचान भएको बताए ।
उनले नेपालको बिबिध कला सँस्कृतिको बिषयमा प्रकाश पारे । नेपाल प्राकृतिक, साँस्कृतिकरुपमा धनी भएको बताउँदै मन्त्री पोखरेलले नेपाल सरकारले २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको जानकारी दिए ।
नेपालको स्कुल पाठ्यक्रममा असल मानवीय मूल्यहरु समेटिएको प्रष्ट पार्दै मन्त्री पोखरेलले नेपालीहरु अतिथी सत्कारको लागि राम्रो सेवा दिन सक्षम रहेको पनि बताए ।
विश्व समुदायको ध्यान नेपालतिर आकर्षित गर्न आयोजना गरिएको कार्यक्रममा मन्त्री पोखरेलले नेपाल सरकार समृद्ध नेपाल, सुखी नेपालीको नाराका साथ अघि बढिरहेको बताउँदै नेपाल सुन्दर, सुरक्षित र महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भएको उल्लेख गरे ।
पर्यटन प्रवर्द्धन र विकासको लागि नेपाल सरकारले प्राथमिकतामा राखेको उनले बताए ।
नेपाल आउने पर्यटकलाई आवश्यक सम्पूर्ण सेवा र सुरक्षा दिन नेपाल सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै मन्त्री पोखरेलले विविधताले भरिपूर्ण सुन्दर देश भ्रमण गर्न सम्पूर्णमा आग्रह गरे ।
प्रतिक्रिया 4