Comments Add Comment

संसदमा प्रधानमन्त्रीको सम्वोधन : राजावादीलाई ‘गाली’, आफैंबारे मौन

१ भदौ, काठमाडौं । सिंगापुर उपचार गरेर फर्किएको ६ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरे ।

प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दैगर्दा धेरैलाई लागेको थियो, देशका कार्यकारी प्रमुखले आफ्नो स्वास्थ्यस्थितिबारे पनि जानकारी दिनेछन् अनि दोहोर्‍याएर उपचारकै लागि सिंगापुर जानुपर्ने कारणबारे पनि केही बताउने छन् । किनकि, उनी यसैसाता फेरि सिंगापुर जाने तयारीमा छन् ।

तर, प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य र सिंगापुर भ्रमणबारे संसदमा एक शब्द खर्चिएनन् । बरु देशमा राजसंस्था नर्फकने र प्रधानमन्त्री पद जान्छ भनेर लगलग नकाँपेको अभिव्यक्ति दिए, जुन आफैंमा खासै सान्दर्भिक अभिव्यक्ति होइन । प्रधानमन्त्रीको अभिव्यक्तिले देशमा राजसंस्था फर्काउने कसैले प्रयास गरिरहेको चित्र प्रस्तुत गरेको देखिन्थ्यो ।

उसो त सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि ‘धेरै बकबक गरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटीबाट निकाल्ने’ चेतावनी दिएका थिए । उनको अघिल्लो दिन मात्र राप्रपा अध्यक्ष कमल थापाले ‘सरकार परिर्वतन गरेर हुँदैन, व्यवस्था नै परिर्वतन गर्नुपर्छ’ भनेका थिए ।

थापाकै भाषणको प्रतिक्रियामा प्रचण्ड र ओली राजावादीमाथि खनिएको अनुमान लगाउन सकिन्छ ।

‘अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने परिकल्पना गरेर उफि्रएको देखिन्छ, यो बेमौसमको बाजा नबनाउँदा हुन्थ्यो’ सरकारको उदारताबाट केही तत्व हौसिएको भन्दै प्रधानमन्त्री ओलीले संसदमा भने, ‘सरकारले यो उदारता देखाएको नपत्याएर हो । पत्याएका दिन संविधान, गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ ।’

प्रधानमन्त्री ओलीले लोकतन्त्रप्रति सरकारको प्रतिवद्धतामाथि प्रश्न नगर्न पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार जनताको निराशामा टेकेर वा एउटा भल छोपेर नबनेको बताए । आफ्नो पार्टीले अगाडि सारेको नीतिमा विश्वास गरेर जनताले सरकार गठन गर्ने जनादेश दिएको र लोकतन्त्रका लागि आफूहरुको त्याग तपश्या अरुको भन्दा कम नभएको भन्दै उनले सरकार अधिनायकवादतर्फ गयो नभन्न सचेत गराए ।

‘जनतामा निराशा पैदा गर्ने प्रयास नगर्दा राम्रो हुन्छ’ संसदमा प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले लोकतन्त्रलाई सुदृढ गर्ने भन्दा यतायता जान सक्दैन ।’

कतिपयले ‘पद जाने भयो भनेर प्रधानमन्त्री लगलग कामेर बसेको छ’ भनेको सुनेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्म धैर्य गर्न आग्रह गरे । उनले भने, ‘आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन ।’

आफ्नो स्वास्थ्यबारे मौन

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि १८ साउनमा सिंगापुर गएका थिए । २७ साउनमा फर्किएका उनले ‘म ठीक छु’ भन्ने बाहेक थप केही बताउन चाहेनन् । न प्रधानमन्त्रीको निजी सचिवालय, न निजी चिकित्सकले सिंगापुरमा गरिएको चेकजाँच र ओलीको स्वास्थ्य अस्वथाबारे केही बताएका छन् ।

एका एक बिहीबार उनी अस्वस्थ्य भएको खबर बाहिरियो । उनलाई ९९ डिग्री ज्वरो आएपछि नेकपाको सचिवालय बैठक स्थगित भएको थियो । भोलिपल्ट झापाका नेताहरुसँग भएको भेटमा आफू ठीक रहेको मात्र बताएनन्, २०/२५ वर्ष केही हुँदैन भनेर चिकित्सकले भनेको सुनाए । उनले त्यसो भनिरहँदा नेकपाकै नेताहरुले भने भदौ ४ वा ५ गते सिंगापुर जाने तयारी रहेको सुनाएका छन् ।

त्यसै पनि प्रधानमन्त्रीको स्वास्थ्यबारे जनचासो हुन्छ । झन कहिले अस्वस्थ भएको त कहिले २०/२५ वर्ष केही हुँदैन भनेको खबर आउँदा मानिसहरु अन्योलमा पर्नु स्वाभाविक हो । र, प्रधानमन्त्रीले संसदमा बोल्दा आफ्नो स्वास्थ्यबारे केही जानकारी देलान् भन्ने अपेक्षा थियो । तर यसबारे उनी मौन बसेका छन् ।

यो पनि पढ्नुहोस्

प्रचण्डलाई कार्यवाहक अध्यक्ष सुम्पेर प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment