४ भदौ, काठमाडौं । आयोजक नेपाल एभीसी सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ ।
लगनखेलको आर्मी कभर्डहलमा बुधबार भएको खेलमा नेपाल माल्दिभ्ससँग ३–० को सोझो सेटमा पराजित हुँदै बाहिरिएको हो । माल्दिभ्स भने प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुरुदेखि नै हावी भएको माल्दिभ्स पहिलो सेट २५–२२ ले जित्यो । दोस्रो सेट पनि नेपालले २५–२१ मा गुमायो । अन्तिम सेट नेपालको प्रदर्शन झन कमजोर रह्यो र २५–१४ ले माल्दिभ्स विजयी भयो ।
यसअघि किर्गिस्तानसँग पनि नोपाल सोझो सेटमा पराजित भएको थियो । समूह ए मा रहेको नेपाल प्रतियोगिताबाट बाहिरिँदा किर्गिस्तान समूह विजेता र माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।