Comments Add Comment

नेपाल ओलम्पिक कमिटीको नेतृत्व चुन्न मतदान जारी

२८ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चुन्न मतदान जारी छ । सातदोबाटोस्थित कार्यालयमा पूर्वनिर्धारित समयभन्दा दुई घण्टा ढिलो मतदान सुरु भएको हो ।

निर्वाचनको पर्यवेक्षण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिले गरेका छन् । नेपाल ओलम्पिक कमिटीको मतदाता २७ जना छन् ।

यसअघि नेपाल ओलम्पिक कमिटीको कार्यसमितिको निर्वाचन कार्यक्रम भदौ २० गते तोकिएको थियो । तर, निर्वाचन स्थगित गर्न माग गर्दै कार्यसमिति सदस्य कमलबहादुर चित्रकारले दायर गरेको रिटमा सर्वोच्चले भदौ १७ गते अन्तरिम आदेश दिँदै तत्काल निर्वाचन नगर्न भनेको थियो । यद्यपि गत आइतबार दुवै पक्षसँग छलफल गरेपछि न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले निर्वाचन रोक्न नपर्ने फैसला सुनाएको थियो । सर्वोच्चले बाटो खोलिदिएपछि शनिबार मतदान भइरहेको हो ।

नेपाल ओलम्पिक कमिटीको नयाँ अध्यक्षका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । जीवनराम र उमेशलाल दुवै नेकपा निकट हुन् ।

महासचिव पदमा उमेशलालको प्यानलबाट पुरेन्द्रविक्रम लाखे र जीवनरामको प्यानलबाट निलेन्द्रराज श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

यो चुनावमा पाँच जना उपाध्यक्षका लागि आठ जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा ज्योती राणा, तेजबहादुर गुरुङ, पुष्पदास श्रेष्ठ, अशोकरत्न बज्राचार्य, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजवैद्य, राजीव श्रेष्ठ र समिम मिया अन्सारी छन् ।

त्यस्तै, कोषाध्यक्षमा भने रतनकुमार टण्डनको मात्र उम्मेदवारी परेको छ । उपमहासचिवमा राखेपका उपाध्यक्षसमेत रहेका पिताम्बर तिम्सिनाको मात्र उम्मेदवारी छ ।

त्यस्तै, तीन सचिव पदका लागि केशवकुमार विष्ट, रामजीबहादुर श्रेष्ठ, दीपकहर्ष बज्राचार्य र तुलसी थापा प्रतिस्पर्धामा छन् ।

सात सदस्यका लागि आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । सदस्य पदमा रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्घबहादुर केसी र मनोरञ्जनरमण शर्मा प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment