+
+

संसारकै अग्लो भवनमा नेपाली झण्डा फहराइने

रुपेश अधिकारी रुपेश अधिकारी
२०७६ असोज ३ गते १७:२९

युएई । अघिल्लो वर्ष संविधान दिवस मनाउने सन्दर्भमा युएईका लागि तत्कालीन कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलले एक योजना सुनाए ।

उनको योजना थियो-युएईमा रहेको संसारको अग्लो बुर्ज खलिफामा नेपाली झण्डा फहराउने । जसले नेपालको हाम्रो पहिचान र पर्यटनमा थप टेवा पुग्ने उनको विश्वास थियो ।

उक्त भवनमा नेपाली झण्डा फहराउनका लागि यहाँको स्थानीय निकाय र सम्बन्धित सरकारी पक्षसँगको समन्वयमा मात्र सम्भव थियो । तर, त्यसका लागि पर्याप्त समय हुन सकेन । तयो वर्षको राष्ट्रिय तथा संविधान दिवशमा यो योजना पूरा भएन ।

युएईमा राजदूतको जिम्मेवारी सम्हालेदेखि नै राजदूत कृष्णप्रसाद ढकालले नेपालको कुनै महत्वपूर्ण दिन बुर्ज खलिफामा झण्डा फहराउने जनाए । बुर्ज खलिफामा विभिन्न राष्ट्रको राष्ट्रिय दिवस तथा स्वतन्त्रताकाे दिन झण्डा फहराउने गरिन्छ ।

बुर्ज खलिफामा शुक्रबार राति यहाँको समयअनुसार ९/१० बजे ( नेपाली समय १० : ५५ ) मा नेपाली राष्ट्रिय झण्डा फहरिने दूतावासले जनाएको छ । १ मिनेटसम्म नेपाली झण्डा देख्न सकिने राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार यहाँको सरकारको अनुमतिमा १ मिनेटसम्म बुर्ज खलिफाको भवनमा नेपाली झण्डा देख्न सकिनेछ।

बुर्ज खलिफामा राष्ट्रिय झण्डा फहरिने भएपछि यहाँ कार्यरत नेपालीले खुशी व्यक्त गरेका छन्।

शुक्रबार यहाँ सार्वजनिक विदा भएकाले पनि धेरै नेपालीले बुजै खलिफा जाने योजना बनाएका छन् ।

कतिपयले सामाजिक संजालमा छिमेकी देशको झण्डा फहरिदा मन कटक्क हुने गरेको तर आफ्नो देशको झण्डा फहरिने भएपछि गौरव महसुस भएको उल्लेख गरेका छन् ।

यसैबीच, नेपालको संविधान दिवसको अवसरमा बिहीबार दूतावासमा समेत झण्डोत्तोलन तथा दीप प्रज्ज्वलन गरिएको छ ।

शुक्रबार यूएईमा रहेका नेपाली संघसस्थाको उपस्थितिमा दूतावासमै कार्यक्रमसमेत गरिँदै छ ।

त्यस्तै आउँदो आइतबार दूतावासकै आयोजनामा बोब अल क्युसार होटेलको सभा हलमा १२० भन्दा धेरै देशका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम गरिने दूतावासकी सूचना अधिकारी बिष्णुकुमारी अधिकारीले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?