Comments Add Comment

प्रदेश २ बाट झण्डै ९ करोडको समान बरामद

५ कात्तिक, वीरगञ्ज । सशस्त्र प्रहरीले प्रदेश-२ का विभिन्न जिल्लाबाट ८ करोड ९४ लाख ७७ हजार ३ सय रुपैयाँ मुल्य बराबरको समान बरामद गरेको छ । सीमा क्षेत्रमा भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेका समान, स्रोत नखुलेको रकम, अवैध रुख कटान गरी ल्याउँदै गरेको काठ बरामद गरिएका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय तथा मातहत कार्यालयहरुले आर्थिक वर्ष ०७६/०७७ को पहिलो त्रैमासिकमा अघिल्लो आर्थिक वर्षको तुलनामा १०३ प्रतिशत बढी समान बरामद गरेको बाहिनीका सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले जानकारी दिए ।

उनका अनुसार गत आ.व.०७५/०७६ को पहिलो त्रैमासिकमा ४ करोड ४१ लाख २४ हजार ५ सय ४२ रुपैयाँ बराबरको अवैध सामाग्रीहरु बरामद गरिएको थियो । चालु आर्थिक वर्षको तीन महिनामा ३६ लाख ६ सय ६७ रुपैयाँ मुल्यको ५९.१३५ किलोग्राम चाँदी, १८ लाख ४४ हजार ९५ रुपैयाँको ७७१.९१ क्युफिट काठ, स्रोत नखुलेको अवैध रकम ३८ लाख २८ हजार २ सय ३५ र अन्य अवैध सामाग्रीहरु ८ करोड २ लाख ४ हजार ३ सय ३ रुपैयाँको बरामद गरिएको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीले जनाएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले चेकजाँच र गस्तीको कममा प्रदेशका विभिन्न जिल्लाबाट ४ वटा कटुवा पेस्तोल, १२ बोरको बन्दुक १ नाल, भरुवा बन्दुक २ नाल, गरी कुल ७ वटा हतियार, १४ वटा राउण्ड, ६ वटा क्याप र १ सय ५० ग्राम बारुद, गाँजा १ सय ६७.६८ किलो, चरेश २५ किलो, ब्राउन सुगर २ प्याकेट र अन्य लागु औषध ७ हजार ८ सय ६६ पिस बरामद गरेको छ । लागूऔषध, विष्फोटक पदार्थ, हातहतियार ओसार प्रसारमा संलग्न ३६ जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सामाग्रीसहित पक्राउ गरिएका मानिसहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयहरुमा बुझाइएको छ ।

सशस्त्र प्रहरीले प्रदेश नं २ मा सीमा क्षेत्रहरुमा हुने अवैध चोरी, निकासी, तस्करी र अवैध हातहतियार तथा लागूऔषध ओसारपसार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले बताए ।

‘भ्रष्टाचारमा शुन्य सशनशीलताको नीतिलाई अवलम्बन गरेका छौं, जसले गर्दा प्रदेशमा अवैध गतिविधिहरुमा कमी आएको महसुस भएको छ,’ उनले भने, ‘मातहतका युनिटहरुमा पनि राम्रो काम गर्नुपर्छ भनी स्वस्थ प्रतिस्पर्धाको भावनाको विकास भइरहेको छ ।’

सशस्त्र प्रहरी कर्मचारीबाट कुनै किसिमको कमी कमजोरी भएको प्रमाण भेटिए बाहिनीमा उजुरी गर्न उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment