
२० कात्तिक, रौतहट । राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता आफताव आलमको बयान बुधबार दोस्रो दिन पनि सकिएन । बिहान १० बजे नै अदालत पुर्याइएका आलमको बयान साँझ ४ं.३० बजेसम्म चलेको थियो । जिल्ला अदालत रौतहटको चार नम्बर इजलाशमा भएको बयानमा आलमलाई २३ वटा प्रश्न सोधिएको छ ।
न्यायाधीश दीपक ढकालको इजलाशमा आलमलाई मिसिलअनुसार प्रश्न सोध्ने र त्यसको जवाफ लिने कार्य भएको सरकारी वकिल खडिन्द्रराज कटुवालले बताए ।
न्यायाधीशले आलमलाई घटनासम्बन्धी मिसिल, घटना भए नभएको, कसरी के भएको र आलममाथि लगाइएको अभियोगको बारेमा प्रश्न सोधेका थिए ।
आलमले अधिकांश प्रश्नको इन्कारी बयान दिएका थिए । उनले घटना नै नघटेको र आफूलाई झूठो आरोप लगाइएको जवाफ दिए ।
प्रहरीले अनुसन्धान गरी मिसिलमा सामेल गरेको अधिकांश प्रमाणहरुबारे सोधिएको प्रश्नमा पनि उनले इन्कारी जवाफ नै दिए ।
आलममाथि लगाइएका तीन मुद्दा मध्ये कर्तव्य ज्यान मुद्दा सम्बन्धी बयान मात्र बुधबार सम्पन्न भएको हो । आलमलाई भोलि ज्यान मार्ने उद्योग र बम विस्फोटन सम्बन्धी कसुरका बारेमा प्रश्न सोधिने अधिवक्ता पुष्पराज पौडेलले बताए ।
पहिलो दिनको बयानमा मंगलवार आलमलाई ९ वटा प्रश्न सोधिएको थियो, जसमा घटनाबारे प्रश्न गरिएको थिएन ।
बेन्चले मिसिल अध्ययन गर्ने पूर्ण समय नपाएका कारण पनि बयानको क्रम सुस्त भएको अदालतको श्रोतले बताएको छ । बयान बाँकी रहेकोले आलमलाई भने पुनः जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाइएको छ ।
पीडितको तर्फबाट बहसका लागि पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलासहित अधिवता पुष्पराज पौडेल, आशिक राम कार्की रौतहटमा छन् भने अधिवक्ता गोविन्द शर्मा बन्दी र ओम प्रकाश अर्याल पनि जाने तयारीमा छन् ।
प्रतिवादीका तर्फबाट बहस गर्न कानून व्यवसायी आएपनि वकालतनामा गर्न बाँकी रहेको जिल्ला अदालत रौतहटले जनाएको छ ।
प्रतिक्रिया 4