+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौंका तन्नेरी माथिल्लो डोल्पामा शिक्षा छर्दै

नवीन ढुंगाना नवीन ढुंगाना
२०७६ मंसिर ३ गते १३:२५

सकारात्मक सोच र बलियो इच्छाशक्तिले मान्छेलाई कहाँ–कहाँ पुर्‍याउँछ भन्ने एउटा ज्वलन्त उदाहरण हुन् विनोद शाही (३८) । काठमाडौंको भुरुङखेलमा जन्मिएका उनी १५ वर्षदेखि डोल्पाका विकट बस्तीहरूमा बालबालिकालाई कखरा सिकाइरहेका छन् ।

धोबीचौर, क्षेत्रपाटी र ठमेलमा खाँदैखेल्दै हुर्किंदा विनोदलाई वातावरणले सिनेमाको हिरो बन्न प्रेरित गरेको थियो । तर, राजधानीको मध्यम वर्गीय नेवार परिवारका २२ वर्षे नौजवानलाई समयले दुर्गमको समाज बदल्ने हिरो बनाएर माथिल्लो डोल्पातिर हुत्याइदियो ।

कुरा सन् २००४ तिरको हो, विनोद व्यवस्थापन विषयमा स्नातकसँगै चित्रकला पढ्न भर्खरै भर्ना भएका थिए । त्यही बेला एकजना चिनजानको दिदीले गाउँबाट काठमाडौं ल्याइएका बालबालिकालाई पढाउन अनुरोध गरिन् ।

ती दिदी आवद्ध संस्थाले बौद्धमा एउटा घर भाडामा लिएर माथिल्लो डोल्पाका करिब ८४ जना बालबालिका पढाउन काठमाडौं ल्याएको रहेछ । पहिलो दिन त्यो घरमा पुग्दा विनोदले मंगोलियन अनुहारका निकै दया लाग्दा बच्चाहरू भेटे । त्यो पहिलो दिन सम्झदै उनी भन्छन्, ‘ती बच्चाहरू मेरो भाषा बुझ्दैनथे, न त म उनीहरूको बुझ्थेँ ।’

बालबालिकाहरू डोल्पो भाषा मात्रै बोल्थे, बुझ्थे । विनोद आफूले भर्खर सिक्दै गरेको चित्रकलालाई ती बालबालिकासँग सञ्चार गर्ने माध्यम बनाए । बालबालिकाको निश्चल–निर्दोष व्यवहारले उनको मन समायो । केही दिनमा नै उनलाई औधी प्यारा लाग्न थाले ती बालबालिका । ‘हिउँ पर्ने हिउँद सकिएपछि उनीहरूलाई काठमाडौंबाट माथिल्लो डोल्पा फर्कानुपर्ने भयो’, विनोद भन्छन्, ‘संस्थाले उनीहरूलाई पढाउन सँगै जाने प्रस्ताव गरेपछि अरु केही नसोची मैले निर्णय लिएँ ।’

माथिल्लो डोल्पाको यात्रा

डोल्पा, अझ उपल्लो डोल्पा कति टाढा छ ? विनोदलाई भेउ थिएन । फेरि गएपछि कम्तीमा छ महिना काठमाडौं आउन पाइँदैन भन्ने थियो । विनोदले घरमा आफ्नो निर्णय सुनाउनासाथ ठूलो हडकम्प मच्चियो । विनोदको बुबा गणेशबहादुर शाही भन्छन्, ‘उसले कमाएर हामीलाई पालोस् भन्ने पटक्कै थिएन, एक्लो छोरा घरपरिवारबाट टाढा नहोस् भन्ने थियो ।’

त्यसमाथि देशमा माओवादी द्वन्द्व चर्केको त्यो समय काठमाडौं बाहिर जानु आफैंमा जोखिमपूर्ण ठानिन्थ्यो । तर, विनोदले एकपटक गएरै छाड्ने मन बनाइसकेका थिए । त्यसरी उनी २००५ मा आमा सुनकेशरी र दुइटी बहिनीलाई बेस्सरी रुवाउँदै गुण्टा कसेर माथिल्लो डोल्पा रवाना भए ।

त्यो सालको जाडो सकिनै लाग्दा व्यवस्थापनमा स्नातक र चित्रकलाको पढाइसमेत त्यागेर उकालो लागेका विनोद कुहिरोसँग लुकामारी गर्दै माथिल्लो डोल्पाको साल्दाङ गाविस (अहिले से–फोक्सुण्डो गाउँपालिका) पुगे । काठमाडौंबाट बस र नेपालगन्जबाट हवाइजहाजमा डोल्पाको जुफाल पुग्न सहजै भयो ।

त्यसपछिको यात्रामा भने हिउँ पग्लिएको भिरको उकालो बाटो, हिमाली सिरेटो र हात काटेजस्तो लाग्ने चिसो पानीको सामना गर्नु पर्यो । त्यसलाई सहेर मन बुझाउने एकमात्र उपाय थियो– हिमाली सौन्दर्यको रसपान ।

साल्दाङमा पुगेपछि…

दाताहरूको सहयोगमा चल्ने एउटा संस्थाले खटाएको शिक्षकको रुपमा उपल्लो डोल्पा पुगेका विनोदको मासिक तलब खाने–बस्ने सुबिधासहित १० हजार रुपैयाँ तोकिएको थियो । पढाउनुपर्ने बालबालिकासँग काठमाडौंबाटै घुलमिल थियो, तर डोल्पाका अरु कोहीसँग भाषा नमिलेर हैरान भयो । ‘शहरबाट गएका मान्छेलाई माओवादी हो कि भनेर शंका गर्थे’, विनोद सम्झन्छन्, ‘केही स्थानीय नेताले भड्काएका मान्छेहरूले दुःख दिन पनि खोजे ।’

उनका लागि डोल्पा अनौठो संसार थियो । दुई छाक खानका लागि मानिसहरूले गरेको दुःख देखेर उनी छक्क परे । काठमाडौंमा १० वर्षको बालकलाई आमाले खाना खुवाउने गरेको देखेका विनोदले डोल्पामा त्यो उमेरका केटाकेटीले सयौं भेँडा–खच्चड सम्हालेको देखे ।

त्यहाँ फोन, इन्टरनेट जस्ता सुबिधा कल्पना बाहिरका कुरा थिए । घरमा चिठ्ठी पठाउन कहिलेकाहीँ आइपुग्ने यात्रीहरूलाई पर्खनु पर्थ्यो । चिठ्ठीको जवाफ आइपुग्न तीन महिना लाग्थ्यो । ‘ठाउँ अलौकिक हो’, विनोद भन्छन्, ‘घरको यादले बेस्सरी सताउँथ्यो ।’

तर, रहँदाबस्दा डोल्पाली बालबालिकामा शिक्षाको ज्योति छर्नुमा जीवनको अर्थ देख्न थाले उनले । त्यो भावनाले पढाउने समय र दायरा बढाएको उनी बताउँछन् । ‘साल्दाङमा पढ्नु/पढाउनुपर्छ भन्ने भावनाको विकास पनि भएको पाएँ’, विनोद भन्छन्, ‘त्यसैले छ महिनाको लागि गएको तीन वर्ष बसेँ ।’

त्यसबीचमा उनी हप्ताको एक दिन पाँच घण्टा हिँडेर एउटा हिमाल पार गर्दै गोमास भन्ने गाउँमा पनि पढाउन थाले । त्यो गाउँमा बालबालिकालाई स्कुल पठाउनुपर्छ भन्ने भावना फैलाए । उनले त्यती दुःख गरेपछि गाउँलेहरू पनि यो ‘मास्टर’लाई सघाउनुपर्छ भन्दै तयार भए । रिम्पोचे (डोल्पो धर्मगुरु) को समेत सहयोगमा त्यहाँ विद्यालय स्थापना भयो ।

स्तुपको छायाँमा कक्षा

पाँच वर्ष डोल्पामा पढाउने क्रममा विनोदले नेपालीका लागि नेपालीकै सहयोगमा स्कुल चलाउन सकिन्छ भनेर २०११ मा निजाल गाउँमा अर्को स्कुल सुरु गरे ।

बालबालिकालाई स्तुप र गुम्बा छेउमा भेला गरेर पढाउन थालियो । ‘सबभन्दा सानालाई कक्षा एक, अलि ठूलोलाई दुई र सबभन्दा ठूलोलाई तीन कक्षामा राखेर पढाइ सुरु गरियो’, विनोद भन्छन्, ‘काठमाडौंबाट स्वयंसेवक शिक्षक लैजाने, विभिन्न व्यक्ति र संघसंस्थासँग कापी कलम माग्ने गर्दागर्दै २०१९ सम्ममा कक्षा १० सम्म सञ्चालन हुने अवस्थामा पुग्यो ।’

अहिले त नेपालहरूकै सहयोगमा डोल्पाभर १३ वटा यस्ता स्कुल खुलेको उनी बताउँछन् ।

स्नो याक फाउण्डेसनको जन्म

विनोद आफ्नै सुरमा डोल्पामा काम गर्थे । काठमाडौं आएका बेला घर परिवार, आफन्त, साथीभाइलाई आफ्नो कामलाई थप गति दिन सहयोगको याचना गर्दथे । विनोद भन्छन्, ‘हुँदैन कमैले भन्थे, तर व्यवहारमा सहयोग एकदमै कम हुन्थ्यो ।’

हजुरआमा र आमाका गहना बेचेर बालबालिकाका लागि कापी, कलम र किताब किनेको उनी बताउँछन् । डोल्पा नछोड्ने अडान र उनले गरेको मेहनत देखेर हितैषीहरूले गत वर्ष स्नो याक फाउण्डेसन नामको संस्था स्थापना गरिदिए । विनोदका एक साथी श्रीमणिराज शर्माका अनुसार, स्नो याकले डोल्पाका बालबालिकालाई सहयोग गर्न चाहने नेपाली दाताबाट आर्थिक सहयोग संकलन र छ महिने स्वयंसेवी शिक्षक खटाउने काममा समन्वय गर्छ ।

कम्तीमा कक्षा १२ पास गरेका जोकोही नेपाली तल्लो वा माथिल्लो डोल्पामा ६ महिना पढाउन जान सक्छन् । यस्ता शिक्षकलाई खानेबस्ने व्यवस्थाका साथै ६ महिनापछि ५० हजार रुपैयाँ खर्च दिने स्नो याकको नियम छ ।

बदलिएका विनोद

अहिले विनोद शाही भुरुङखेलको नेवार परिवारमा जन्मेका जस्ता विल्कुलै देखिन्नन् । उनको बोलीको लवज नै पहिलाको जस्तो रहेन । डोल्पाको लागि उनले आफ्नो पढाइ, परिवार र आफन्त छोडे । सुविधापूर्ण शहरमा बसेर पैसा कमाउने बिचारलाई मनमा घर गर्न नै दिएनन् ।

उनले आफ्नो जवानीको १५ वर्ष डोल्पामा बिताइसके, अझै कति बित्ने हो, थाहा छैन । ‘हिमाली गाउँहरूमा शैक्षिक वातावरण बनाइरहेको छु, मानिसहरू मलाई हिमालको सर भन्छन्’, विनोदले सुनाए, ‘सर भनेर पाएको नमस्कारले मलाई सन्तुष्टि दिन्छ, अहिलेलाई अरु थोक चाहिएको पनि छैन ।’

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?