+
+

आरुघाटको मुआब्जा एक हप्ताभित्रै तोकिने

विकास मरहट्टा विकास मरहट्टा
२०७६ मंसिर ९ गते १६:४६

९ मंसिर, गोरखा । बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा पर्ने आरुघाटलगायत बजार क्षेत्रको मुआब्जा निर्धारण एक हप्ताभित्र निर्धारण गर्ने तयारी भएको छ ।

जिल्ला मुआब्जा निर्धारण समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले केही दिनभित्र मुआब्जा निर्धारण हुने बताए । आफूहरु त्यसको अन्तिम तयारीमा रहेको जानकारी दिँदै उनले अनलाइनखबरसँग भने ‘हामीले गृहकार्य गरिरहेका छौं, एक हप्तामा मुआब्जा निर्धारण हुन्छ ।’

२०७२ सालदेखि रोक्का राखिएको जग्गाको अहिलेसम्म मुआब्जा निर्धारण नगरिएको भन्दै स्थानीय वासिन्दा आन्दोलनमा छन् । सरकारले बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने अन्य ठाउँको मुआब्जा वितरण गरे पनि बजार क्षेत्रमा पर्ने गोरखा र धादिङ गरी कुल १७ सय ७० रोपनी क्षेत्रफलको मुआब्जा निर्धारण गर्न बाँकी रहेको छ ।

गोरखा आरुघाट र आर्खेत बजारको गरी ६०९ र धादिङको विशालनगर र खहरे बजारको गरी ११ सय ६१ रोपनी क्षेत्रफलको मुआब्जा तोक्न बाँकी रहेको छ ।

ऊर्जा मन्त्रालयको पनि निर्देशन

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले बुढीगण्डकी आयोजनाको वातावारण, मुआब्जा वितरण, पुनर्वास तथा पनस्र्थापना इकाइलाई पत्राचार गर्दै सम्बन्धित निकायसँग समन्वय गरी यथाशीघ्र काम अगाडी बढाउन निर्देशन दिएको छ । मन्त्रालयले मुआब्जा निर्धारण र वितरण गर्न बाँकी क्षेत्रको काम तत्काल अगाडि बढाइ चालु आर्थिक वर्षमा विनियोजित बजेट र कार्यक्रम अनुसारको कार्य सम्पादन गर्न इकाइलाई निर्देशन दिएको छ ।

चालु आर्थिक वर्षका लागि पर्याप्त रकम विनियोजन भएको भन्दै मन्त्रालयले मुआब्जा वितरण कार्यलाई शीघ्र सम्पन्न गरी आयोजना कार्यान्वयनमा तिव्रता दिन भनेको छ । गत कात्तिक २९ गते बसेको मन्त्रिपरिषद बैठकले इकाइको म्याद कात्तिक ११ गतेदेखि लागू हुने गरी एक बर्षका लागि थपेको हो ।

‘इकाइको म्याद पनि थपिएको छ, मन्त्रालयले काम अगाडि बढाउन निर्देशन पनि गरिसक्यो,’ इकाइ प्रमुख कृष्णबहादुर कार्कीले भने, ‘त्यहीअनुसार हामी तिव्र रुपमा गृहकार्य गरिरहेका छौं ।’

अबको एक हप्ताभित्र बाँकी क्षेत्रको मुआब्जा निर्धारण हुने उनले आश्वासन दिए । ‘मोटामोटी सबै कुरा टुङ्गो लागिसक्यो, प्राविधिक कामहरु हुदैछन्, अब फाइनल सेप लिन मात्र बाकी छ,’ उनले भने ।
केही दिनमा सरोकारवाला निकायको बैठक बसेर अन्तिम टुङ्गो लगाउने कार्कीले बताए । ‘यो हप्ताभित्र बैठक बसेर सबै काम फाइनल गर्छाै,’ उनले भने ।

बुढीगण्डकी आयोजनाले हालसम्म २६ अर्ब ८४ करोड ४६ लाख मुआब्जा रकम वितरण गरिसकेको छ । गोरखातर्फ १३ अर्ब ९४ करोड ५९ लाख र धादिङ तर्फ १२ अर्ब ८९ करोड ४६ लाख रुपैयाँ मुआब्जा वितरण भइसकेको इकाइले जनाएको छ ।

मुआब्जा निर्धारणका लागि चालु आर्थिक वर्षमा १३ अर्ब रकम निकासा भएको छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?