+
+

‘अकुपाई टुँडिखेल’ अभियन्ताले मेयर भेट्न पाएनन्

मेयरको सचिवालय भन्छ : समय लिएका थिएनन्

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते १७:०९

९ मंसिर, काठमाडौं । अतिक्रमित टुँडिखेल क्षेत्रको संरक्षण गर्न सरकारलाई दबाब दिने उद्देश्यले सुरु भएको ‘अकुपाई टुँडिखेल’ अभियानका अभियान्ताहरुले काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई भेट्न पाएनन् ।

मेयर शाक्यलाई भेट्न अभियान्ताहरु दिउँसो २ बजे भेट्न महानगरपालिकाको कार्यालय सुन्धारा पुगेका थिए । उनीहरु पुग्दा मेयर शाक्य कार्यकक्षमा भेटिएनन् ।

अभियान अन्तर्गत सोमबार मेयर शाक्यलाई भेटेर तत्कालै खुलामञ्च अनुगमन गर्न र बन्द अवस्थामा रहेको खुलामञ्चलाई खुला बनाउन ध्यानाकर्षण गराउने भन्दै अभियान्ताहरु त्यहाँ पुगेका थिए । तर मेयरसँग भेट नभएपछि उनीहरुले उपमेयर हरिकला खड्गीलाई भेटेर फर्किए ।

अभियान्ता आलोक तुलाधरले मेयर शाक्यलाई नभेटिएको बताए । उनले अनुगमन समितिको संयोजक नै उपमेयर भएका कारण उपमेयरसँग भेटेर अनुगमन गर्न आग्रह गरिएको उनले जानकारी दिए ।

मेयर शाक्यको सचिवालयले भने अभियान्ताहरुले समय नै नलिएको बताएको छ । समय नै नलिई पुगेकाले भेट नभएको सचिवालयका एक अधिकारीले बताए ।

‘वहाँहरुले समय लिनुभएकै थिएन, हिजो दर्तामा चिठी छाडेरमात्रै जानु भएको रहेछ’ सचिवालयका एक कर्मचारीले भने, ‘मेयर सापको धेरै काम हुन्छ, समय नै नलिई कसरी भेट हुन्छ ?’

अभियान अन्तर्गत कात्तिक २३ गते पहिलो चरणको विरोध स्वरुप मानव साङ्लो बनाएर टुँडिखेल संरक्षणको सन्देश दिइएको थियो ।

राजधानीको मुटुमा खुल्ला स्थानका रुपमा रहेको टुँडिखेल हाल अव्यवस्थित पार्किङ, अनाधिकृत बसपार्क, पसलहरु सञ्चालन गरेर मासिदै गएको छ । यसलाई जोगाउन भन्दै सम्पदाप्रेमीहरुले गत कात्तिकदेखि अकुपाई टुँडिखेल अभियान चलाउँदै आएका छन् ।

कुनै समयमा एसियाकै ठूलो खुला मैदान मानिने टुँडिखेल अहिले साँघुरिँदै गएको छ । केही वर्षदेखि नेपाली सेनालाई समेत टुँडिखेल मिचेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?