Comments Add Comment

धरानको चुनावी अंकगणित : कसले मार्ला बाजी ?

पाँचवटा वडाको गणना सकियो, १५ वटा अझै बाँकी छन्

१५ मंसिर, धरान । धरान उमहानगरपालिकाको मतगणना रोचक मोडमा प्रवेश गरेको छ । कुल २० वटा वडा रहेको यस उपमहानगपालिकाका पछिल्ला पाँचवटा वडाको मतगणना भइसक्दा नेकपाका प्रकाश राईलाई कांग्रेसका तिलक राईले ४१४ मतान्तरले पछाडि पारेका छन् ।

आइबार अपरान्हसम्म वडा नम्बर १६, १७, १८, १९ र २० नम्बरको मतगणना सकिएको छ । पाँचवटा वडाबाट कांग्रेसका तिलक राईले ६८५८ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राईले ६४३४ मत प्राप्त गरेका छन् । दुईवीचको मतान्तर ४१४ छ ।

विगतमा लगातार वामपन्थीहरुले जित्दै आएको धरानमा कांग्रेसको बढोत्तरी र नेकपाको खस्कँदो मतलाई लिएर नेकपाका कार्यकर्तामा निराशा देखिन थालेको छ भने कांग्रेस कार्यकर्ता उत्साहित बनेका छन् ।

अझै १५ वटा वडाहरुको मत परिणाम आउन बाँकी नै रहेकाले धरानको मेयर पदमा नेकपाका प्रकाश राईले जित्छन् या कांगेसका तिलक राईले बाजी मार्छन् भनेर अहिले नै भनिहाल्ने बेला भइसकेको छैन ।

यहाँ अहिलेसम्मको प्रारम्भिक मतगणनाको रुझानका आधारमा पूर्वविश्लेषण गर्ने प्रयास गरिएको छ

पाँचवटा वडाको मत परिणाम : तुलनात्मक विश्लेषण

धरान उपमहानगरपालिकाको वडा नम्बर २० मा अघिल्लो स्थानीय चुनावमा नेकपाले जितेको थियो । यो उपचुनावमा पनि यस वडाबाट नेकपाले नै लिड गरेको छ । २० नम्बर वडाबाट उपचुनावमा नेकपाले ९६७ मत पाएको छ भने कांग्रेसले ७३४ मत प्राप्त गरेको छ ।

वडा नम्बर १९ मा पनि अघिल्लो चुनावमा नेकपाले नै एकछापे जित हासिल गरेको थियो । तर, यसपटक यो वडामा नेकपालाई कांग्रेसले उछिनेको छ । यस वडामा नेकपाले ८१३ मत पायो भने कांग्रेसले ८७९ मत ल्याएर नेकपालाई जित्यो ।

त्यस्तै, १८ नं चाहिँ यसअघि नेपाली कांग्रेसले वडाध्यक्षसहित चार सीट जितेको ठाउँ हो । यसपालि पनि यो वडाबाट कांग्रेसले नै लिड गरेको छ । कांग्रेसले यस वडाबाट ६७९ मत पाएको छ भने नेकपाले ५२९ मत पाएको छ ।

वडा नं १७ माओवादी प्रभावित ठाउँ हो । अघिल्लो चुनावमा यस वडाका पाँचै सीटमा माओवादीले जितेको थियो । ०७४ को चुनावमा यहाँबाट मेयरको मत तत्कालीन एमालेका तारा सुब्बालाई भन्दा बढी माओवादीका अइन्द्र विक्रम बेघालाई गएको थियो । यस उपचुनावमा १७ नं वडाले नेकपाका प्रकाश राईलाई नै बढी मत दिए पनि अपेक्षितरुपमा धेरै मत थप्न सकेन । यो वडामा नेकपाले पाएको मत कांग्रेसको भन्दा ४० मात्र बढी छ ।

वडा नम्बर १७ बाट नेकपाका प्रकाश राईलाई २२६५ मत झर्दा कांग्रेसले २२२५ मत पाएको छ । नेकपाको जित सुनिश्चित गर्नका लागि यो वडाले अझै बढी योगदान गर्नुपथ्र्यो, गर्न सकेन । कांग्रेसले यो वडा नेकपालाई ४० मतको अन्तरमा सीमित राख्न सफल भयो ।

अझ, वडा नम्बर १६ मा आइपुग्दा त झनै कांग्रेसले आफूलाई ५७ मतको पछि रहेको अवस्थाबाट ३३४ मतले लिड गर्ने अवस्थामा पु¥याएको छ । एक प्रकारले भन्ने हो भने यो नेकपाका लागि धक्का जस्तै हो ।

समग्रमा, पाँचवटा वडाहरुमध्ये यसअघि नेकपाले जितेका चारवटा र कांग्रेसले जितेको एउटा वडाको मत गणनामा सकिएको छ । विगतमा आफूले जितेका चारवटा वडाहरुबाट पनि कांग्रेसलाई लिड गर्न नसक्दा नेकपामा चुनौती थपिएको छ ।

गणना हुन बाँकी वडाहरुको विश्लेषण

अब मतगणना जारी रहेका धरान उपमहानगरपालिकाका १५ वटा वडाहरुको सामान्य चर्चा गरौं ।

गत स्थानीय चुनावकै परिणामलाई मात्रै आधार मान्ने हो भने नेकपाले अझै आत्तिइहाल्नुपर्ने अवस्था छैन । तर, वडा नम्बर १६ कै जस्तो स्थिति आयो भने चाहिँ नेकपाको हार लगभग वडानम्बर ६ सम्मको गणनाबाटै पूर्वानुमान गर्न सकिने छ ।

किनभने अब गणना हुन बाँकी रहेका वडा नम्बर ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, र १५ यसअघि नेकपाले लगभग एक छत्र जितेका वडा हुन् । माथिबाट मतगणना गर्दै वडा नम्बर ६ सम्म पुग्दाखेरि नेकपाले कांग्रेसलाई लगभग हजार मतले पछि पार्न सक्यो भने प्रकाश राईको जितको सम्भावना बढ्न सक्छ । र, नेकपाको मुख्य भोट बैंक भनेको पनि अब वडा नम्बर ६ देखि १५ सम्म हो । बीचको वडा नम्बर १४ चाहिँ कांग्रेस बाहुल्य वडा हो ।

वडा नम्बर ६ बाट मुनि गएपछि केही वडामा कांग्रेस बाहुल्य मत छ, जुन वडाहरु नेकपाका लागि फलामे ढोका हुन् । ०७४ को चुनावमा नेपाली कांग्रेसले वडा नं १, २ र ६ मा अग्रता लिएको थियो । यसपटक पनि यी वडाबाट कांग्रेसले नै लिड गर्न सक्ने अहिलेसम्मको रुझानले देखाएको छ ।

निश्कर्षमा भन्दा, अब नेकपा र कांग्रेसको ब्याटल वडा नम्बर १ देखि वडानम्बर १५ सम्म हुनेछ । यीमध्ये ०७४ को चुनावको आधारमा कांग्रेस बाहुल्य वडाहरु १, २ ,६ र १४ हुन् भने विगतका नेकपा बाहुल्य वडाहरु ३, ४, ५, ७, ८, ९, १०, ११, १२, १३ र १५ नम्बर वडा हुन् । तर, नेकपाकै बाहुल्य वडाहरुबाट कांग्रेसले लिड गर्न थालेको अहिलेको रुझानले प्रकाश राईलाई दबावमा पार्न थालेको देखिन्छ ।

तर, अब हेरौं, वडा नम्बर ६ सम्म गन्दै जाँदा के हुन्छ , त्सपछि भन्न सकिने छ कि धरानको मेयरमा कसले बाजी मार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment