१७ मंसिर, काठमाडौं । रसियन साहित्यकार निकोलाइ ओस्त्रोभ्स्कीले आफ्नो चर्चित पुस्तक ‘हाउ द स्टिल ह्वाज टेम्पर्ड’ (अग्निदीक्षा) मा लेखेका थिए, ‘बोल्सेभिक स्पिरिटको मन र कुँजिएको शरीर लिएर बाँच्नु असाध्यै सकसपूर्ण हुँदोरहेछ ।’
अघिल्लो मंगलबारदेखि अस्पतालको बेडमा खुम्चिएर बस्नुपर्दा मुलुकका कार्यकारी केपी शर्मा ओलीको बेचैनी ओस्त्रोभ्स्कीको औपन्यासिक पात्रको भन्दा कम छैन, बढी नै छ ।
प्रधानमन्त्री ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल अन्तरगतको मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० गते भर्ना भएका हुन् । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका उनी आजसम्म अस्पतालमै छन् । आफ्नो स्वास्थ्यमा सुधार भइरहेको र सामाचारहरु पढ्न सक्ने भएको प्रधानमन्त्रीले सोमबार भिडियो सन्देशमार्फत् जनाऊ दिएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार अस्पतालकै बेडबाट आइप्याडमा साग गेमको उदघाटन समारोह हेरे । उनले राखेपका सदस्य–सचिव रमेश सिलवाललाई आयोजना भव्य बनाएको भन्दै धन्यवादसमेत दिए । उसैदिन प्रधानमन्त्रीले उद्घाटन कार्यक्रम नसकिँदै मञ्चबाट किन हिँडेको भनेर प्रचण्डको आलोचनासमेत गर्न भ्याए ।
मनले भन्छ काम, शरीरले भन्छ आराम !
निकटजनका अनुसार प्रधानमन्त्रीको शारीरिक स्वास्थ्यमा त सुधार आइरहेको छ, तर मनभित्रको बेचैनीचाहिँ घट्नुको साटो बढेको बढ्यै छ । उनी अस्पतालबाट सकेसम्म चाँडो बालुवाटार फर्कन चाहन्छन् । तर, चिकित्सक र आफन्तजनचाहिँ उनलाई अझै एक सातासम्म अस्पतालमै रोकेर राख्ने प्रयासमा छन् ।
प्रधानमन्त्रीको स्वाभाव सधैं सक्रिय रहने खालको छ । तर, शरीरले आरामको माग गरिरहेको छ । सक्रिय भइरहनुपर्ने स्वाभाव र आराम गर्नुपर्ने शरीरवीचको तालमेल नमिल्दा प्रधानमन्त्रीमा छटपटी बढेको स्रोत बताउँछ । तथापि शरीरलाई पर्याप्त आराम पुगोस् भनेर कम्तिमा १५ दिन अस्पतालमै राख्ने निर्णय प्रधानमन्त्रीका निकटस्थहरुले गरेको बुझिएको छ ।

प्रधानमन्त्री निकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘बालुवाटार आएपछि उहाँ आराम नगरी काममा खटिन थालिहाल्नुहुन्छ । मोबाइल हातमा प¥यो भने मान्छेहरुलाई आफैं फोन गरेर भेट्न बोलाइहाल्नुहन्छ, उहाँलाई कसैले रोक्न सक्दैन । अस्पतालमा रहँदा यो समस्या हुँदैन ।’
प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यलाई हेलचेक्र्याइँ गर्ने गरेको, राति अबेलासम्म अध्ययन र भेटघाटमा खटिएर ढीलो सुत्ने गरेको र शरीरलाई आराम नपुगेको किचेन क्याबिनेटका मानिसहरुको अनुभव छ । श्रीमती राधिका शाक्यको आग्रहलाई समेत प्रधानमन्त्रीले नटेर्ने गरेको स्रोतको भनाइ छ । र, यस्तै धपेडीका कारण उनी पछिल्लो समय बाक्लै बिरामी पर्न थालेका छन् ।
सिंगापुरदेखि ग्राण्डीसम्म
प्रधानमन्त्री ओली गत साउन १८ गते उपचारका लागि सिंगापुर गएका थिए । त्यहाँ १० दिन उपचार गरेर २७ साउनमा उनी स्वदेश फर्किए । चिकित्सकहरुले धपेडी नगर्न भन्दाभन्दै उनी सिंगापुरबाट फर्केपछि विभिन्न कार्यक्रममा पुरानै तरिकाले सक्रिय रहे ।
१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेर सेवन गर्दै आएको औषधि फेर्नुपर्ने भएकाले ओली सिंगापुर गएका थिए । नयाँ औषधि चलाउँदा त्यसले ‘साइड इफेक्ट’ गर्छ कि गर्दैन भनेर १० दिनसम्म जाँच गरिएको उनका निजी चिकित्सक एवं सचिवालयका अधिकारीहरुले जानकारी दिएका थिए ।
सिंगापुरबाट फर्केको १० दिनपछि प्रधानमन्त्री पुनः भदौ ५ गते दोस्रोचोटि सिंगापुर गए । फलोअपका लागि गएको भनिए पनि दोस्रोपटक उनी १५ दिनसम्म सिगापुरको अस्पतालमा बसे । मृगौलाले कम काम गरेको हुनाले सातौं चरणसम्म प्लाज्मा फेरेसिस विधिबाट उपचार गरेपछि उनी भदौ २० गते स्वदेश फर्किए । त्यसवीचमा सिंगापुरबाटै भिडियो कन्फरेन्समार्फत क्याबिनेट बैठक राखियो ।
अन्ततः प्रधानमन्त्री ओलीको मृगौलामा प्लाज्मा फेरिसिसबाट पनि सुधार आएन । यो अवस्थामा सिंगापुरबाट फर्केर दोस्रोचोटि पनि आराम गर्नुपर्नेमा प्रधानमन्त्री विभिन्न शिलन्यास कार्यक्रम र भाषण इत्यादिमा सक्रिय भए । उनको सचिवालय समेत प्रधानमन्त्रीलाई केही भएको छैन, सामान्य अवस्थामा हुनुहुन्छ भन्ने सन्देश दिनेतिर लाग्यो ।
यहीवीचमा प्रधानमन्त्री कात्तिक ८ र ९ गते अजरबैजानमा आयोजित असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी भए, जबकि परराष्ट्र मन्त्री जाँदा पनि पुग्थ्यो । अजरबैजानबाट फर्केकै दिन सिस्नुपानी नेपालको देउसी कार्यक्रममा दिनभर सहभागी भएका प्रधानमन्त्री ओली भोलिपल्टै ग्राण्डी अस्पतालमा भर्ना हुन पुगे ।
प्रधानमन्त्री नियमित चेकअपका लागि ग्राण्डी अस्पताल पुगेको र केहीबेरमा बालुवाटार फर्कने सचिवालयले सूचना दिइरहेको थियो, तर चिकित्सकले बेडमा भर्ना गरे । भर्नामात्रै गरेनन्, प्रधानमन्त्रीको डायलासिससमेत सुरु गरियो । र, त्यहीँबाट ओलीको नियमित डायलासिस या पुनः प्रत्यारोपणका दुई विकल्पहरु सार्वजनिक गरियो ।
अहिले उनको नियमित डाइलासिस भइरहेको छ साथै, मृगौला रि–ट्रान्सप्लान्ट गर्ने तयारी पनि । अब एपेन्डिसाइटिसको शल्यक्रियाबाट पूर्ण स्वस्थ्य हुनासाथ मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने निश्कर्षमा चिकित्सकहरु पुगेका छन् । मृगौला ट्रान्सप्लान्ट स्वदेशमै गर्ने कि विदेशमा भन्नेबारे टुंगो भने लागिसकेको छैन ।
अब तीन–चार महिना राजकाज चलाउन गाह्रो
एपेन्डिसाइटिसको शल्यक्रियापछि स्वस्थ भएर यसैसाता डिस्चार्ज भए पनि प्रधानमन्त्री ओलीले आगामी तीन/चार महिना सक्रियतापूर्वक राजकाज गर्न सक्ने अवस्था नरहेको नेकपाका एक नेताले सुनाए ।
‘एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएर इन्फेक्सन पूर्णतः नियन्त्रणमा आइसकेपछि लगत्तै मृगौला रि–ट्रान्सप्लान्ट गर्नुपर्नेछ,’ चिकित्सकहरुको भनाइ उद्धृत गर्दै ती नेता भन्छन्, ‘रि–ट्रान्स्प्लान्ट ठूलो विषय होइन, एकाध हप्तामै अस्पतालबाट घर फर्कन सकिन्छ, तर ट्रान्सप्लान्ट गरेको कम्तिमा तीन महिनासम्म इन्फेक्सन नहोस् भनेर आराम गर्नुपर्ने हुन्छ ।’
नेकपा नेताले सुनाएको यो हिसाब अनुसार अब प्रधानमन्त्रीले कम्तिमा ३/४ महिना राजकाजमा शारीरिक सकृयता देखाउन गाह्रो छ ।
पुरानो मेडिकल कलेज चितवनमा कार्यरत बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. राकेश मिश्रका अनुसार मृगौला पुनः प्रत्यारोपण गरेको व्यक्ति ५/७ दिनमा नै डिस्चार्ज हुन त सक्छ, तर इन्फेक्सनको उच्च जोखिम हुने भएकाले कम्तीमा ३ महिना आराम गर्नैपर्ने हुन्छ ।
डा. मिश्रका अनुसार उमेर बढी भएको मानिसको शरीरमा ‘इम्युनिटी पावर’ कम हुने भएकाले इन्फेक्सनको जोखिम अझ बढी हुन्छ । डा. मिश्र भन्छन्, ‘मृगौला पुनः प्रत्यारोपण गरेको व्यक्तिले तीन महिनाको आरामपछि पनि पहिलेजस्तो सक्रियता देखाउनु जोखिमपूर्ण हुन्छ ।’
क्याबिनेट प्रभावित हुन्छ कि हुँदैन ?
प्रधानमन्त्री अस्पताल भर्ना भएपछि गत मंगलबारयता मन्त्रिपरिषद बैठक बसेको छैन । प्रधानमन्त्रीले अघिल्ला दुईवटा क्याबिनेटमा ३०/४० वटा निर्णय गराएका थिए ।
एपेन्डिसाइटिसको अप्रेसनका बेला एक सातासम्म क्याबिनेट प्रभावित भए पनि मृगौला पुनःप्रत्यारोपणपछि सरकारका कामकारवाही अझै बढी अवरुद्ध हुने देखिन्छ ।
सरकारी अधिकारीहरु भने प्रधानमन्त्री अस्पतालमै रहँदा पनि मन्त्रिपरिषदको निर्णय हुन सक्ने दाबी गर्छन् । प्रधानमन्त्रीको अस्पताल बसाइले सरकार सञ्चालनमा असर नपर्ने दाबी गर्दै नेकपाका एक नेताले अनलाइनखबरसँग भने, ‘मन्त्रीले आफ्नो रायसहितको डकुमेन्ट पठाउने, त्यसमा प्रधानमन्त्रीको कुनै प्रश्न भए मन्त्रीले जवाफ दिने हो भने भेट नै भइरहनुपर्दैन, त्यो पनि क्याबिनेट नै हुन्छ, भिडियो कन्फरेन्सबाट पनि मन्त्रिपरिषद बैठक गर्न सकिन्छ ।’
प्रधानमन्त्रीले सरकारको नेतृत्व अरु नेतालाई हस्तान्तरण गरेर आराम गर्नुपर्ने आवाज पनि झिनोरुपमा नउठेको होइन, तर नेकपाले यसको विपरीत निर्णय गर्दै आगामी पाँच वर्षसम्म ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने निर्णय गरिसकेको छ । प्रधानमन्त्रीलाई आराम गर्न सुझाव दिनेहरुलाई जवाफ दिँदै नेकपा अध्यक्ष प्रचण्डले पोखराको चुनावी सभामा भने, ‘६५ वर्षको जवानलाई आराम गर भन्ने ? यो त अलि मिलेन नि !’
‘चिकित्सा विज्ञानले पद चिन्दैन’
चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीले ‘मेडिकल साइन्स’लाई चुनौती दिन खोज्दा समस्या सिर्जना हुने गरेको छ । प्रथमतः उनी आफू अशक्त नरहेको देखाउने प्रयासमा छन् । त्यस्तो देखाउनकै लागि उनी सहभागी नहुदा पनि हुने कार्यक्रमहरुमा पनि सहभागी हुन्छन्, अस्पतालबाट डिस्चार्जका लागि चिकित्सकलाई दबाव दिन्छन् ।
ग्राण्डी अस्पतालमा डाइलासिस गरेपछि थप एक दिन आराम गर्न चिकित्सिकले भन्दाभन्दै प्रधानमन्त्रीले ‘फोर्स डिस्चार्ज’ लिएको अस्पताल सूत्रको भनाइ छ ।
एपेन्डिसाइटिसको शल्यक्रिया गरेको तीन दिनपछि नै प्रधानमन्त्रीले चिकित्सकलाई ‘डिस्चार्ज पेपर’मा हस्ताक्षर गर्न दबाव दिएको अस्पताल स्रोत बताउँछ । तर, चिकित्सकले आफ्नै रिस्कमा जान सक्नुहुन्छ, हामी सही गर्दैनौं भनेपछि उनी हालसम्म अस्पतालमै रहन बाध्य भएका छन् । ग्राण्डीमा जस्तो उनले मनमोहनका चिकित्सकलाई जित्न सकेका छैनन् ।
प्रधानमन्त्रीले कहिले आईसीयुबाट निकालेर जनरल वार्डमा सार, कहिले नाकमा राखेको अक्सिजन पाईप हटाइदेओ भन्ने गरेको अस्पताल स्रोत बताउँछ । उपचारमा संलग्नमध्येका एक चिकित्सक भन्छन्, ‘उहाँ देशको प्रधानमन्त्री हो, तर डाक्टर होइन । डाक्टरले भनेबमोजिम बिरामीले चल्नुपर्ने हुन्छ, ‘मेडिकल साइन्स’ले ‘भीआइपी’ भनेर चिन्दैन ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4