+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
साहित्य महोत्सवमा विनोद चौधरी :

‘पुरानो मिथकबाट बाहिर निस्कौं, विश्व आइडियाले चल्छ’

‘वर्षमा दुई–चारपटक वाईवाई खान्छु, बढी खायो भने दूध पनि विष हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३० गते १५:३४

अर्बपति उद्योगी विनोद चौधरी भन्छन्, ‘नेपाल आफैंमा सकारात्मकता भएको बलियो ब्रान्ड हो ।’

पोखरामा जारी साहित्य महोत्सवमा ‘नेपाली बजारको विश्वव्यापीकरण’ शीर्षकको छलफलमा सहभागी बनेका चौधरीले भने, ‘नेपाल विश्वमा त्यस्तो पाँच देशमा पर्छ, जहाँ विश्वका प्रत्येक नागरिक एकपटक आउन चाहन्छन् ।’

समस्यालाई अवसरका रुपमा लिँदा नै आफूले सफलता पाएको चौधरीको भनाइ छ । उनले संकटकालीन अवस्थामा कसरी उद्योगको बलियो आधारशिला निर्माण गर्न सकिन्छ भन्ने विषयमा पुस्तक लेखिरहेको जानकारीसमेत दिए ।

सूचना प्रविधिको विकास र विश्वव्यापीकरणले गर्दा विकासन्मुख र विकसित देशका नागरिकलाई उद्यमी बन्ने समान अवसर भएको उनको विश्लेषण छ । उनी प्रत्येक युवालाई उद्यमशील बन्न र नसके उद्यमीको पछि लाग्न सुझाव दिन्छन् ।

अहिलेको विश्व आइडियाबाट चल्ने बताउँदै चौधरीले सफल बिजनेश म्यान हुनका लागि घरानियाँ पृष्ठभूमि जरुरत नपर्ने विभिन्न दृष्टान्तहरु पेश गरे ।

वाईवाई चाऊचाऊलाई अन्तरराष्ट्रियकरण गरेर न्युयोर्क सहरमा सूचीकरण गर्ने सपना सुनाउँदै चौधरीले वर्षमा आफूले दुई/चारपटक वाईवाई खाने गरेको सुनाए ।

प्रतिनिधिसभा सांसदसमेत रहेका चौधरीसँग पोखरामा भएको छलफलको सम्पादित अंश :

आफ्ना उत्पादनलाई अन्तराष्ट्रियकरण गर्दा सँगसँगै नेपालको पनि विश्वव्यापीकरण हुन्छ भन्ने सोच्नुभएको हो ?

नेपाल आफैंमा सकारात्मकता भएको बलियो ब्रान्ड हो । यो ब्रान्ड केसँग गाँएिको छ ? र त्यसलाई अझै उचाईमा पुर्‍याउन के गरेका छौं भन्ने कुरा महत्वपूर्ण हो । नेपालको ब्रान्ड सगरमाथा, बुद्ध, ट्रेकिङ, पशुपतिनाथसँग गाँसिएको छ । नेपाल विश्वमा त्यस्तो पाँच देशमा पर्छ जहाँ विश्वका प्रत्येक नागरिक एक पटक आउन चाहन्छ ।

आजको यो ‘कनेक्टिभिटीको’ को युगमा हामीले उद्यमशिलता र सिर्जनशिलताको माध्यमबाट पनि नेपाललाई विश्वमा चिनाउन सक्छौं । नेपालले धेरै वस्तु उत्पादन र आविस्कार गरेर विश्वभरी पुर्‍याउन सक्दछ ।

जतिबेला नेपाली बजार भारतमा उत्पादित पार्लेजी र ब्रिटानीया विस्कुटले नेपाली बजार ओगटिरहेका थिए । त्यतिबेला म भर्खर–भर्खर व्यापारमा प्रवेश गरेको थिएँ । उताको बिस्कुट यता आउनसक्छ भने यताको विस्कुट उता किन जान सक्दैन भन्ने प्रश्नले घचघच्यायो ।

त्यसपछि पशुपति बिस्कुटको उत्पादन सुरु गरेँ । एक दिन त्यस्तो समय पनि आयो, पशुपति बिस्कुट पुरै भारतमा त नभनु उत्तर–पूर्वी भारत, उत्तर प्रदेश र विहारमा लोकप्रिय ब्रान्ड बन्यो ।

वाईवाई चाउचाउको उत्पादन ४० वर्षदेखिको मिहिनेत हो । पशुपति विस्कुटको यात्राबाट सिकेको अनुभवको धरातलमा उभिएर वाईवाईलाई विश्वभरि पुर्‍याएको हुँ । उत्पादन, उत्पादन प्रविधिमा दम छ भन्ने दृष्टिकोणबाट यसलाई विश्वव्यापीकरण गर्न सफल भएका हौं । विश्वको ८० प्रतिशत भन्दा बढी स्थानमा हामी भौतिक रुपले नै उपस्थित छौं । जसलाई ६ क्लस्टरमा विभाजन गरेका छौं । व्यापार बढ्दो छ ।

मलाई लाग्छ, अब त्यो दिन पनि टाढा छैन, नेपालको वाईवाई, चौधरी ग्रुपको वाईवाई विश्वको सबैभन्दा परिचित मानव निर्मित ब्रान्डको रुपमा उभिनेछ र त्यसले नेपाललाई थप चिनारी दिनेछ ।

चौधरी ग्रुपले आफूलाई विश्वव्यापी गर्ने क्रममा चाउचाउ र होटलमा केन्द्रित भएको देखिन्छ । त्यसबाहेक अरु कुन–कुन कुरालाई अन्तर्रायिष्ट्रयकरण गर्दै हुनुहुन्छ ?

दुनियाँ धेरै ठूलो छ । पहिला यी दुईवटा कुरालाई माथिसम्म पुर्‍याउँ । म चाहन्छु वाईवाई कुनै दिन न्यूयोर्कको शेयर बजारमा सूचीकृत होस् । त्यसमा नेपालीहरू पनि सहभागी हुन सकोस् । नेपालभित्र त हुनसक्छन् नै । पहिला म त्यो ठाउँमा पुगौं अनि तेस्रो कुरा खोज्छु ।

यहाँ पनि भेजेटेरियन हो क्यारे, आफ्नो भेजेटेरियन वाईवाई हप्तामा कतिपटक खानु हुन्छ ?

म भेजेटेरियन हुँ । वर्षमा दुई–चार पटक वाईवाई खान्छु । सन्तुलितरुपमा खानु भएन भने जे पनि स्वास्थ्यका लागि हानीकारक हुन सक्छ ।

चालीस वर्ष अगाडि वाईवाईको मूल्य १० रुपैयाँ थियो । अहिले २० रुपैयाँ जति पुगेको छ । २० रुपैयाँमा यत्तिको क्यालोरी र न्यूट्रिसन भएको खाने कुरा पाउन सक्दैन । यो तुलनात्मक कुरा हो । त्यति रुपैयाँमा बजारमा पाइने वस्तुमध्ये यो सबैभन्दा राम्रो हो भन्न खोजेको हुँ ।

यहाँले वाईवाई राम्रो छ भन्नुभयो । कतिपयले बच्चालाई काँचो चाउचाउ दिनुहुँदैन भन्छन् । यथार्थ के हो ? स्वास्थ्यको दृष्टिले चाउचाउ खानु राम्रो हो र ?

जापान, कोरिया, चीनजस्ता देशमा शताब्दियौंदेखि चाउचाउ खाएर बाँचिरहेका छन् । विश्व स्वास्थ्य संगठनले साढे एक वर्ष भन्दा कम उमेरका नाबालकहरूलाई निश्चित मात्राभन्दा बढी चाउचाउ खुवाउनु हुँदैन भन्छ । यो जानकारी इन्टरनेटमा पनि छ । अन्यथा, यसमा कुनै सीमा छैन, आफ्नो शरीरको क्षमता अनुसार खाने हो । अघि पनि भने, बढी खायो भने त दूध पनि विष हुन्छ ।

सामान्यतया अस्थिर सरकार, संकटकाल हुनुलाई प्रतिकुलताको रुपमा लिइन्छ । चौधरी ग्रुपले स्थापना यता अनेकौं राजनीतिक उतारचढाव भोग्यो । एकदमै अफठ्यारो स्थितमा पनि यहाँले चौधरी ग्रुपको विकासक्रमलाई रोक्नु भएन । गैर–लोकतान्त्रिक सरकार भएको ठाउँमा आर्थिक गतिविधि गर्न सजिलो हुन्छ कि ? अथवा अलोकतान्त्रिक सरकार भएको अवस्थालाई कसरी अवसरको रुपमा ढाल्नुभयो ? श्रीलंका जस्तो समस्यामा परेका देशमा ब्रान्ड स्थापित गर्नुभयो । त्यसका लागि कस्तो सोच र प्रविधिको प्रयोग गर्नुभयो ? कहिलेकाँही समस्याग्रस्त ठाउँमा पो छिरेछु भन्ने लाग्यो कि लागेन ?

एउटा सानो मुलुकको साधारण परिवारमा जन्मिएर ठूलो सपनाबोझ बोक्ने मान्छेले समस्याको हिसाब–किताब गर्न लाग्यो भने कहीँ पनि पुगिँदैन । भारतको उत्तर–पूर्वी भाग साह्रै नै उपेक्षित क्षेत्र हो । जहाँ, स्वतन्त्र भारतको ७० वर्षे इतिहासपछि पनि केही न केही राजनीतिक अवरोध भइ नै रहेको छ । त्यसले कुनै न कुनै रुपमा संकटकाल र राजनीतिक अस्थिरता भोगेको छ ।

जहाँ भारतका ठूला उद्यमीहरू सजिलैसित पस्न खोज्दैनथे । त्यही ठाउँलाई मैले अवसरको रुपमा हेरेँ र व्यापार सुरु गरेँ । अरुका लागि समस्याग्रस्त त्यो ठाउँमा मेरो लागि भने सबैभन्दा बढी अवसर भएको ठाउँ बन्यो ।

राजनीतिक, प्रशासनिक, युद्ध जस्ता कठिन परिस्थिति भए पनि तपाई आफूलाई त्यसबाट बचाएर अगाडि लैजाने तरिकाहरू हुन सक्छन् । तपाईको उद्धेश्य–दृष्टिकोण स्पष्ट छ र आफूलाई सन्तुलित रुपमा प्रस्तुत गर्न सक्नु भने आफूलाई अगाडि बढाउन सक्नुहुन्छ ।

नवलपरासीको चौधरी उद्योग ग्राम माओवादीको बाह्र वर्षे द्वन्द्वकालमै बनेको हो । एक दिन पनि निर्माण रोकिएन । सानातिना घट्ना भए होलान् तर ठूलो अवरोध भएन । त्यसको पछाडि के सोच पनि रह्यो भने दुबै पक्षले त्यसलाई यो उत्पादन केन्द्र हो, यसको आवश्यकता छ, विकासको प्लेटर्फम हो, जनताले आफ्नो ठान्ने संस्था हो त्यसैले यसलाई जोगाएर राख्नुपर्छ भन्ने रुपमा लिएको हुनुपर्छ ।

त्यसो त द्वन्द्वकालमा कुनै समस्या नै नभएको भन्ने पनि होइन । चौधरी ग्रुपमा अगाडिबाट सेना र पछाडिबाट माओवादी छिर्थे । दुबैले एक अर्कालाई देखेको भए त्यहाँको अवस्था अर्कै हुन सक्थ्यो । हामी दुबैसँग लड्ने अवस्थामा थिएनौं ।

संकटकालीन अवस्थामा पनि कसरी उद्योगको बलियो आधारशिला निर्माण गर्न सकिन्छ भन्ने विषयमा पुस्तकको तयारी गर्दैछु । नेपालमा मात्रै होइन श्रीलंका पनि यस्तो अनुभव रह्यो । ताजसँग समुन्द्र होटलको जोइन्ट भेन्चर गर्‍यौं, त्यही बेलामा कोलम्बो विमानस्थलमा छ वटा विमानलाई लिट्टे (लिवरेसन टाइगर्स अफ तमिल इलम ) ले बन्धक बनाएको थियो । श्रीलंकन उद्यमीहरू समेत त्यहाँ हात लगाउन तयार थिएनन् । बाहिरका मान्छेको त कुरै छाडौं । तर, मैले त्यसलाई अवसरका रुपमा देखेँ ।

सीमित पुँजी, स्रोध, साधन भएका व्यक्तिसँग सीमित विकल्प हुन्छ । जब त्यो छनोट कठिन हुन्छ र सीमित विकल्पका बावजुद पनि अगाडि बढ्न खोज्छ त्यो नै अवसर हुन्छ । त्यस्तो अवसरमा जसले साहस देखाउन, छलाङ मार्न सक्छ, उसैले धेरै हदसम्म नयाँ आयाम निर्माण गर्न सक्दछ ।

तपाईंको मतलव, जसका आँखामा उद्यमी बन्ने सपना छ, सफल हुन चाहन्छ, नेपाली ब्रान्डलाई अगाडि बढाउन चाहन्छ । उसले कहाँ सबैभन्दा बढी समस्या छ खोजेर हिँड्नुपर्छ भन्ने हो ?

(हाँस्दै), खोजी खोजी कहाँ कहाँ समस्या छ त्यही जानुपर्छ भन्ने खोजेको होइन । तर त्यस्तो ठाउँमा तुलनात्मक रुपमा अवसर बढ्ता हुन्छ, सीमित साधन स्रोतले पुग्नसक्छ किनभने त्यस्तो ठाउँमा प्रतिस्पर्धा पनि कमै हुन्छ ।

मैले पनि समस्या खोजेर हिंडेको होइन । तर जहाँ अवसर अगाडि आयो नडराइकन पसेँ । जोखिम छ भनेर डराइन र सफल भए । त्यो बेलामा उत्तर–पूर्वी भारतको समस्या देखेर उद्योग नखोलेको भए भारतमा वाईवाई दोस्रो ठूलो ब्रान्डको रुपमा स्थापित हुने थिएन । नेपालबाट शुरु भएको उत्पादनले विश्वबजारमा आजको यो छवि बनाउन सक्ने थिएन ।

तपाईं आफ्नो पुस्तकमा पनि अवसरलाई कसरी सदुपयोग गर्नुपर्छ भन्ने उल्लेख गर्नु भएको छ । तर के ठूलो व्यापारी बन्नका लागि भ्रष्ट राजनीतिज्ञ भएको ठाउँमा व्यक्तिगत सम्बन्धले गर्दा सजिलो हुने हो त ?

व्यक्तिगत सम्बन्धले जहाँ पनि काम गर्छ । मेरो जीवनको सबैभन्दा ठूलो पुँजी मेरा सम्बन्धहरू नै हुन । सम्पर्क, साथीभाई र शुभचिन्तक मेरा लागि संसारकै सबैभन्दा ठूला पुँजी हुन । भनिन्छ, सफल हुनका लागि सही समयमा, सही ठाउँमा सही व्यक्तिको साथ चाहिन्छ । त्यो हुने भनेको नेटवर्कबाटै हो ।

निश्चय पनि कुनै मान्छेले आफू एक्लै गर्छु भनेर सक्दैन । उसलाई सही, सल्लाह, सुझाव, समर्थनको आवश्यकता पर्छ त्यो राजनीतिक पनि हुनसक्छ, गैर–राजनीतिक पनि हुनसक्छ ।

तपाईंको व्यापार विश्वभरि फैलँदा पनि प्रधान कार्यालय नेपालमै राख्नु भएको छ । यहाँको कर्मचारीतन्त्रलाई प्रभावित पार्न सहज भएर हो कि ? वा नेपालप्रतिको माया–मोह हो ? किन तपाई नेपालमै बसेर गर्नुपर्छ भन्ने सन्देश बारम्बार किन दिइरहनु हुन्छ ?

मेरो पहिचान भनेको नेपालै हो । म नेपाली नभएको भए एक मात्र नेपाली अर्बपति हुने थिएन । भारतमा भएको भए त्यहाँको भीडमा हराउँथे । जब जुन अन्तराष्ट्रिय आर्थिक मञ्चमा पुग्छु, नेपालको एक्लो प्रतिनिधिको रुपमा पाउँछु ।

दक्षिण एसिया लगायतका कर्पोरेट क्षेत्रमा अलिकति ठूलो स्केलमा विजनेस गर्न थाल्ने बित्तिक्कै ट्याक्स हेवनमा जाने, न्यूयोर्क–लण्डनमा बसाई सर्ने गरेको पाँएछौं । ठूलो पोखरीमा गइन भने मेरो व्यापारको दायरा बढ्दैन भन्ने मान्यताबाट ग्रसित छौं । तर म सुरुदेखि नै पहिलो बहुराष्ट्रिय उत्पादन बनाउँछु भन्नेमा प्रस्ट थिएँ । जसको प्रधान कार्यालय नेपालमै रहन्छ ।

निश्चित रुपमा यसमा विभिन्न सीमितताहरू छन् । जस्तो मानिसकताका समस्या, नीति, नियम, ठूलो श्रम बजार, कर लगायतका व्यावधानहरू हुनसक्छन् । तर त्यो भन्दा ठूलो कुरा तपाईं त्यो देशको एकमात्र नागरिक हुन पाउनु हो । त्यसमा ठूलो ‘एड्भान्टेज’ पनि छ ।

विभिन्न समस्याका वावजुद नेपाल र नेपालीलाई विश्वभरि सबैले माया गर्छ । कुनै पनि देशमा गएर नयाँ काम गर्न खोज्दा एकदमै सकारात्मक रुपमा स्वागत गरेको पाउँछु ।

काजकिस्तानमा वाईवाईको उत्पादन सुरु गरेका छौं । उद्घाटनमा प्रधानमन्त्री पनि आउनु भएको थियो । त्यहाँको नियम अनुसार काजकिस्तानकै झण्डा फहराउनु पर्दथ्यो । मैले नेपालको झण्डा फहराउन चाहन्छु भने । उनीहरूले अनुमति दिए । नेपालकै झण्डा फहराएँ ।

भर्खरै दुबैमा ताज होटल खोल्यौं । उनीहरूले ताज होटल र भारतको झण्डा मात्रै राख्न खोजेका थिए । मैले नेपालको झण्डा लगेर फहराएँ । र, त्यो एक दिनका लागि होइन । नेपालीको स्वामित्व रहुन्जेलसम्म सँधै नै फहरीरहन्छ । नेपालीको स्वामित्व र पकड भएको जुनसुकै स्थानमा नेपालको झण्डा फहराएकै हुनुपर्छ भन्ने मेरो मान्यता छ ।

नेपाली हुनुमा त तपाईंले गर्व गराउनुभयो । तर, तपाईंका जति पनि बिजनेस फैलिएका छन् त्यसलाई राहुल र बरुणको नाममा सञ्चालन गर्नु परेको छ । नेपालीले बाहिर फैलिनका लागि गैरआवासीय नेपाली नै हुनुपर्ने अवस्थालाई अन्त्य गर्न के गर्नुपर्छ ?

यो एउटा अनावश्यक समस्या हो । म पनि एउटा नियामक हुँ । कानून निर्माता हुँ । हुन त हामीले पनि संसदमा विधेयक आउँदा मात्रै कानून बनाउने हो । तपाईंले भने जस्तो विधेयक आयो पनि । तर, त्यसले मूर्त रुप लिन सकेन ।

नेपालीले नेपालभन्दा बाहिर आफूले कर तिरेको पैसाले उद्यमशीलता, व्यवस्थापन गर्न चाहन्छ भने सरकारले त्यसलाई प्रोत्साहित गर्नुपर्दछ । किनभने नेपाल र नेपालबाहिर लगाउनु हुनुमा भिन्नता हुनुहुँदैन ।

हामीले नेपालमा यस्तो लगानीको वातावरण बनाउन सक्नुपर्छ, विदेशमा भएका नेपालीको मात्रै होइन, विदेशीको पनि पुँजी नेपालमा आओस् । चीनमा भित्रिरहेको वैदेशिक लगानी भारतको भन्दा सयौं गुणा बढी छ । त्यो बेलामा चिनियाँहरू बाहिर गएर व्यापार गरे । उनीहरू व्यापारसँग नजिक पनि छन् ।

जब चीन नयाँ प्रकारको आर्थिक परिवर्तन भयो, लिवरल अर्थ नीति बन्यो । अनि चीनियाँ व्यापारीहरू धमाधम चीन फर्किए ।

उद्योग र व्यापारमा मात्रै होइन, कला, साहित्य क्षेत्रमा पनि यही कुरा लागु हुन्छ । यदि कसैले नेपालमा बसेर अन्तराष्ट्रिय लेवलको आर्कीटेक्चरल फर्म चलाएको हेर्न चाहन्छु । नेपाली संगीतकर्मीले नेपालमै बसेर भारतीय चलचित्रका लागि संगीत निर्देशन गरेको हेर्न चाहन्छु । त्यसको लागि उ बम्बई, लण्डन नै जानुपर्छ । त्यहाँ नजाँदा उसले कानून झन्झट व्यहोर्नुपर्छ भन्ने हो भने त्यो सर्वथा अन्याय हो । त्यसले विकृति बाहेक केही जन्माउँदैन ।

हाम्रो समाज यस्तो छ । कसैले पनि पैसा कमाएर मैले पैसा कमाएँ भन्न सक्दैन । अनौपचारिक कुराकानीमा विनोद चौधरी मात्रै धनी व्यक्ति होइन । अरु धेरै व्यक्ति चौधरी जत्तिकै धनी छन् भन्छन् । तर कसैले पनि म धनी छु भनेर घोषणा गर्दैन । फोब्र्स पत्रिकामा जान तपाईंलाई कति आँट, साहस चाहियो ? त्यसको असर के के भयो ?

फोब्र्स पत्रिकाले आएर कसैको धन गन्ने होइन । उद्योगी सिर्जना गरेका इन्जरप्राजेजको आकार, औकात, पारदर्शिता, कर्पोरेट गभर्नेन्स जस्ता कुरा हेर्छ । त्यो मापदण्डका आधारमा उसले सूची तयार पार्छ । खाली पैसाको मात्रै कुरा गर्ने हो भने उद्योमीहरू भन्दा विभिन्न विधाका मान्छेहरू धनी छन् । उद्यमीको पैसा त उद्योगमा लगाएको हुन्छ, झिक्न सक्दैन । अरुलाई पैसा कहाँ राखुँ भन्ने समस्या छ ।

खैर, जब फोब्र्सबाट प्रस्ताव आयो । निश्चय पनि म द्विविधामा थिएँ । यो साँच्चै कठिन निर्णय थियो । अर्बपतिको सूचीमा राख्छु, अडिट गर्छु, बैंकरसँग कुरा गर्छु भन्छ । यसको असर के हुने हो भन्दाभन्दै मेरी श्रीमतीले जे भए पनि यो हामीले मिहिनेतले कमाएका हौं । जस्तोसुकै प्रश्न उठे पनि त्यसको जवाफ दिनसक्नुपर्छ । त्यो साहस हामीमा चाहिन्छ । जस्तोसुकै राम्रो काम गरे पनि उद्यमीले नोवेल पुरस्कार पाउँदैन । अरु पेसामा मात्रै दिइन्छ । हामीले पाउने भनेको अन्तराष्ट्रिय पहिचानै हो भनेपछि हामीले जाने साहस गर्‍यौं ।

सन् २०१३ मा फोब्र्समा गइसकेपछि पनि हामीलाई सबैले माया गरेकै छन् । यो विनोद चौधरीको मात्रै पहिचान होइन, विश्वभरि छरिएर बसेका नेपालीको पहिचान हो । उहाँहरूले आफूलाई यसमा जोडेर हेर्नु भएको छन्, उहाँहरूको माया पाएका छौं । त्यसमा म सधैं नै आभारी रहने छु ।

विनोद चौधरी उद्योग वाणिज्य महासंघको अध्यक्ष, उद्योग परिसंघको अध्यक्ष हुनु र फोब्र्सले अर्बपति भनेर परिचय दिएपछिको विनोद चौधरीमा के फरक छ ? यसले तपाईको जीवनमा कसरी परिवर्तन ल्याएको पाउनुभयो ?

अपेक्षा, चुनौति र दबावहरू बढे । दुःख नगरी केही हुँदैन भने जस्तै कठिनाईहरूलाई पनि सँगसँगै लिएर जानुपर्ने हुन्छ । जिम्मेवारी निभाउनैपर्ने हुन्छ । उद्योग वाणिज्य महासंघमा बसेर गरेको कामका लागि मलाई आजसम्म पनि धेरैले सम्झिन्छन् । मेरो उपलब्धी त्यही हो । उद्योग परिसंघलाई पनि बलियो संस्थाको रुपमा उभ्याएँ ।

त्यसैले यी कुराहरूलाई एक–अर्कासँग दाँज्नु आवश्यक ठान्दिनँ । आ–आफ्नो ठाउँमा सबैको महत्व छ ।

तपाईं पढ्ने बेलामा देशभरिकै उत्कृष्ट पाँचमा पर्नुहुन्थ्यो । नयाँ नयाँ व्यवसायमा हात हाल्नु भयो । गीत गाउनुभयो । चलचित्र पनि निर्माण गर्नुभयो । बिजनेसमा पनि सफल हुनुभयो । आजका युवालाई कुनै एउटा विषयमा केन्द्रित भएर काम गर्न वा तपाई जस्तै विभिन्न क्षेत्रमा हात हाल्न सल्लाह दिनुहुन्छ ?

हामी अहिले ‘कनेक्टेड टेक्नोलोजी लेड’ विश्वमा छौं । जसका भौगोलिक, राजनीतिक सीमाहरू होलान् । तर आर्थिक विस्तार वा नयाँ आइडियामा काम गर्नका लागि कुनै रोकतोक छैन । उदाहरणका लागि, ह्वाटस् एपलाई लिन सकिन्छ । जान कोमले यसको उत्पत्ति युक्रेनको बेकरी पसलमा स्विपरका रुपमा काम गर्दागर्दै गरे । ३२ वर्षसम्म कम्प्युटर नसिकेका ज्याक माकको अलिबाबाले चीन मात्रै होइन, विश्वकै ई–कमर्श बजारमा तहल्का पिटिरहेको छ ।

तपाईं जहाँ भए पनि विश्वकै ठूलो इन्टरप्राइज सुरु गर्न सक्नुहुन्छ । त्यसका लागि सोच, आविस्कार, प्रविधिको संयोजनको खाँचो छ । प्रविधिले त्यस्तो अवसर युक्रेनदेखि नेपाल, अमेरिका, बेलायत सबै देशकालाई समान रुपमा दिएको छ । खाँचो छ त केवल लघुताभासबाट मुक्तिको । म नेपालमा जन्मिएँ, सरकारले यो गरिदिएन, त्यो गरिदिएन भनेर बस्ने होइन । जे गर्ने हो त्यो हामी आफै गर्ने हो । पुरानो मिथकबाट बाहिर निस्कनुपर्‍यो ।

गुगल, फेसबुक लगायत विश्वका टप १५ वटा ठूला कम्पनीलाई हेर्ने हो भने न त तिनीहरू व्यापारिक घरानाबाट आएका थिए, न त ठूलो पुँजी, न हावर्ड विश्वविद्यालयबाट नै आएका हुन् । थियो त केवल केही गर्छु भन्ने सोच र चिन्तन ।

आउने दिनमा पनि पुरानो तरिकाको व्यवसायलाई नयाँले सजिलै जित्ने संभावना छ । म भर्खरै आर्टिफिसियल इन्टेलिजेन्सको सेसनमा गएर आउँछ । आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले अमेरिकामा बसेको डाक्टरले नेपालमा अपरेसन गर्न सक्दछ । अबको विश्व भनेको यस्तो विश्व हुनेछ ।

ठूलो इन्टरप्राइजेज स्थापना, आर्थिक क्रान्तिको यस्तो यात्रामा समाहित भएन भने आजका युवाहरूले आफूले आफूलाई कहिल्यै पनि माफ गर्ने छैनन् । हरेक युवा उद्यमी बन्नुपर्छ । सक्नुहुन्छ आफै उद्यमी बन्नुस्, होइन भने एउटा उद्यमीको पछि लाग्नुहोस् । मुलुकलाई आर्थिक रुपमा एक तहमाथि उठाउने भनेकै यसरी हो । म त राजनीतिलाई पनि उद्यमशीलतासँग जोड्नुपर्छ भन्छु । उद्यमी भनेकै एउटा व्यवस्थापनको सोच हो । समयको व्यवस्थापन गर्न सक्ने क्षमता हो, आफूले बोलेको पूरा गर्नैपर्ने मान्यता हो ।

केही गर्छु भन्ने सपना बोकेका पोखरेली युवाहरूलाई तपाईले भनिदिनु पर्‍यो कुन कुन क्षेत्रमा अघि बढ्यो भने नेपाली उत्पादनलाई विश्वव्यापीकरण गर्न सकिन्छ । विशिष्टिकृत क्षेत्रमा कसरी जाने ? कुन कुन क्षेत्रमा नेपालले प्रगती गर्नसक्छ जस्तो लाग्छ ?

पोखरा त यसै पनि विश्वव्यापीकरणको बाटोमा लागि सकेको छ । पोखरामा अन्तराष्ट्रिय विमानस्थल खुल्दैछ । त्यो विमानस्थल खाली एउटा पूर्वाधार मात्रै होइन । विमानस्थलको ढोका साँच्चै खोल्न सक्यौं भने नयाँ नयाँ उडान कम्पनीहरू आउनेछन् । र, त्यसले बोकेर ल्याउने अवसरको श्रृखंला बोकेर ल्याउने छ ।

हामी हस्पिटालिटीको क्षेत्रमा पनि काम गरिरहेका छौं । कुनै दिन जु¥यो भने हस्पिटालिटी विङको ग्लोबल हेडक्वाटर पोखरालाई बनाउँछौं । जुर्ने, नजुर्ने समयले बताउला ।

युवाहरूले राम्रो उद्यमी बन्नका लागि के–के गर्नुपर्ला ?

आफ्नो पृष्ठभूमि यस्तो छ, पुँजी छैन, सरकारको कार्यशैली यस्तो छ उस्तो छ भन्ने जस्ता कुरामा नअल्झिनुस् । आजको विश्वमा ती कुराहरूको कुनै पनि महत्व छैन । नेपाल र अमेरिकामा बस्ने युवालाई अवसर बराबर छ । पुँजी र प्रविधिको तालमेल र नयाँ सोच भए पुग्छ ।

जस्तो– उबर भन्ने कम्पनी आफंैले गाडी किनेर सुरु गरेको होइन । एक दिन यसका संस्थापक ट्याक्सी कुरेर बसिरहेका थिए । खाली ट्याक्सी आउँछ, तर रोक्दै रोक्दैन । उनले सोचे, खाली ट्याक्सी पनि छ, म जस्ता यात्रु पनि छन् तर तालमेल किन मिलिरहेको छैन ? यो सोचबाट उबर जन्मियो । एउटै कोठा नभएका संसार प्रसिद्ध होटल कम्पनी पनि छन् । उनी खाली भएका कोठा सम्पर्क गरेर बिक्री गर्छ ।

त्यसकारण भन्छु, अहिलेको विश्व भनेको आइडियाबाट चल्छ । जे कुरा अमेरिका र जापानमा छ, त्यो कुरा नेपालमा पनि हुनसक्छ । त्यो तपाईमा पनि हुन सक्छ । त्यसका लागि तपाईमा आत्मविश्वास, त्यसमा डुब्ने गहिरो संकल्प, ठूलो सपना देख्नु पर्‍यो । सपनादेखि नै रहनुपर्‍यो ।

नेपालमा आगामी दिनमा धेरै विनोद चौधरीहरू जन्मन्छन् जस्तो लाग्छ र त्यसमा कुनै शंका छैन ।

बिजनेस सेक्टरको राजनीतिसँग कस्तो सम्बन्ध हुनुपर्छ ? बिजनेस पर्सनले राजनीतिलाई उपयोग, शोषण वा कस्तो सम्बन्धमा बस्नुपर्छ ? बिजनेस क्षेत्र र राजनीतिक अलग हुनुपर्छ कि पर्दैन ? कुनै पनि व्यक्ति क्षमताको भरमा राजनीतिज्ञ हुने हो कि पैसाको बलमा ? यसमा यहाँको दृष्टिकोण के हो ?

मलाई धेरैले तपाई बिजनेस, समाजसेवा जस्ता क्षेत्रमा संलग्न हुँदाहुँदै राजनीतिमा किन लाग्नुप¥यो भनेर सोध्छन् पनि । यसप्रति मेरो अलि भिन्न दृष्टिकोण छ । मैले आफूले बुझेको के हो भने हाम्रोजस्तो देशमा अहिले पनि हरेक चीजलाई राजनीतिले नै निर्दिष्ट गर्छ । हामीले चाहे पनि नचाहे पनि । फरक संस्थाको आवाज जहाँ खाली हुन्छ, त्यहाँ राजनीति हावी भइहाल्छ ।

यदि तपाई राजनीतिलाई बदल्नु छ वा त्यसमा प्रभाव पार्न चाहनुहुन्छ र ठूलो स्केलको परिवर्तन खोज्नुभएको हो भने भाषण गरेर मात्रै सम्पन्न राष्ट्र बन्न सक्दैन । कार्यशैलीमै परिवर्तन ल्याउनु जरुरी छ । कार्यशैली, सोच, चिन्तनमा परिर्वतन र आफूले बोलेका कुरा पूरा गरेर छाड्ने बानीमा परिवर्तन ल्याउनका लागि राजनीतिमै प्रभावको आवश्यकता पर्छ ।

म त अझै पनि भन्छु, जबसम्म केही दिन्छु भन्ने चाहना भएका स्टेक होल्डरहरूको बाहुल्य राजनीतिमा हुँदैन, तबसम्म हामीले सोचेको नेपाल सम्भव छैन ।

विनोद चौधरी र अन्य उद्यमी वा कतिपय ठेकेदारहरू संसदमा पुग्नु कति सकारात्मक कुरा हो ?

हामीजस्ता मान्छेहरू संसदमा अल्पमतमा छौं । राजनीतिमा कति प्रभाव पारेँ भन्ने कुरा जनताले मूल्यांकन गर्ने हो । म आफू पटक्कै सन्तुष्ट छैन । यो एक÷दुई जनाले मात्रै चाहँदैमा हुने कुरा पनि होइन । राजनीति भनेको गणितको खेल पनि हो । विचारको उत्कृष्टताले मात्रै हुने होइन । विभिन्न पेशागत पृष्ठभूमिका मान्छेहरू पुगेका छन् । ठेकेदारसम्बन्धी प्रश्न उहाँहरूलाई नै सोध्नुहोस् ।

पदहरू किनिनु हुँदैन भन्नेमा त तपाईं विश्वास गर्नुहुन्छ नि ?

त्यो मान्छेले आफ्नो स्वाभिमानको धरातलमा उभिएर केही गर्छु भनेर जान चाहन्छ भने उ बिक्दैन, किन्दैन पनि ।

व्यापारिक हिसाबले मात्रै नभई सिंगो नेपाललाई नै विश्वमा चिनाउनका लागि सरकार, निजी क्षेत्र र सर्वसाधारणले के–के गर्नुपर्ला ?

अघि पनि भने नेपाल विश्वमै बलियो ब्रान्ड बन्न सक्दछ । बाहिर जाँदा जति पनि मान्छे भेट्छु उनीहरूले नेपालमा एकपटक ट्रेकिङ गर्न मन छ भन्छन् । अर्थात बजारको अभाव छैन, सोचको अभाव छ । बौद्धमार्गीका लागि लुम्बिनी मक्का मदिना हो । विश्वभरिबाट आउने बौद्धमार्गी पर्यटकलाई हामीले भन्दा छिमेकीले बढी आकर्षित गरिरहेका छन् । जस्तो– थाइल्याण्डबाट आउनेहरूलाई सिधै बिहारमा उतार्छन् ।

प्रकृतिले दिएका तीन–चारवटा कुरालाई मात्रै टेकेर त्यसमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने हो भने नेपाल थाम्न नसक्ने गरी विकास गरेर र विश्वमा सबैले सम्झने किसिमको ब्रान्ड बन्छ । त्यसका लागि फोकस्ड हुनुप¥यो, इमानदार हुनुप¥यो । जुन सरकारले मात्रै गरेर मात्रै हुँदैन, सबैले गर्नुपर्छ ।

यहाँले ट्रेकिङको अपार सँभावनाको कुरा गर्नुभयो । यहाँ आफैंलाई ट्रेकिङ गर्न कसले रोकेको छ ?

मलाई केहीले पनि रोकेको छैन । म वर्षमा एक पटक ट्रेकिङ जाने गरेको छु । मैले भन्न खोजेको हामीले लिन सक्ने जति फाइदा लिएका छैनौं भन्ने हो । ट्रेकिङबाट लिने फाइदा यो भन्दा ठूलो हुनुपर्छ ।

अन्त्यमा, अलि फरक कुरा गरौं, तपाईको विचारमा सफलता के हो ? पैसा कमाउनु सफलता हो कि, कुनै क्षेत्रमा नाम कमाउनु सफलता हो कि, मनमा शान्ति हुनु सफलता हो कि ? प्रदीप गिरी बढी सफल कि विनोद चौधरी ?

मेरो नजरमा त प्रदीप गिरी नै बढी सफल हो । तर, प्रदीप गिरीजीको प्रतिभालाई भौतिक सम्पन्नतासँग पनि जोड्न सकेँ भने अझै कस्तो होला भनेर सोच्छु । सफलता भनेको तुलनात्मक कुरा हो । पैसा पनि संस्था मापनको आधार हो । तर, पैसा गन्तव्य होइन । गन्तव्य भनेको ठूलो उद्देश्य बोकेर परिचय बनाउनु हो । गन्तव्य त्यस्तो होस्, जसले धेरैको जीवनमा प्रभाव पारोस् । एउटा बिजनेस गतिविधिबाट विभिन्न समाज परिवर्तनमा उर्जा भर्न सकोस् । यिनीहरू नै सफलताका कोशेढुंगा हुन् । सफलतालाई विभिन्न किसिमले परिभाषित गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?